निजामती सेवामा आकर्षण बढाउन सरकारले आकर्षक प्याकेज ल्याउनुपर्छ : अध्यक्ष रेग्मी
२०८० असार १२ गते

काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले निजामती सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरू ल्याउनुपर्ने बताएका छन् ।
मङ्गलवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकहरू निजामती सेवातर्फ किन आकर्षित भएनन् भन्ने विषयको खोजी हुनुपर्ने बताए । उनले अभिभवकहरुले आफ्ना सन्तानलाई अध्ययन गराउँदा नेपालका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन नसक्नु पनि निजामती सेवामा आकर्षण घट्नुको कारण हुनसक्ने बताए । उनले मुलुकको सामर्थ्यअनुसार अरू सेवा समूहलाई नियालेर आकर्षक प्याकेज ल्याउनुपर्ने बताए ।
उनले भने ‘मानिसहरू निजामती सेवातर्फ किन आकर्षित भएनन्, भन्ने विषयमा हाम्रो अभिभावकको पनि कमजोरी छ । आफ्ना छोराछोरीलाई भविष्यमा पढेर नेपालकै सेवा गर्नुपर्छ कतिको भन्छौँ ? कुनै विद्यालय वा कलेजमा यस्तो पढ्यो भने विदेशमा छिटै भिसा पाइन्छ भन्ने पो पढाएका छौँ की ? निजामती सेवाको आकर्षणका लागि नेपाल सरकारले आकर्षणका प्याकेजहरू के गर्नुपर्ने हो ? हाम्रो मुलुक सामर्थ्य अनुसार तुलनात्मक रूपमा अरू सेवा समूहमा कस्तो अवस्था छ ? यो सबै हिसाबले गर्नुपर्छ । निजामती सेवा ऐन बन्दा अब लोकसेवा आयोगले अहिलेसम्म अनुभव गरेको विषयमा सुझाव त दिन्छ नै । नेपालको सेवा गर्ने इच्छा नै छैन भने तिनीहरूलाई जतिसुकै आकर्षक पाठ्यक्रम राखेर पनि केही हुँदैन ।
उहाँले पेन्सन भएर पनि कर्मचारी बसिरहेको नयाँले काम पाउँथे की भन्ने विषय छ । त्यसरी कर्मचारीले २० वर्षमै पेन्सनमा जाने भए भने पेन्सनमा सरकारको दायित्व अत्यधिक बढी हुन्छ, अनुभवी कर्मचारी निजामती सेवामा नरहेर निजामती सेवालाई असर पुग्छ । प्रशासनिक सङ्घीयताको व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ।’
उनले निजामती कर्मचारीहरू २० वर्षमै पेन्सनमा जाने हो भने पेन्सनमा सरकारको दायित्व अत्यधिक बढ्ने र अनुभवी कर्मचारी निजामती सेवामा नहुने समस्याले निजामती सेवालाई नै असर पुग्ने स्थिति आउने बताए । उनले प्रशासनिक सङ्घीयताको व्यवस्थापन गर्न कठिनाइ भइरहेको बताए ।
२०८० असार १२ गते
प्रतिक्रिया
सम्बन्धित








