श्रममन्त्रीसँगै जेनेभा गएका ट्रेड युनियनका नेता उतै बसे

स्विजरल्याण्डको जेनेभामा आयोजित ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ मा सहभागी हुन मन्त्रीसँगै गएका ट्रेड युनियनका नेता उतै बसेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगै गएका मधेश ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य कुलबहादुर खड्का नेपाल नफर्किएका हुन्।

अन्तर्राष्ट्रिय श्रम सम्मेलन जेठ २२ देखि असार १ सम्म स्विजरल्याण्डको जेनेभामा सम्पन्न भएको थियो । सो सम्मेलनमा मन्त्री भण्डारीसँगै २४ जना नेपालबाट सहभागी थिए।

मन्त्रिपरिषद्ले नेपालको तर्फबाट श्रममन्त्रीको नेतृत्वमा सहभागी हुनेगरी सहसचिव डण्डुराज घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र ट्रेड युनियनको तर्फबाट विनोद श्रेष्ठको नाम मनोनयन गरेको थियो ।

तर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जेठ १० र १७ मा थप २० जनालाई सहभागी गराउने निर्णय गरेका थिए।

भ्रमण टोलीमा सहभागी २४ जनामध्ये कुलबहादुर खड्काको पनि नाम छ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल पनि सहभागी थिए ।

प्रतिनिधिसभाका पूर्व सदस्य निर्जला राउत सहित २४ जना मध्ये २३ जना सम्मेलन सकेर फर्के पनि खड्का फर्केनन्। भिसाको म्याद पनि सकिइसकेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले मन्त्रिपरिषद्ले ४ जनालाई जेनेभा जान स्वीकृति दिएको बताए । मन्त्री भण्डारीले भने चार जना बाहेक अरु आफ्नै ढंगले गएका त्यसबारे आफुलाई थाहा नभएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =