धनौजी गाउँपालिका : हाकिमको रवैयाका कारण स्थानीय उपभोक्ता मार्कामा

पालिकामा अनियमितताको चाङ्ग, बाउन्सर राखेर काम गर्दै हाकिम

जनकपुरधाम। आर्थिक वर्षको अन्त्यतिर धनुषाको एक पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली तथा रवैयाका कारण सेवाग्राही तथा उपभोक्ताहरू मार्कामा परेका छन् ।

धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादवको कार्यशैली तथा अपरिपक्वताका कारण स्थानीय उपभोक्ता तथा सेवाग्राहीहरू समस्यामा परेका हुन् । जसका कारण फेरी विवाद उत्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत यादवले हरेक काममा एकलौटी गर्न खोज्ने, स्थानीय उपभोक्ता र ठेकेदारले सम्पन्न गरेको कामको भुक्तानी नगर्ने तथा पालिका भन्दा बाहिरबाट आफ्नो नजिकका आसेपासे, आफन्त ठेकेदार बोलाई गरेको कामहरूको मात्रै भुक्तानी गर्ने गरेका छन् । जसका कारण स्थानीय सेवाग्राही तथा उपभोक्ताहरू समस्यामा परेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत यादवकै कार्यशैली तथा रवैयाका कारण त्यस पालिकामा पटक–पटक विवाद उत्पन्न हुने गरेका छ भने उनी माथि पटक–पटक हातपातको प्रयास हुने गरेको घटना बाहिरिने गरेका छ । हाकिम यादव कार्यालय आउँदा पनि बाहिरबाट सधैँ ४-५ जना बाउन्सर लिएर आउने गरेको स्थानीयहरू बताउँछन् । उनीहरू भन्छन्,–‘हाकिम साबले आफ्नै गल्ती तथा रवैयाहरूका एक्लै कार्यालय आउन आँट गर्दैनन् ।’ सेवाग्राही, उपभोक्ता तथा जनप्रतिनिधि समेत सँग प्रमुख प्रशासकीय अधिकृत यादवले राम्रो व्यवहार नगर्ने गरेको तथा बोल्ने शैली समेत राम्रो नभएको स्थानीयहरू गुनासो गर्छन् ।

केही दिन अगाडी उपाध्यक्ष रामवती मण्डलसँग विवाद हुँदा जनकपुरतिरबाट २०-२५ जना युवाहरू बोलाएर कार्यालयमा होहल्ला गर्न लगाएका थिए । पछि उनै युवाहरूले गाउँपालिकाको प्रत्येक वडामा ठेक्का पट्टाका कामहरू गर्दै आएको देखिएको थियो । गाउँपालिकाको वडा नं. २ मा ९ लाख को स्ट्रिट लाइट जडान गरिएको छ । जुन काम आफ्नै आफन्तबाट गर्न लगाएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत यादवको अनावश्यक सिन्डिकेटका कारण उक्त पालिकामा पटक–पटक विवाद सृजनाको अवस्था आउने गरेको नाम उल्लेख नगर्ने सर्तमा कर्मचारीहरू पनि बताउँछन् । उनले जुनियर कर्मचारीहरूलाई पनि पेल्ने गरेको, आफू अनुकूलको काम गर्न दबाब दिईरहेको तथा उनको अनुकूलको काम नगरेको खण्डमा शाखा नै परिवर्तन गरी अनावश्यक दुःख दिने जस्ता काम गरिरहेको उनीहरू बताउँछन् ।

गत आ.व.को बाँकी योजनाको भुक्तानी प्रक्रियाको पुर्नमूल्यांकनमा पनि प्रमुख प्रशासकीय अधिकृत यादवले सेटिङ्गमा प्राविधिकबाट अधिकांश योजनाको मूल्यांकन बढाउन लगाई भुक्तानी गरेका थिए । उक्त भुक्तानी भएका अधिकांश योजनाहरूको मुद्दा अख्तियारमा छन् ।

त्यस्तै, अधिकांश कामहरूको सिन्डिकेट स्वरूप प्रचार प्रसारको कामहरूमा पनि सिन्डिकेट लगाइएको पाइएको छ । सरकारी कार्यालयहरूबाट उक्त कामका लागि समान हिसाबले सूचना तथा विज्ञापन उपलब्ध गराउनु पर्ने प्रावधान रहे पनि प्रमुख प्रशासकीय अधिकृत यादवले कमिसनको लोभमा पालिकाको सबैजसो सूचना तथा विज्ञापन जनकपुरको एक निजी कम्पनी मार्फत मात्रै गरेको पाइएको छ । यसरी सूचना उपलब्ध गराउँदा वास्तविक बिलको तीनदेखि चार गुणासम्म बढाएर बिल बनाउने र सो बापत त्यहाँबाट यादवले ५० देखि ६० प्रतिशतसम्म कमिसन लिने गरेको स्रोतले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत यादवले चढ्ने गरेको गाडी उनको आफ्नै निजी भए पनि पालिकासँग अरूको नाममा सम्झौता गरी उनले दैनिक पाँच हजारको दरले भाडा बुझिरहेका छन् । त्यस्तै गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले चढ्ने बाहेक तीन वटा गाडी भाडामा लिई पालिकाको बजेटको अनावश्यक दुरुपयोग गरिरहेको छ । सरकारले एकातिर खर्चहरू कटौती गरी मितव्ययी बन्न निर्देशन दिईरहेको छ भने धनौजी गाउँपालिका अनावश्यक फजुल खर्च गर्नमै व्यस्त छन् ।

स्थानीय उपभोक्ताहरूका अनुसार प्रमुख प्रशासकीय अधिकृत यादवले योजना अनुगमन समितिका संयोजक समेत रहने गरेको गाउँपालिका उपाध्यक्षको सही तथा अनुगमन बिना नै आफ्नो नजिकका आसेपासे तथा आफन्त ठेकेदारको भुक्तानी गर्ने गरेका छन् भने अन्य योजनाको भुक्तानीमा बखेडा झिक्ने गरेका छन् । धेरैजसो वडाहरूमा सञ्चालित योजनामा वडा समितिको समेत सही बिना भुक्तानी भइसकेको छ भने केही योजनाको भुक्तानी हुने प्रक्रियामा छन् । असार २४ सम्म चालु आ.व.को भुक्तानी गरिसक्नुपर्ने समयसीमा सरकारले दिएको छ ।

स्थानीय एक उपभोक्ताका अनुसार प्रमुख प्रशासकीय अधिकृत यादवले प्रक्रिया पुर्‍याउन तथा नामको लागि उपभोक्ता समिति बनाउने गरेका छन् । उपभोक्ता समिति बनाएर पछि उक्त योजनाको काम आफ्नो आफ्न्तहरुलाई बोलाएर गराउने गरेका छन् ।

नाम नछापिदिने सर्तमा एक जनप्रतिनिधिले भने,–‘हाकिमले प्रत्येक वडामा १५ देखि २० लाखसम्मको योजनाको काम बाहिरबाट बोलाएर आफ्नो आसेपासे तथा आफ्न्तहरुसँग गराएका छन् । हामीहरूले यसको विरोध गर्‍यौँ, तर हाकिमले उल्टै हामीहरूको भुक्तानी नगरिदिने भनेर धम्काउने गरेका छन् ।’
उक्त जनप्रतिनिधिले सानो भन्दा सानो काममा पनि प्रमुख प्रशासकीय अधिकृत यादवले कमिसन माग्ने गरेको र कमिसन नदिए चेक नै नदिने गरेको गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *