विद्यार्थीलाई सफल नेतृत्वकर्ता र सिपयुक्त बनाउँदै बूढानीलकण्ठ स्कुल

काठमाडौँ । यसवर्ष बूढानीलकण्ठ स्कुलबाट एसइई दिएका १ सय ३४ विद्यार्थी मध्ये ९१ जना विद्यार्थीले ३.६ भन्दामाथि जिपिए ल्याएका छन् । ३५ जना विद्यार्थीले  ३.२ देखि ३.६ को बिचको जिपिए ल्याए । र ७ जना विद्यार्थीले ३.२ भन्दा तल र २.८ भन्दामाथि जिपिए ल्याएका छन् । बूढानीलकण्ठ विद्यालयका प्रधानाध्यापक होमनाथ आचार्यका अनुसार विद्यालयबाट एसइई दिएका विद्यार्थी मध्ये धेरै कम नतिजा ल्याएका विद्यार्थी छैनन् ।

प्रधानाध्यापक हाेमनाथ आचार्य

प्रधानाध्यापक आचार्यले विद्यालयको एसइई नतिजा विगतको भन्दा सुध्रँदै अझै उन्नत स्तरको भएको बताए । उनले भने ‘यस विद्यालयको एसइई नतिजा विगतको  भन्दा सुधारिएको छ र अझ उन्नत स्तरको भएको हामीले महसुस गरेका छौँ ।’

बूढानीलकण्ठ स्कुलका विद्यार्थी विद्यालयमै होस्टेल बसेर पढ्ने गरेका छन् । त्यहीँ बसेर पढ्दा उनीहरूले विद्यालयको समय सकिएपछि  कक्षा बाहिर नयाँ नयाँ कुरा सिक्ने गरेको प्रधानाध्यापक आचार्यले बताए । उनले विद्यालयमा विद्यार्थीको क्षमतावृद्धिका लागि करिब बिस वटा क्लब स्थापना भएको बताए । रचनात्मकता क्लब, फोकस क्लब, अन्तरक्रिया क्लब, खेलकुद र फिटनेस क्लब, लियो क्लब, इत्यादि सबै विद्यार्थीद्वारा नै सञ्चालन हुने उनले बताए ।

प्रधानाध्यापक होमनाथ आचार्यका अनुसार विद्यार्थीले कलेजभित्र र बाहिर विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । विद्यार्थीले विद्यालयबाहिर कार्यक्रम सञ्चालन गर्दा समुदायमा संलग्न भई नेतृत्वकर्ताको क्षमता वृद्धि हुने बताए । उनले भने, ‘बाहिरि कार्यक्रमहरू सञ्चालन गर्दा विद्यार्थीहरू समाजमा संलग्न हुन्छन् र उनीहरूले विभिन्न व्यावहारिक, प्राविधिक र नेतृत्व गर्ने सिप सिक्ने मौका पनि पाउँछन्। ’

उनले विद्यालयमा किताबी शिक्षामात्र नभई नेतृत्व र सहज सञ्चार गर्ने जस्ता व्यवहारिक कामहरू पनि सिकाउने बताए । यी कुराहरू नै  बुढानीलकण्ठ विद्यालयको विशेषता भएको उनको भनाइ छ ।

‘यी सिपले विद्यार्थी सिपयुक्त हुन्छन् र एउटा सक्षम नेतृत्वको रूपमा आफूलाई विकास गर्छन्,’ उनले भने, ‘बुढानीलकण्ठ स्कुलको विशेषता यही हो ।’

शिक्षकको सहयोगमा विद्यार्थी सडक सरसफाइमा संलग्न हुने गरेका छन् । यसमा समुदायलाई  जनतालाई पनि संलग्न गराएर प्रहरी र नगरपालिकासँग समन्वय गरी वातावरण सरसफाइमा योगदान दिने गरेका छन् । यस्ता गतिविधिले विद्यार्थीलाई आगामी दिनमा चेतनशील र निडर जनताको रूपमा चिनाउन मद्दत पुर्‍याउने उनले बताए ।

विद्यार्थी यस्तै क्रियाकलापमा संलग्न भएकाले विद्यालयमा नै ‘बूढानीलकण्ठ स्कुल बागवानी फार्म’ खोलिएको छ ।   नेपाल सरकारले विद्यालयमा ‘सिक्दै सिकाउँदै, रमाउँदै कमाउँदै’ अभियान ल्याउनु अगावै बूढानीलकण्ठ विद्यालयले यो अवधारणा ल्याएको थियो ।

स्कुलले फार्ममा विद्यार्थीहरूलाई संलग्न गराउँदै र फार्ममा भएका ती तरकारी र बालीहरूलाई उनीहरूको खानामा प्रयोग गरिएको छ । कृषिसँग सम्बन्धित सिप सिकाउन खेती सिकाइएको आचार्यको भनाइ छ । यसो गर्दा उनीहरूले केही पकेट खर्च पनि पाउने छन् । आफैँ कमाउने, सिक्ने र सँगसँगै रमाइलो गर्ने र स्कुलमा ताजा तरकारी उपभोग गराउने विद्यालयको लक्ष्य रहेको उनले बताए ।

साथै विद्यालयमा प्रशस्त ठाउँ, सफा वातावरण, स्वच्छ खानेकुरा, राम्रो पढाइ र अतिरिक्त क्रियाकलापमा सक्रिय भएकाले सबै अभिभावकले आफ्ना छोराछोरीलाई बुढानीलकण्ठ स्कुलमा भर्ना गराउन चाहने होमनाथ बताउँछन् ।

विज्ञान र गणितका विद्यार्थीका लागि विद्यालयले विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गराउदैँ आएको र ५ जना विद्यार्थीले राष्ट्रिय स्तरमा उत्कृष्ट भएर अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने मौका पाएको उनले बताए । २ जना विद्यार्थी इकोनोमी ओलम्पियाडमा जान लागेका र एक जना केमेस्ट्री इन्टरनेशनल इभेन्टमा जान लागेको बताए ।

यसबाहेक विद्यालयमा थर लिएर बोलाउने चलन नरहेको र उनीहरूलाई जात र क्षेत्रका आधारमा विभेद नगरिने तर सबै विद्यार्थीहरूलाई समान व्यवहार गरिने बताए।

बुढानीलकण्ठ विद्यालय एक राष्ट्रिय विद्यालय हो। यहाँको हरेक कक्षालाई हेर्दा नेपालको चित्र  देखिने उनले बताए । त्यहाँ हुम्ला, जुम्ला, दार्चुला हिमालयदेखि तराईसम्मका विद्यार्थी अध्ययन गर्ने आउने गर्दछन् । सरकारले दिनेगरेको छात्रवृत्तिद्वारा एक तिहाइ विद्यार्थीहरूले त्यहाँ अध्ययन गरिरहेका छन् । उक्त छात्रवृत्ति पाउन भर्ना हुन चाहने विद्यार्थीले सामुदायिक विद्यालयमा कक्षा ४ सम्म अध्ययन गरेको हुनुपर्ने अनि कक्षा ५ को लागि छात्रवृत्ति फारम भर्नुपर्ने उनले बताए ।

   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *