सरकारले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नुपर्छः सोनाम ग्याल्जेन शेर्पा

काठमाडौँ । राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गरे ।

सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने उनको भनाइ थियो । मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शेर्पाले हेलिकप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरुलाई पनि सगरमाथा चढेको मान्यता दिने गरेको भन्दै आपत्तिसमेत जनाए । उनले पर्यटकहरुकै कारण हिमाली क्षेत्रको वातावरण प्रदुषित हुन पुगेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औँल्याए । सांसद शेर्पाले पर्यटनले विकासमात्रै नभई विध्वंश पनि निम्त्याउन सक्छ भन्ने मान्यतालाई आत्मासात गरेर पर्यटन नीति ल्याउन पनि सरकारलाई सुझाव दिए ।

उनले भने, ‘आज पनि लाजमर्दो कुरा के भईराखेको छ भने सगरमाथा चढने पनि एउटा मापदण्ड हुन्छ । सगरमाथा कहाँबाट चढेर कहाँबाट झर्नेलाई मान्यता दिने भन्ने पनि हुन्छ । तर नेपालको कुनै पनि ऐन, कानुनमा सगरमाथा यहाँदेखि यहाँबाट चढेर फर्कियो भने मान्यता दिने भन्ने काही लेखिएको छैन । त्यसकारण कहिलेकाँही विवाद हुने गर्छ । हेलिकप्टरबाट गएर चढेको मान्छेलाई समेत मान्यता दिइन्छ । कोही मान्छे बेसक्याम्पबाट गएर चढेका हुन्छन । यसलाई सगरमाथा चढेकै मानिन्छ । आखिर कुनलाई चाँही सगरमाथा चढेको मान्ने ? त्यसकारण यो व्यवस्था हुनुप¥यो कि सगरमाथा कहाँबाट चढेर कहाँबाट झरेकोलाई मान्यता दिने भनेर ऐनमा व्यवस्था हुन जरुरी छ । आज सगरमाथालगायत विभिन्न हिमालको आधार शिविरमा जानुहोस् । त्यहाँ सिजनल टुरिष्ट बस्दाखेरी कति प्रदुषण भएको छ । त्यसतर्फ सरकार गम्भिर छ कि छैन त ? सरकारले त्यो बेसक्याम्प कसरी बस्ने भनेर मापदण्ड बनाएको छ कि छैन ? म त केही पनि देख्दिन । पर्यटन खाली विकास मात्रै गर्ने होइन, विध्वंश पनि ल्याउन सक्छ । त्यसलाई ध्यानमा राखेर सरकारले पर्यटन नीति बनाउनु पर्छ भन्ने धारणा राख्न चाहन्छु ।’

सांसद शेर्पाले पर्यटन क्षेत्रको विकासका लागि सरकारले गुरुयोजना नै तय गर्नुपर्ने पनि पटकपटक दोहोर्‍याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *