एमालेले अहिले सरकारमा जाने कुनै पनि मनसाय राखेको छैन : ओली
२०८० असार २६ गते

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् ।
काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भईरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रस्ट्याएका हुन् । मङ्गलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश सङ्गठन कमिटीको सातौँ बैठकमा बोल्दै उनले आफ्नो पार्टी सरकार बनाउने, जोखाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताए ।
ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिसनमा लागेको दोहोर्याए । उनले सरकार र सत्तारुढ दलहरूले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाए । अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भईसकेको मिटरब्याजसम्बन्धि प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झूट कुरा गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
उनले सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको समेत बताए ।
ओलीले इमान र निष्ठाका साथ देश र जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
यस्ताे छ ओलीको भाषण
‘अहिले सात महिना त सिद्धियो । यो सरकारले के गर्याे त ? वरतिरको सिन्को यसले परतिर के सार्यो ? केही पनि गरेको छैन राम्रो काम । यसले के गर्यो ? ढाँट्छ, छक्याउँछ । मिटरब्याँजीहरुको सम्बन्धमा ज्येष्ठ २४ गते विधेयक पास गर्न दिएनन् भनेर गृहमन्त्री कडकिए । यिनीहरुनै हुन, जसले वैशाख २४ गते पेस गर्नुपर्ने कुरा असार ५ गते पेस गर्छन् पार्लियामेन्टमा । के हेरेर बसे ? राष्ट्रियसभामा असार ५ गते पेस गर्छन्, वैशाख २४ गते गर्नुपर्ने त्यो अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक । वैशाख २४ देखि असार ५ सम्म के हेरेर बसे ? अथवा बिल्कूल उदासिन, लापरवाह र यिनीहरू सामन्तको पक्षमा भएका हुनाले यिनीहरूले त्यो गरेका हुन । नहोस् भनेर । राष्ट्रियसभाबाट अन्तिम दिन । ६० दिन भित्र भईसक्नु पर्छ । अव ६० औँ दिनको अन्तिम दिनमा केही भयो भने पनि संसद रोकिन सक्छ । त्यस्तो बेलामा ल्याए । हामीले भन्यौँ–मिटरब्याजीहरुलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने विषय छ । संसद चलाउने गरी अघि बढौँ । प्रधानमन्त्रीले राजीनामा गर्नुस् । अथवा बाटो त निकाल्नु प¥यो नि केही । जथाभाबी बोल्ने अनि उहाँ मलाई प्रधानमन्त्री बनाउन कति पटक दिल्ली जानु भयो भन्ने । अनि केही पनि होइन भनेर चुप लागेर बस्ने । प्रधानमन्त्री पार्लियामेन्ट पनि आउनु भएन । कसैसँग कुरा पनि गर्नु भएन । र, झूट प्रसारण गर्नु भयो बोल्न दिएन भनेर, स्पष्टीकरण गर्न दिएन भनेर । कहाँ गर्नु भयो उहाँले स्पष्टीकरण ? बल्ल हिजो स्पष्टीकरण दिन्छु भनेपछि हामीले दियौ त । अनि गृहमन्त्री गएर त्यहाँ कसैले रोक्न सक्दैन तपाईँहरूलाई न्याय दिन भन्छन् । वैशाख २४ गतेदेखि असार ५ गतेसम्म अन्तिम घडीपला समेत समाप्त हुने बेलामा त्यो ल्याएर, त्यसलाई फुकाएर जाऊ भन्दा नफुकाएर, अनि कुँदेर माइतीघर मण्डलामा गएर यस देशमा छ नि नारायणकाजी भन्ने महान्, बहादुर जन्मेको छ, त्यसले तपाईँहरूलाई इन्साफ दिन्छ भनेर फाईफूर्ती लगाउने त्यहाँ ? सरकारमा त हामी थिएनौँ । वैशाख ५ गतेदेखि असार ५ गतेसम्म के हेरेको ? अर्को हिजो संसदमा हेरेको त ६० दिन भित्र सिद्धिसक्छ । त्यो हुनेवाला नै छैन । ६० दिन भित्र अध्यादेश वा त्यसलाई प्रतिस्थापन गर्ने विधेयकको म्याद सिद्धिन्छ । २० गते सिध्याए । प्रचण्डजी एण्ड कम्पनीको ७ गठबन्धन, १० गठबन्धन कतिको गठबन्धन हो । यो गठबन्धनको सरकारको हो । यसलाई असफल पारिसक्यो । हिजो ६० दिन कटेको ५ दिन पछि फेरी विधेयक पारित गरौँ भनेर । ६० दिनमा त्यो रद्द भईसक्छ । अर्को विधेयक ल्याउनु पर्छ । यिनीहरूलाई कानुन, संविधानको मतलब होइन । खाली जनता छक्याउने, अनि त्यहाँ त हामी यो संविधान बमोजिम मिल्दैन भनेर । त्यसो भन्ने बित्तिकै कुँदेर माइतीघर मण्डलामा पुग्ने र एमालेले हुन दिएन भन्ने । यो सबै जनता ठग्ने चाल हो । नत्र भने त्यस्तो विधेयक म्याद सकिएको ५ दिनपछि कसैले ल्याउँछ ? २० गते म्याद समाप्त भयो, २५ गते कसैले ल्याउँछ ? त्यसकारण यो सबै छलछाम हो । यस्ता तत्त्वहरू, जो पार्लियामेन्टमा सत्ताधारी दलका सांसदहरू, तालिम गरेर लगिन्छन् । सुनको जलहरी चढाएको होइन, पित्तलको हो भनेर भन्न तालिम दिएर लगिन्छन् । तालिम कस्ता होलान्, वक्ता कस्ता होलान् ? कसैले दुनियाँमा त्यस्तो कल्पना गर्न सक्ला ? १०८ किलो सुन पशुपतिजस्तो ठाउँमा सुन नचढाएर पित्तल चढायो । यो सद्दे दिमाग भएको मान्छेले बोल्न सक्ला ? त्यसबापत किञ्चित ग्लाी छैन । यस्ता झुट अफवाह फैल्याए बापत लाज, सरम केही पनि छैन । अचम्म लाग्छ । उनीहरूकै कुरा चाहिँ ठूला छन् । हिजो पनि ठूला कुरा सुन्दै थिए म प्रधानमन्त्रीजीका पार्लियामेन्टमा बोलेका कुरा । केटाकेटीको बल नै रुनेमा हुन्छ । आमाको ध्यान तान्ने रोएर, अरूको ध्यान तान्ने रोएर । भोक लाग्यो भन्नु प¥यो रुने, थकाई लाग्यो भन्नुपयो रुने । उसको बल नै, तागत नै त्यही हो । बाबुआमाले टेरेन, मानेन भने चल्काएर ल्याई हाल्छ बाबुआमालाई । बालकको रोदनमा तागत हुन्छ । विभिन्नको तागत विभिन्न चिजमा हुन्छ । र, अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैल्याउने, गठबन्धनका मान्छेहरूको त्यही देखिन्छ । र, उनीहरू यो गठबन्धन कायम राख्न चाहन्छन् । किनभने उस्तै उस्तै मिलेको जस्तो देखिन्छ । त्यसकारण कायम राख्न चाहन्छन् । हामीले भनेका छौँ–हामीलाई सरकारमा जान हतारो नभएको मात्रै होइन, अहिले हामी सरकारतिर हेरेका पनि छैनौँ । त्यतातिर सोचेका पनि छैनौँ । हामी ग्रासरुटमा लाग्यौँ । अव मिसन २०८४, मिसन ५१ पर्सेन्ट । यतापट्टि हामी लागेका छौँ । हामीलाई सरकारतिर हेर्ने, यो सरकारको दैनिक किचलो, सरकार बनाउने, त्यसलाई जोगाउने, त्यसलाई कसरी टिकाउने, यताको टेको, उताको टेको, यो खोज्यो, उ खोज्यो, जेलबाट छुटाएर चार वटा भोट लियो । यता खेल्यो, उता खेल्यो । यसखालको कुनै परिणाम ननिस्कने खेल वैयक्तिक ज्यान बनाउनु छ भने ठिकै हुन्छ ।’
२०८० असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








