पेट्रोल-डिजेलको भाउ घट्यो

सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको ५ रूपैयाँदेखि साढे सात रूपैयाँसम्म घटाएको छ। निगमका अनुसार यी तीन पेट्रोलियम पदार्थको भाउ पहिलो वर्गअन्तर्गत साढे सात रूपैयाँ, दोस्रो वर्गअन्तर्गत ६ रूपैयाँ र तेस्रो वर्गअन्तर्गत ५ रूपैयाँ प्रतिलिटर कम गरिएको हो।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४७ रूपैयाँ ५० पैसा पर्नेछ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगम सञ्चालक समितिले नयाँ भाउ तोकेको हो। हालै आइओसीले ग्यासको भाउ प्रतिसिलिन्डर १६१ रूपैयाँ घटाएर पठाएको थियो।
तर निगमले ग्यासको भाउ कम नगरी यथावत अर्थात प्रतिसिलिन्डर १८ सय रूपैयाँ नै राखेको छ। निगमका अनुसार यसअघि ग्यासमा प्रतिसिलिन्डर १६० रूपैयाँ घाटा थियो। अब भने निगम घाटा मुक्त भएको छ।









