सामुदायिक वनमा भेटियो ३३ किलोको अजिंगर

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित लामिटार सामुदायिक वनमा शनिबार ३३ किलोको अजिंगर फेला परेको छ। अजिंगरले हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका छन्।

‘अजिंगरले बोका मारेको जानकारी पाएपछि अजिंगरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौं,’ स्थानीय श्यामबहादुर राईले भने।लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई अजिंगरले आक्रमण गरेपछि स्थानीय युवाले नियन्त्रणमा लिएका थिए।

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जंगलमा अजिंगर देखापरेको हो। केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिंगरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो।

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले दुवै अजिंगरलाई निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको जानकारी दिए। ‘अजिंगर स्थानीयले नियन्त्रणमा लिएका रहेछन्। त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौं,’ पौडेलले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =