सचिव राउतलाई दुई दिन हिरासतमा राख्न अनुमति, मंगलबार फेरि म्याद थपिने

जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई दुई दिन थुनामा राख्न अनुमति दिएको छ।
राउतलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
०६७ सालमा उनी शाखा अधिकृतका रूपमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत रहँदा उक्त प्रकरणमा संलग्न भएको भनि लिखत कीर्ते र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
बालुवाटारस्थित सरकारी ११३ रोपनी जग्गा विशिष्ट व्यक्तिको निवास विस्तारको फाइल उठेको थियो। तर, विचौलियाहरुले सरकारी जग्गा व्यक्तिको नाममा गराउन सफल भएका थिए। त्यससम्बन्धी विषयमा उनले नै टिप्पणी लेखेको आधारमा सीआईबीले पक्राउ गरेको हो। पक्राउ परेसँगै उनी निलम्बनमा परेका छन्।
संगठित अपराधको कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाउँछ। यसअघि बालुवाटार जग्गा प्रकरणमा अरु ११ जनालाई सीआईबीले पक्राउ गरिसकेको छ।
सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, धर्मप्रसाद गौतम, गोपाल कार्की, शिवजी भट्टराई, बाबुराजा महर्जन, घमनकुमार कार्की, रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको छ।
पक्राउ परेका १२ जनालाई पुनः म्याद थपका लागि मंगलबार एकसाथ उपस्थित गराइने छ।








