मुख्यमन्त्रीद्वारा ‘मिसन लुम्बिनी डटकम’को शुभारम्भ

प्रदेश संरचनालाई सफल बनाउन भूमिका रहन्छ : सञ्चालक तथा प्रबन्ध निर्देशक क्षेत्री

देउखुरी । मिसन लुम्बिनी मिडिया प्रा.लि द्वारा सञ्चालित मिसन लुम्बिनी डटकम डिजिटल पत्रिकाको शुक्रबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार राप्ती उपत्यका देउखुरी दाङमा कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पत्रिकाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गाउँ, नागरिक र सरकारको पुलको काम गर्न सुझाव दिए । उनले ग्रामीण स्तरमा रहेका समस्यालाई उठाउनु पर्ने भन्दै खोज पत्रकारितालाई अवलम्बन गर्दै सत्य तथ्यमा आधारित भएर मिसन लुम्बिनीले यथार्थमा रहेर समाचार लेख्ने कुरामा आफू विश्वास व्यक्त गर्दै पत्रिकाको सफलताको शुभकामना व्यक्त गरे ।

मुख्यमन्त्री चौधरीले सरकार तत्काल विस्तार हुने बताए । लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्तीले ५० लाख प्रदेशवासी जनतासामु सरकारका काम र सरकारले गर्ने आगामी कार्ययोजना पुर्‍याउन आग्रह गरे । पत्रिकाको नाम अनुसार काम पनि गर्न तदारुकता दिनुपर्नेमा जोड दिँदै उनले शुभकामना दिएका हुन् ।

आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेले पत्रिकाको सफलताको शुभकामना दिँदै प्रदेश सरकारलाई सफल बनाउन मिसन लुम्बिनीको कलम सशक्त रूपमा चलाउन आग्रह गरे ।  प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सरकारप्रति जनताको बढ्दो वितृष्णालाई मेटाउन प्रदेश सरकारले गरेका गतिविधिलाई समाचारको माध्यमबाट नागरिकलाई सुसूचित गराउन आग्रह गर्दै शुभकामना व्यक्त गरे ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय  तिमसिल्नाले पत्रकारिताले समाजमा रहेका विकृति विसङ्गतिलाई निरुत्साहित गर्न र विकास निर्माणलाई अघि बढाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए । प्रदेश योजना आयोग लुम्बिनीका उपाध्यक्ष डा. नहकुल केसीले अनलाइन पत्रिकाको पूर्ण सफलताको काम गर्दै जनस्तरको आवाज उठाउन आग्रह गरे ।

लुम्बिनी प्रदेश सरकारका निमित्त मुख्य सचिव राजेन्द्र थापाले अनलाइन पत्रिकाको प्रभावकारिता बढ्दै गएको बताए । उनले प्रदेशको सुशासन र कामकारबाहीका क्रममा हुने गरेका कमीकमजोरी औँल्याउँदै राम्रा कामहरूको बारेमा नागरिक सामु पस्किनुपर्ने सुझाव दिए ।

कार्यक्रममा मिसन लुम्बिनीका सञ्चालक तथा प्रबन्ध निर्देशक रामकुमार क्षेत्रीले संघीयतामा प्रदेश संरचनालाई सफल बनाउनका लागि प्रदेशलाई केन्द्र बनाएर आफूहरूले अनलाइन पत्रिका सञ्चालन गरेको जानकारी गराएका थिए । लुम्बिनी प्रदेशको समग्र सामाजिक, आर्थिक, राजनीतिक र आर्थिक पारदर्शिताका सवाललाई विशेष महत्त्वका साथ उठान गर्ने उद्देश्यले डिजिटल पत्रिका खोलिएको उनको भनाई छ ।

सरकारले प्रदेशलाई विकासोन्मुख गतिमा लैजाने लक्ष्य अनुरूप जस्तै हामीले पनि लिएको उद्देश्य मेल खाएको भन्दै उनले सरकारले गरेका काम कारबाहीका सूचना सहज रूपमा दिएर सहयोग गर्नेमा विश्वस्त रहेको बताए । कार्यक्रम मिसन लुम्बिनी मिडिया प्रा.लिका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम किरण पाण्डेले सञ्चालन गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *