अब नेपालमै ‘स्काई वाक’को रोमाञ्चक अनुभव गर्ने अवसर प्राप्त छ : सञ्चालक रोकाय

काठमाडौँ । काठमाडौँको कमलादीमा स्काई वाक भ्यु टावर सञ्चालनमा आएको छ । नेपालको पर्यटन क्षेत्रका लागि स्काई वाक नयाँ उत्पादन हो । ७८.५ मिटर उचाइको स्काई वाक भ्यु टावर साहसिक पर्यटन अन्तर्गत पर्दछ ।

सामाजिक सञ्जालमार्फत विदेशमा भएका स्काई वाक टावर हेरेर रमाइरहेका नेपालीलाई अहिले प्रत्यक्ष महसुस गरेर हिँड्ने अवसर सृजना भएको छ ।

अन्य देशमा टावरमा, समुन्द्रमा गएर फोटो खिच्ने, घुम्ने कल्चर भए पनि नेपालमा समुन्द्र नभएकाले स्काई वाक टावर मात्र भए पनि निर्माण गरौँ भनेर निजी क्षेत्रबाट स्काई वाक टावर सञ्चालनमा ल्याएको सञ्चालक सञ्जीव रोकायको भनाइ छ ।

उनले नेपालमा सुरुमा स्काई वाकको कन्सेप्ट अध्यक्ष आकर्षण पोखरेलले ल्याएको बताए । विदेशमा डाँडाकाँडा पहरामा स्काई वाक सञ्चालनमा भए पनि उपत्यकालाई हेर्ने केही फरक थिममा टावर निर्माण गरिएको रोकाय उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा सुरुमा स्काइ वाकको कन्सेप्ट अध्यक्ष आकर्षण पोखरेलले ल्याएका हुन् । हामीले पर्यटकलाई केही फरक थिममा उपत्यकाको भ्यु हेर्न सकिने खालको टावर दिन खोजेका हौँ ।’

उनले वि.सं. २०७६ सालमै टावर शिलान्यास भए पनि सञ्चालनमा आउन ढिलो भएको बताए । नेपालमा जनशक्ति र दक्ष जनशक्तिको अभाव भएकाले विदेशबाट जनशक्ति ल्याउनु परेको उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा काम गर्ने म्यानपावरको पनि कमी, तालिमप्राप्त श्रमिक पाइएन । त्यसकारण डेढ सय जति विदेशी म्यानपावर कोरोनाको समयमा यहाँभित्र नै राखेर काम गर्न लगाएका थियौँ ।’

उनका अनुसार कमलादीको स्काई वाक टावर स्टिलको स्ट्रक्चर हो । नेपालमा यति ठुलो स्टिलको स्ट्रक्चर कतै नभएको उनले बताए । उक्त स्टिल स्ट्रक्चर साउथ एसियाकै पहिलो स्ट्रक्चर भएको उनको दाबी छ ।

उनले भने, ‘यति ठुलो स्टिलको स्ट्रक्चर नेपालमा छैन । साउथ एसियाकै पहिलो स्ट्रक्चर हो यो । नेपाली इन्जिनियरहरूले नै विकाश गरेको टेक्नोलोजी हो ।’

यो टावर नेपाली इन्जिनियरहरूले विकाश गरेको उनले बताए । केही प्राविधिक सहयोग विदेशका इन्जिनियरसँग पनि लिएको उनले बताए ।

उनका अनुसार टावरमा प्रयोग भएको फलाम, सिसा जस्ता कच्चापदार्थ भारत र युरोपका विभिन्न देशबाट ल्याइएको थियो ।

उनले भने, ‘केही केही हामीले प्राविधिक सहयोग विदेशका इन्जिनियरसँग पनि लिएका छौँ । कच्चापदार्थहरू फलाम, सिसा सबै बाहिरबाट ल्याइएको छ । र यसको निश्चित मापदण्ड पनि छ । कस्तो सिसा प्रयोग गर्न हुने वा नहुने मापदण्ड छ । त्यो मापदण्डलाई आधार मानेर हामीले कच्चापदार्थहरू प्रयोग गरेका छौँ ।’

उनले भूकम्पको जोखिम भएको काठमाडौँमा सामान्य भूकम्पले टावरलाई कुनै असर नगर्ने बताए ।

उनले भने, ‘सामान्य भूकम्प यति रेक्टरले भत्किन्छभन्दा पनि कति लामो जान्छ भन्ने हुन्छ । यो बिल्डिङ जमिनमुनि ३६ मिटर तल ५६ ओटा पाएलहरू राखेर यो विल्डिङलाई डेभलप गरिएको छ । यो विल्डिङलाई भूकम्पले असर गर्दा मलाई लाग्छ काठमाडौँको कुनै पनि बिल्डिङ बाँकी रहँदैन ।’

अहिलेका नयाँ प्रविधि राखिएको र ठुलै भूकम्प आए पनि असर नगर्ने हिसाबले निर्माण गरिएको उनको भनाइ छ ।

उनका अनुसार स्काई वाक टावरमा प्रयोग भएका निर्माण सामग्री भारत र युरोपका अन्य देशबाट ल्याइएको हो । युरोपियन देशमा बनेका सिसा गुणस्तरीय हुने भएकाले तिनीहरूकै रिफरेन्समा रहेर भारतको एउटा कम्पनीले उत्पादन गरेको सिसा प्रयोग गरिएको उनले बताए ।

उनले अहिले स्काई वाक टावरमा ग्लास वाक, भ्यु टावर मात्र भए पनि निकट भविष्यमा मनोरञ्जनका थुप्रै प्रडक्ट ल्याउने तयारी गरिरहेको उनले बताए ।

भन्छन्, ‘ग्लास वाक, स्काई भ्युका साथै निकट भविष्यमा यहाँबाट बञ्जीजम्प गर्न मिल्छ । यो टावरको टपबाट ६० मिटर अग्लो बञ्जीजम्प बनाइ राख्या छौँ । टपमा रेस्टुरेन्ट डेभलप गरिराख्या छौँ । उपत्यकाको भ्यु देखिने गरेर रेस्टुरेन्ट छ । लगभग साढे २ सय क्यापासिटीको रेस्टुरेन्ट डेभलभ भइरहेको छ । नेपालमा रहेको विभिन्न जातजातिकासँग रिलेटेड भएर फुडहरू सेल गर्न खोजिरहेका छौँ । बच्चाहरूको गेम जोन बनाउन खोजिरहेका छौँ ।’

उनले स्काई वाक टावरमा आएका पर्यटकका लागि चौध रोपनीको जग्गामा पार्किङ स्थल र रेस्टुरेन्ट लगायतका सबै सुविधा रहेको बताए ।

स्काई वाक टावरलाई निर्माण कम्पनी वन्डर्स नेपाल प्रालिले निर्माण गरेको हो ।

कम्पनीका अध्यक्ष आकर्षण पोखरेल अमेरिकामा बसेर नयाँ नयाँ प्रविधिमा काम गर्थे । नेपालमै केही गरौँ भन्ने विचारले स्काई वाकको अवधारणा लिएर उनी नेपाल आएको उनले बताए । उक्त समयमा सञ्चालक सञ्जीव रोकाय अन्य क्षेत्रमा काम गरिरहेका थिए । एउटै इन्जिनियरिङ पेसामा काम गर्ने भएकाले अध्यक्ष आकर्षण पोखरेलसँग पहिल्यै चिनजान भएको उनले बताए । त्यसपछि टिम बनाएर सम्भावनाको अध्ययन गरी काठमाडौँको कमलादीमा टावर निर्माण गरिएको उनको भनाइ छ ।

सुरुमा आकर्षण पोखरेल, तेजबहादुर सिंह, खेम न्यौपाने, लोकनाथ अधिकारी लगायतका व्यक्तिहरूसँगको सल्लाहमा ४, ५ जना भएर सुरुवात गरेको उनले बताए । उनले कम्पनीमा २ अर्ब लगानी गरेर आज ७२ जना जोडिएको बताए ।

स्काइ वाक तथा दृष्यावलोकनको टिकट महँगो भयो भन्ने गुनासो भए पनि महँगो नभएको बताए । उनले टावरमा चढेर सिसामा चढेर फर्केका व्यक्तिहरूको उक्त गुनासो नभएको बताए ।

भने, ‘धरै मान्छेहरूको गुनासो टिकट दर महँगो भयो भन्ने छ । तर टिकट काट्ने बेलामा मात्रै महँगो भो भनेर भन्नुहुन्छ । जसले माथि गएर टावर चढेर सिसामा चढेर फर्कनु हुन्छ । उहाँहरूको त्यो गुनासो छैन ।’

उनले नेपालको ग्लास वाकलाई संसारको सबैभन्दा सस्तो ग्लासवाक भनेका छन् । र सबैलाई सहज हुनेगरी मूल्य निर्धारण गरिएको बताए । बालबालिका, वृद्धवृद्धा र अपाङ्गको हकमा टिकटमा केही प्रतिशत छुट हुने सञ्चालक रोकाय बताउँछन् ।

उनले भने, ‘हामीले सहज ढङ्गबाट सबैलाई हुनेगरी नै मूल्य निर्धारण गरेका छौँ । बच्चाको हकमा डिस्काउन्ट छ । बूढाबूढीको हकमा डिस्काउन्ट छ । अपाङ्गको हकमा डिस्काउन्ट छ । अब केही समयपछि विद्यार्थीको हकमा स्किम पनि ल्याइरहेका छौँ । विद्यार्थीहरूलाई हामी छुट गर्छौँ ।’

उनले विद्यार्थीलाई छुट दिन थप स्किम ल्याउने योजना रहेको बताए ।

उनका अनुसार निर्माण कम्पनी वन्डर्स नेपाल प्रालिले नै धनकुटाको भेँडेटारमा स्काई वाक निर्माण गरिरहेको छ । साथै इलामको कन्याममा पनि करिब ९ महिनादेखि स्काइ वाक सञ्चालनमा आएको उनले बताए । केबलकार निर्माण गरी अन्य ठाउँमा पनि लगानी गरिरहेको उनको भनाइ छ ।

उनले युवाहरूले सञ्चालन गरेको उक्त परियोजनालाई माया गरी टावरको भिजिट गरिदिन अनुरोध गरेका छन् । साथै नयाँ सोचमा काम गर्ने व्यक्तिलाई स्वागत गर्ने पनि बताए ।

‘म सबैलाई यो टावरलाई भिजिट गरिदिएर प्रवर्द्धन गर्नका निमित्त अनुरोध गर्न चाहन्छु र अलि केही फरक सोचमा काम गरौँ भन्ने साथीहरूलाई म स्वागत गर्न पनि चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *