सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्छ : चिरिबाबु महर्जन
२०८० असार १७ गते

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
निर्माण कम्पनीहरूलाई कामयाबी बनाउन नसक्ने भएकाले विद्यमान सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्ने उनको तर्क थियो । आइतबार ललितपुरमा आयोजित ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मेयर महर्जनले सार्वजनिक खरिद ऐनमा सुधार गरी निर्माण कार्यले गति लिएमात्रै पुँजीगत खर्च बढ्ने र मुलुक बन्ने समेत स्पष्ट पारे ।
उनले कन्सट्रक्सन इन्डष्ट्रीहरुको काममा सुधार ल्याउनका लागि अनुगमनको काममा कडाई गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका नियमक निकायको ध्यानाकर्षण गराए । उनले निर्माण कम्पनीले लिएको जिम्मेवारी अनुसारको काम अघि नबढाउँदा आफूले ठेक्का नै रद्द गर्ने चेतावनी दिएपनि सुनुवाइ नभएको गुनासो गरे ।
मेयर महर्जनले भने ‘नियमक निकाय अख्तियार, महालेखा परीक्षको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायहरूको तर्फबाट कन्स्ट्रक्सन इन्डष्ट्रीमा सुधार गर्न निमित्त पहल हुनुपर्छ । हामी कहाँ पनि अहिले हामी टेन्डर दिन्छौँ । लो विड गर्नेलाई काम दिनपर्ने हुन्छ । उसले काम पाइसकेपछि त्यसले कामै नगर्ने । हालसालै हामीले दुई वटा निर्माण कम्पनीलाई तपाईँहरूको टेन्डर रद्द गरी किन कालो सूचिमा नराख्ने भनेर पत्रपत्रिकामा सूचना पनि जारी ग¥यौं । तर पनि काम गर्दो रहेनछ । तसर्थ, यो कुरामा कसरी इम्प्रुभ गर्ने ? जसले गर्दाखेरी पुँजीगत खर्च बढ्छ । अहिले मुलुकमा पुँजीगत खर्च नबढ्नुको मुख्य रोग नै यही हो । सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ को १२ औँ संशोधनसम्म हेर्नुस् । वास्तवमा त्यो काम ओरेन्टेड ऐन भएन क्या । तसर्थ, यतातिर आमूल सुधार हुनुपर्छ । यसले गर्दाखेरी पुँजीगत खर्च बढ्छ । पुँजीगत खर्च बढेपछि यो मुलुकको इकोनोमी चलायमान हुन्छ । अनि पो देश बन्छ त । यो कुरा मैले धेरै ठाउँमा बोलिसके । धेरै ठाउँमा भनी सके । तर, पनि खासै सुधार भईराखेको छैन ।’
मेयर महर्जनले निर्माण कम्पनीहरूको काममा सुधार ल्याउनका लागि आफूले सम्बन्धित निकायमा पटकपटक आग्रह गरेपनि सो अनुसार काममा सुधार हुन नसकेको स्मरण गराए ।
२०८० असार १७ गते
प्रतिक्रिया








