रास्वपामा कुटाकुट !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको चरम विवाद रहेको खुलेको छ । कुटपिटको घटना प्रहरीसम्म पुगेपछि पार्टीमा विवाद रहेको खुलेको हो ।

रास्वपा सैनामैना र्‍यापिड एक्शन टीम संयोजक दामोदर खत्रीले आगामी मंसिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले कार्यकर्ता समर्थकमाथि कुटपिट भएको बताए । उनले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी स्थापनाकालदेखि पार्टीमा लागेका कार्यकर्ताको सदस्यता खारेजी र कुटपिटसम्म भएको गुनासो गरेका हुन् ।

विधानअनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने आवाज उठाउँदा पार्टीका प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारीलगायतको समूहले बुधवार राति पार्टी कार्यालयमा बोलाएर आफूलाई कुटपिट गरेको र उल्टै आफूविरुद्ध कुटपिटको उजुरी दिएको उनको आरोप छ । उनले पार्टीको सैनामैना नगर समितिको कार्यालयमा बोलाएर उनीहरूको समूहले आफूमाथि आक्रमण गरेपछि आफूले त्यसको प्रतिरक्षा मात्रै गरेको जिकिर गरे ।

आफूमाथि कुटपिट भए पनि पार्टी भित्रको कुरा भनेर प्रहरीमा उजुरी नगरेको तर उनीहरूले उल्टै आफूविरुद्ध उजुरी दिएको उनले बताए । भर्खरै गठन भएको पार्टीमा गुटबन्दी गर्न नहुने र पार्टीलाई विधानअनुसार चलाउनुपर्छ भन्दा उल्टै कारबाही गर्ने र स्थापना कालदेखि निस्वार्थ रूपमा पार्टीमा लागेका व्यक्तिलाई ‘तँ सदस्यनै होइनस्’ भनेर कुटपिटमासमेत उत्रिने नेतृत्व रहेसम्म संगठन बलियो हुन नसक्ने उनको तर्क छ ।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय बुटवलबाट फोन गरी आफूमाथि कुटपिटको उजुरी परेको र आज प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार एउटा समूहले मुद्दा दर्ता गर्न भन्दै निवेदन दिएको र दुवै पक्षलाई छलफलका लागि कार्यालयमा बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *