त्रुटि एउटाले गर्ने, आरोप अर्कोलाई लाग्नेस्थितिको अन्त्यका लागि ऐन बदल्छौँ : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको बताएका छन् । बुधवार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताकासाथ अघि बढाइरहेको उल्लेख गरे । उनले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने स्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने विश्वास व्यक्त गरे । असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउने र बनेका पूर्वाधार संरचना पनि नटिक्ने र उचित सदुपयोग नहुने विकासको प्रविधिलाई बदल्नुपर्ने उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘आन्तरिक श्रोत, साधन कम भएको हाम्रो देशमा विकास बजेट चालु खर्चको तुलनामा त्यसैपनि न्यून छ । त्यो बजेट पनि हामी समयमा खर्च गर्न सकिरहेका छैनौँ । विकास बजेटको ठूलो हिस्सा आषाढमा खर्च हुन्छ । आषाढमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउँछ, बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ श्रोतको पनि सदुपयोग नहुने यो विकासको प्रविधिलाई बदल्नैपर्छ । यसमा रहेका कानूनी, संरचनागत र प्रक्रियागत समस्या र त्रुटिमा सरकार सहजीकरण गर्न सरकार तत्पर छ । इन्जिनियर, प्राविधिक विषयसँग सम्बन्धित विषय, न्यूनतम पारिश्रमिकसँग सम्बन्धित विषयमा गम्भीरतापूर्वक छलफल गरी छिटै एउटा महत्त्वपूर्ण निर्णयतर्फ जाँदैछाैँ । वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध छ । सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताकासाथ अघि बढाइरहेको छ । भ्रष्टाचारको कुार गर्दैगर्दा त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने स्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, केही ऐनमा सुधार गर्ने विश्वास दिलाउन चाहन्छु ।’

सरकार नागरिकको सुरक्षा र समृद्धितर्फ अघि बढिरहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *