पशुपतिनाथबाट निकालिएको जलहरी रुद्रगारेश्वरमा, कसरी हुँदैछ सुरक्षा ?

काठमाडौँ । पशुपतिनाथ मन्दिरको गर्भगृह अर्थात् ज्योतिर्लिंगमा पुनः जलहरी राख्ने तयारी भएको छ । पशुपति क्षेत्र विकास कोषको कार्यालयका अनुसार बिहीबारसम्ममा सुनको जलहरी पुनः गर्भगृहमा राख्ने तयारी भइरहेको हो ।

जलहरी निकाल्ने बेलामै क्षमापूजा गरिसकिएकाले अब पुनःस्थापित गरिने छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले सुनको जलहरी निकालिए पनि नियमित पूजा आराधना सुरु भएको बताए । ‘गर्भगृहबाट जलहरी निकाल्ने र नापजाँच गर्ने बेलामा पूजा रोकिएको थियो । सोमबार बिहानदेखि नियमित पूजा सुचारु छ,’ उनले भने ।

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया टुङ्ग्याएपछि मात्रै जलहरीको विषयमा बोल्न मिल्ने बताए । उनले भने, ‘आयोगको प्रतिवेदन आएपछि यो विषय टुङ्गिन्छ । अहिले हामीले केही बोल्न मिल्दैन ।’

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गरेको परीक्षणमा जलहरीको तौल १०७ केजी ४६८ ग्राम पाइएको छ । पशुपति क्षेत्र विकास कोषले भने १०७ केजी ९२४.७५ ग्रामको जलहरी राख्ने निर्णय गरेको थियो । जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो ।

अख्तियारले सोमबार जलहरीको परीक्षण सकेको छ । यद्यपि अन्तिम प्रतिवेदन बनिसकेको छैन । अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धान कार्य चलिरहेकाले अन्तिम निष्कर्ष नआई केही नबोल्ने बताए । ‘के-के हुँदै छ, अनुसन्धान अधिकृतलाई मात्रै थाहा हुन्छ । अन्तिम निष्कर्ष आएपछि हामी भन्छौँ,’ उनले भने ।’

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, सुनचाँदी महासङ्घको विज्ञ टोली, खानी तथा भू-गर्भ विभागका प्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको निगरानीमा जलहरी नापतौल र परीक्षणपछि रुद्रगारेश्वरमा राखिएको छ । जलहरी राखिएको स्थानमा नेपाली सेनाले पहिलो घेरामा सुरक्षा प्रदान गरिरहेको छ । दोस्रो घेरामा सशस्त्र प्रहरी बलको टोली छ ।

नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले पनि सुरक्षा प्रदान गरिरहेका छन् । उक्त स्थानलाई सिसिटिभीबाट निगरानी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *