संसदमा बोल्नलाई महिलाले पुरुषको जति समय पाउन सकेनन् : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले पुरुषसरह संसदमा महिलाले समय नपाएको गुनासो गरेकी छन् ।
शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले पार्टीका प्रमुख सचेतकहरूले महिला सांसदहरूको समय कम गरेर दिने गरेको भन्दै उनले यस कार्यमा पार्टीविरुद्ध आवाज उठाउन सक्नुपर्ने बताइन् ।
उनले संविधानले नै राज्यको हरेक तह र संरचनाहरूमा महिला सहभागिता सुनिश्चित गरेको भएपनि सो अनुसारको प्रभावकारी भूमिका नरहेको बताइन् । उनले कार्यकारी पदमा पुग्नलाई महिलाहरूलाई पनि धेरै बाधा रहेको बताउँदै कार्यकारी पदमा महिला सहभागिता सुनिश्चित गर्न अब कानुनी रूपमै व्यवस्था गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘संविधानले नै राज्यको हरेक तह र संरचनाहरूमा महिला सहभागिता सुनिश्चित गरेको छ । तर त्यसको भूमिका प्रभावकारी छैन । कार्यकारी पदमा पुग्नलाई महिलाहरूलाई पनि धेरै बाधा, अवरोध रहेका छन् । कार्यकारी पदमा महिला सहभागिता सुनिश्चित गर्न अब कानुनी रूपमै केही व्यवस्था गर्नुपर्छ । महिला सांसदहरूले आफ्नो भूमिका आफैँ खोज्नुपर्छ । आफैँले सिर्जना गर्नुपर्छ । संसदमा आफ्नो सक्रिय उपस्थिति देखाउन सभामुख, अध्यक्ष, सचेतकसँग समय मागेर नियमित रूपमा आकस्मिक र शून्य समयमा बोल्ने गर्नुस् । प्रमुख सचेतकले समय दिनुभएन भने आकस्मिक समय माग्नुस् । समय संसदमा पुरुष मान्यज्युहरुले धेरै पाइरहनुभएको छ, सत्यको अघि म स्टन लिने मान्छे हो डराउँदिन । प्रमुख सचेतकले समय परिवर्तन गरेर दिइरहेको हुन्छ, त्यो कुरामा पार्टीभित्र जुध्नुपर्छ । पार्टीमा कति समय, मौका, अवसर पाउनुभएको छ भनेर त्यसको विरोध तपाईँहरूले गर्नुपर्छ ।’
उपसभामुख रानाले शून्य समयमा बोल्न नपाए आकस्मिक समय लिएर बोल्न महिला सांसदहरूलाई आग्रह गरिन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =