लुम्बिनी प्रदेश सरकार र विपक्षीबीच सहमति, आजदेखि बैठक सञ्चालन हुने

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सम्बन्धमा असहमति जनाएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ । बजेटका विषयमा असहमति राख्दै आएकामा प्रमुख प्रतिपक्ष दल सहमत भएपछि आजदेखि बैठक सञ्चालन हुने भएको हो ।

यसअघि लगातार बैठक अवरुद्ध गर्दै आएको प्रमुख बिपक्षी दलले मङ्गलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाउँदै बजेट पुस्तिकासमेत च्यातेर बहिष्कार गरेपछि मङ्गलबार राति दुबै पक्षबीच वार्ता भएको थियो । वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।

बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन् । वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरी सहभागी थिए ।

सहमति भएपछि मङ्गलबार स्थगित प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । प्रदेशसभा सचिव दुर्ललकुमार पुनमगरले जारी गरेको सूचनामा मङ्गलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७औंँ बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *