सरकारको आन्तरिक स्रोतले चालु खर्च धान्न धौ-धौ : राजस्व सचिव घिमिरे

काठमाडौँ । अर्थ मन्त्रालयका राजश्व सचिव डा. रामप्रसाद घिमिरेले सरकारको आन्तरिक स्रोतले चालु खर्च धान्न समेत धौ—धौ परिरहेको बताएका छन् ।

मंगलबार अर्थ समितिको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थाको बारेमा जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।
उनले पेन्सन, सामाजिक सुरक्षा, निजामति/शिक्षक/सुरक्षाकर्मी/स्वास्थ्यकर्मीको तलव लगायतमा वर्षेनी दायित्व रकम बढ्दै गएकाले सोका लागि स्रोत व्यवस्थापन जटिल चुनौती बनेको बताए । उनले चालु आर्थिक वर्षमा आन्तरिक ऋणको सावाँ तथा व्याज भुक्तानीमा ४३ अर्ब रुपैयाँ, रसायनिक मल खरिदमा ७ अर्ब, कर्मचारी/शिक्षक/स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको वृद्धि भएको तलव भत्तामा ३० अर्ब, सामाजिक सुरक्षा भत्तामा ६ अर्ब थप बजेट व्यवस्था गर्नुपरेको जानकारी दिए ।

राजश्व सचिव घिमिरेले चालु खर्चमा मितव्ययिता कायम गर्न र पुँजीगत खर्चलाई पुनः प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गरिएको उल्लेख गरे । उनले सुरक्षाबन्दीको रासन र कैदीबन्दीको सिदाका लागि २ अर्ब थप श्रोत व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए ।

सचिव घिमिरेले चालु आर्थिक वर्षको खर्च व्यहोर्ने श्रोतमा राजश्वतर्फ राजश्व १२ खर्ब ४० अर्ब, अनुदान प्राप्ति ५५ अर्ब र वैदेशिक ऋण २ खर्ब ४२ अर्ब र आन्तरिक ऋण २ खर्ब ५६ अर्ब रहेको पनि बताए ।

उनले २०८० असार १७ गतेसम्म कुल संघीय सरकारको खर्च १२ खर्ब ५४ अर्ब भएकोमा चालु खर्च ९ खर्ब, पुँजीगततर्फ १ खर्ब ६८ अर्ब र वित्तीयतर्फ १ खर्ब ५५ अर्ब खर्च भएकोमा लक्ष्यको तुलनामा ७० प्रतिशत खर्च भएको अवस्था रहेको पनि बताए ।

राजश्व सचिव घिमिरेले वार्षिक राजस्व लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ रहेकोमा २०८० जेठ मसान्तसम्म ८ खर्ब ७५ अर्ब ५९ करोड, उठेको बताए । यो भनेको वार्षिक लक्ष्यको ६२.४० प्रतिशत मात्र हो । सचिव घिमिरेले वार्षिक लक्ष्यअनुसार राजस्व संकलन हुन बाँकी रकम ५ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँ रहेको बताए । यो भनेको गत वर्षको तुलनामा ११.१६ प्रतिशतले कमी हो ।

उनले आयात परिणाम घट्दा भन्सारबाट राजस्व संकलनमा कमी आएको बताए । उनले आन्तरिक उत्पादन÷व्यापार घट्न गई आन्तरिक राजस्व अपेक्षित बढ्न नसकेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *