शरद गौचनको हत्यामा समिरमानलाई जन्मकैद र पत्नीलाई १० वर्ष कैदको फैसला

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्याका मुख्ययोजनाकार समिरमान बस्नेत र काले भन्ने अमरबहादुर रानालाई जन्मकैदको फैसला भएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेले बस्नेत र रानालाई हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएका हुन्।
उनीहरूले २०७४ असोज २३ गते काठमाडौंको शान्तिनगरमा गोलि हानी गौचनको हत्या गरेका थिए। कर्तव्य ज्यान कसुरमा अदालतले असार १२ गते नै दोषी ठहर गरे पनि सजाय निर्धारण हुन बाँकी थियो।
गौचनको हत्यामा पक्राउ परेका लोप्चन लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद र माया शेरचनलाई १० वर्ष कैद सुनाएको छ। माया समिरमानकी पत्नी हुन्।
मायालाई हतियारसम्बन्धि कसुरमा ६० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
त्यस्तै, धनराज योङहाङ, गुम्बी भन्ने श्यामबहादुर गुम्बी, कालेदारी भन्ने रोशन बुढाथोकी र राजिव तामाङ भन्ने राजिव स्याङतानलाई जनही पाँच वर्ष कैद निर्धारण भएको छ।
बसन्त थेबे र मनोज पुन भन्ने मनोज बुढामगरको मृत्यु भइसकेकाले दाबी खारेज भएको छ। मुद्दाका ७ प्रतिवादी फरार छन्। उनीहरूलाई भने इजलासले मुल्तबीमा राखेको छ।
फरार हुनेमा गंगाप्रसाद लिम्बु, अजय थापा, समिकला राई, प्रवेश नायब, सुजा थक्सु बाजी, सुधीरकुमार शाह र प्रदीपकुमार झा छन्।
इजलासले सात जनालाई सफाइसमेत दिएको छ। सफाइ पाउनेमा प्रकाश बुढाथोकी, सन्तोष गुरूङ, शिवजी महतो कमकर, सुर्यबहादुर बाजी, राजकुमार शाह, मुकेशकुमार पाण्डे र श्याम गुप्ता हुन्।








