संसदीय समितिको सभापति छिटो चयन गर्ने तीन दलबीच सहमति

काठमाडौँ । शी तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ ।

मंगलबार सिंहदरबारमा बसेको सभामुखसहितको शिर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो भन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताएका हुन् ।

उनले छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशिल, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताए । उनले संसदीय समितिका सभापति चयन गर्नेकुरामा तीन दलका नेताहरु गम्भीर भएको बताए ।

उनले भने, ‘संसदीय गतिविधिलाई कसरी अलि प्रभावकारी, गतिशिल, स्तरीय बनाउने भन्नेबारे छलफल भयो । त्यसमा पनि लामो समयदेखि संसदीय समितिहरुको नेतृत्व ज्येष्ठ सदस्यबाट भइरहेको छ, त्यो परिस्थितिलाई तुरुन्त अन्त्य गर्नुपर्छ, त्यसमा सल्लाह सुझाव मागेँ, चुनाव गर् भन्नुहुन्छ की सहमति गर्नुहुन्छ, त्यसमा तत्काल भएन भने मैले आफ्नो स्टेप चाल्नुपर्नेछ भनेर भने । त्यसका लागि हो । मुलतः संसदीय गतिविधिलाई प्रभावकारी पार्नका लागि छलफल भयो । उहाँहरु गम्भीर हुनुभएको छ, तुरुन्त समाधान गर्ने भनिएको छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटो भन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताए । उनले राजनीतिमा देखिएका विकृति, विसंगति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको पनि बताए ।

उनले भने, ‘शीर्ष नेताहरुको बैठक बस्यो, मुख्य गरेर संसदीय समितिहरुको नेतृत्व जुन खालि भएर बसेको छ, त्यसमा छिटो भन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको छ । राजनीतिमा देखिएका विकृति, विसंगति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भयो ।’

मन्त्री गुरुङले बैठकमा कोशी प्रदेशको नेतृत्वको बारेमा पनि छलफल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *