२७ हजार कैदीबन्दी बिरामी हेर्न केन्द्रीय कारागार अस्पतालमा १७ जना मात्रै चिकित्सक

काठमाडौँ । देशभरका ७४ कारागारमा रहेका २७ हजार कैदीबन्दीको स्वास्थ्य हेरचाहको लागि ३५ स्वास्थ्यकर्मी रहेका छन् ।
देशभरिका कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य हेरचाह केन्द्रीय कारागार अस्पतालले गर्ने गरेको छ । सामान्य स्वास्थ्य उपचार स्थानीय स्वास्थ्य संस्था, जिल्ला तथा प्रादेशिक अस्पतालमा भएपनि स्वास्थ्य हेरचाहको नेतृत्वदायी भूमिका केन्द्रीय कारागार अस्पतालले गर्दछ । अहिले देशभरका कारागारमा २७ हजार कैदीबन्दी छन् । ३० शैय्याको केन्द्रीय कारागार अस्पतालमा ६८ जना दरबन्दी रहेको छ । जसअन्तर्गत ८ जना विशेषज्ञ, ९ जना मेडिकल अधिकृत गरी १७ जना चिकित्सक कार्यरत छन् । यस्तै, नर्सिङतर्फ १३ जना, पारामेडिक्स ५ जना र अन्य प्रशासन तर्फका कर्मचारी कार्यरत छन् ।
अस्पतालमा अहिले महिला तथा प्रसूति सेवा, जनरल ओपीडी, ड्रेसीङ एण्ड इन्जेक्सन सेवा, टिबी, एचआइभीको सम्पूर्ण सेवा, प्रयोगशाला, एक्स(रे, भिडियो एक्स(रे सेवा सञ्चालनमा छ । विशेषज्ञ सेवा अन्तर्गत मानसिक रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग सेवा लगायतका सेवाहरू सञ्चालनमा रहेको छ । केन्द्रीय कारागार अस्पतालका निर्देशक डा प्रकाश बुढाथोकीले ३० शैय्याको स्वीकृत पाएपनि अस्पतालमा अहिले ४० शैय्या सञ्चालनमा रहेको बताए । उनले भौतिक पूर्वाधार कम भएकोले भौतिक पूर्वाधार बढाएर कम्तीमा एक सय शैय्याको विशेषज्ञ अस्पताल बनाउने योजना रहेको बताए ।
कारागारमा रहेका कैदीबन्दीमा मानसिक समस्या बढी देखिएको पनि डा।प्रकाश बुढाथोकीले जानकारी दिए । केन्द्रीय कारागारका कैदीबन्दीहरुमध्ये एक हजार ७२३ जनामा दीर्घरोग सम्बन्धी समस्या छ । उनीहरूमा रक्तचाप, मधुमेह,मिर्गौला रोग लगायतका समस्या देखिएको छ । डा।बुढाथोकीले दीर्घरोगीहरुको नियमित फलोअप उपचार गरिरहेको बताए । मानसिक समस्या भएका कैदीबन्दी बढ्न थालेपछि छुट्टै वार्ड र विशेषज्ञ सेवा पनि सुरु गरिएको बताए ।
उनले भने ‘हामी कहाँ २० देखि २५ प्रतिशत मानसिक समस्याबाट पीडित भएका बिरामीहरू आउने गर्नुहुन्छ । त्यसपछि उच्च रक्तचाप, मधुमेहका बिरामी, श्वासप्रश्वासका बिरामी, मिर्गौलाका बिरामी, क्यान्सर लागेका बिरामीहरू देखिने गर्नुहुन्छ । देशमा संक्रामक रोगको महामारी फैलियो भने कैदीबन्दीको चाप कारागारमा धेरै हुने भएकाले त्यसबेला संक्रामक रोगले बढिनै पीडित हुने गरेका छन् । चाहे, रुघाखोकी, चाहे कोभिडको बेलामा होस् चाहे डेंगुको बेलामा होस् ।’ केन्द्रीय कारागारमा भएका बिरामीहरू जसले दीर्घकालीन रोग भएर औषधि खाइरहनुहुन्छ । डाक्टरको फलोअपमा गइरहनुहुन्छ । उहाँहरूको संख्या १ हजार ७ सय २३ जना छ । यसअन्तर्गत, रक्तचाप, मधुमेह,मिर्गौला रोग लगायत रहेका छन् । जसलाई प्रत्येक दिन औषधि खानुपर्छ । त्यसभित्र मानसिक रोगको २० प्रतिशत हो । हामी कहाँ केन्द्रीय कारागार, भद्रसुधार गृह, नख्खुस्थित मनोसामाजिक अस्पताल छ । त्यहाँपनि मानसिक समस्याका बिरामी हुनुहुन्छ । त्यसले गर्दा कुल कैदीको २० प्रतिशत ६ सय जना जति औषधि सेवन गर्ने मानसिक रोगका बिरामीहरू हुनुहुन्छ । बाँकीलाई त हामीले परामर्शमार्फत पनि निको बनाएका छौँ ।’
डा। बुढाथोकीले केन्द्रीय कारागारका कैदीबन्दीहरुलाई पौष्टिक खाना र पर्याप्त औषधि उपचार गर्न सधैँ बजेट अभाव हुने गरेको बताए । बजेटसँगै सेवा प्रवाहको लागि समन्वयको अभाव रहेको पनि डा। बुढाथोकीले बताए ।
उनले भने ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सँग सम्बन्धित कार्यक्रम भनेर सिधै बजेट हाल्न नसक्ने, गृह मन्त्रालयले पनि स्वास्थ्यलाई प्राथमिकतामा पारेन । गृहको प्राथमिकतामा शान्ति सुरक्षा नै पर्छ । त्यसलाई चिर्नपनि ठूलो चुनौती छ । कैदीबन्दीपनि नेपालकै नागरिक हुन् भनेर महत्व बुझाउँदै हिँडेको छु ।’
केन्द्रीय कारागारको तीन वटा ब्लकमा ३४ सय जना कैदीबन्दी छन् । केन्द्रीय कारागारबाट दैनिक ओपीडी सेवा लिनेको संख्या झन्डै २२० जना रहेको छ । भर्ना भएर उपचार गर्ने दैनिक २२/२३ जना हुने केन्द्रीय कारागार अस्पतालले जनाएको छ । यस्तै, विशिष्टीकृत अस्पतालमा दैनिक रिफर हुनेको संख्या पनि २२ र २३ जना रहेको छ ।








