नेपाली महिलालाई म्यानमार भन्दै चिनियाँले थाइल्याण्ड पुर्याएपछि..

नेपालीलाई थाइल्णड भन्दै म्यानमारमा पुर्याएर अवैध काममा लगाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए।
चीनको गान्सु प्रान्त घर भई काठमाडौं महानगरपालिका १५ बिजेश्वरी बस्ने ४२ वर्षीय जोनसन भन्ने लियान जुन पक्राउ परेका हुन्।
नेपालीहरूलाई आकर्षक रोजगारी दिने भनेर लाओस, थाइल्यान्ड, म्यानमारलगायत देशमा पुर्याउने र अवैध अनलाइन स्क्यामिङमा जबरजस्ती काममा लगाउने गरेको भन्ने सूचना तथा गुनासो ब्युरोमा आएको थियो।
त्यसैबीच ब्युरोमा असार २६ गते एक जना पीडितले चिनियाँ नागरिकविरूद्ध जाहेरी दिइन्। जो म्यानमारबाट २०७९ भदौ ६ गते फर्किएकी थिइन्।
पीडित महिला नेपाल फर्किए पनि प्रहरीमा पुगेकी थिइनन्। तर चिनियाँ नागरिकले ह्वाट्सएपमार्फत् धम्क्याउने, दुर्व्यवहार गर्ने गरेका थिए।
ब्युरोका अनुसार लियान सन् २०१८ देखि नेपाल आउनेरजाने गरेका थिए। उनी भिजिट, विद्यार्थी र व्यापार भिसामा नेपाल आएर विभिन्न व्यापार, व्यवसायमा लगानी गरिरहेका थिए।
एक जना दोभाषे साथीमार्फत् पीडितको लियानसँग चिनजान भएको थियो। चिनजान भएपछि ती पीडित महिलाले लियानले सञ्चालन गरेको पसलमा ४(५ महिना काम गरेकी थिइन्।
काम गर्ने सिलसिलामा लियानले पीडितलाई थाइल्यान्ड जाने प्रस्ताव गरेका थिए। पीडित महिलालाई थाइल्यान्डमा कम्युटर टाइपिङको काम दिने भनिएको थियो।
भिजिट भिसाको प्रयोग गरी पीडित महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चढेर २०७९ साउन ९ गते थाइल्यान्डमा पुगिन्। त्यहाँ रहेका अर्का चिनियाँले पीडितलाई १३ घण्टा बस र डुंगा चढाएर म्यानमारमा पुर्याएका थिए।
त्यहाँ पुगेपछि पीडितको राहदानी र मोबाइल पनि खोसिएको एसएसपी श्रेष्ठले बताए।
नेपालीहरूलाई त्यहाँ बसेर अमेरिकी नागरिकलाई स्क्याम गर्न लगाइएको थियो।
करिब एक महिना बसेर बिरामी भएपछि पीडितले नेपाल फर्किने भनेपछि चिनियाँहरूले फिरौती मागेका थिए।
पीडित महिलाले धेरै काम नगरेकाले २० हजार थाइ भाट मात्रै पाएकी थिइन्। भएको रकम बुझाएपछि ती चिनियाँले उनलाई छाडेका थिए।
त्यसपछि पीडित २०७९ भदौ ६ गते नेपाल आइपुगेकी हुन्।
प्रहरी स्रोतका अनुसार म्यानमारमा अन्य नेपालीहरूलाई पनि चिनियाँले काममा लगाएका छन्।
१३ जना पीडितका आफन्तले उद्धारका लागि ब्युरोमा निवेदन समेत दिएका छन्।
प्रहरीले लियानमाथि थप अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।








