प्रतिनिधिसभामा उठ्यो भारतसँग सीमा जोडिएको दाङमा सीमा स्तम्भ हराएको विषय

काठमाडौँ । प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले बजेटलाई संशोधन गरेर पारित गर्नुपर्ने बताएका छन् ।
सोमवारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य गैरेले बजेट असन्तुलित र अव्यवहारिक रहेको बताए । उनले बजेट जनपक्षिय समेत नभएको भन्दै बजेटलाई जनपक्षिय, व्यवहारिक र सन्तुलित बनाएर पारित गर्नुपर्ने बताए ।
उनले भने ‘कम्तीमा यस पटकको सदनबाट दलहरू कमजोरी स्विकार्न तयार छन् । सरकार कमजोरी स्वीकार गर्न तयार छ भन्नेकुरालाई आत्मसात् गर्दै यो बजेटलाई संशोधन गरेर जनपक्षिय, व्यवहारिक र सन्तुलित बनाएर पास गर्न यो सदन एकताबद्ध भएर प्रस्तुत हुन जरुरी छ । जसले देशलाई सकारात्मक सन्देश दिन्छ ।’
प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले कास्कीको फेवाताल संरक्षण गर्न र बाराही मन्दिर पुनः निर्माण गर्न माग गरे । उनले अन्नपूर्ण पर्यटन क्षेत्रको संरक्षण, विकास र पैदल मार्गको व्यवस्था गर्न माग गरे । त्यस्तै माछापुच्छ्रे पैदल मार्गको लागि व्यवस्था गर्न र घोडेपानी, टाडापानी पर्यटन क्षेत्र विकासका लागि ध्यान दिन पनि सरकारसँग माग गरे ।
प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसदमा गराउन माग गरे ।
उनले भने ‘पशुपतिनाथ मन्दिर परिसरको गर्भगृहमा रहेको जलहरीको बारेमा यो सदनमा निकै चर्चा भयो । आजपनि देशका प्रमुख मिडियाहरूमा यो बारेमा प्रश्न उठेको छ । म के भन्न चाहन्छु भनेदेखि भएको के हो त्यहाँ ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुनको खोजी गरेर तौलिँदै हुनुहुन्छ भन्ने हामी सुनेका छौँ । कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । यो सदनमा सत्यतथ्य जानकारी गराउनको निम्ति सम्बन्धित निकायलाई अनुरोध गर्न चाहन्छु ।’
प्रतिनिधि सभा सदस्य नारायणी शर्माले भारतसँग सीमा जोडिएको दाङ जिल्लामा विभिन्न स्थानमा सीमा स्तम्भ नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । कतिपय स्थानमा सीमा स्तम्भ बाढीले बगाएको र कतिपय स्थानमा जीर्ण भएको भन्दै सीमा स्तम्भलाई व्यवस्थित बनाउन माग गरे ।
उनले भने ‘भारतसँग जोडिएको सीमा दाङको गढवा गाउँपालिका वडा नं. ८ खबरी नाकामा रहेको ४८ नम्बरको सीमा स्तम्भ खबरी खोलाले बगाएको वर्षौं भएको छ । पुनः स्थापना अहिलेसम्म भएको छैन । त्यसैगरी दाङको राजपुर गाउँपालिका वडा नं. ७ भौवानाका स्थानीय नाकावासीहरूले सिमलको बोटलाई सीमा मानी त्यही आधारस्तम्भ मानेर अहिलेसम्म सीमाको रूपमा बुझिराखेका छन् । र नेपाल भारत सीमा छुटाउँदै आएका छन् । दाङको सीमा स्तम्भहरू निकै जीर्ण अवस्थामा छन् । ३७ वटा मुख्य सीमा र ४० वटा सहायक स्तम्भ छन् । मर्मत सम्भारका लागि केही पहल भएको छैन । सीमा स्तम्भ दिन प्रतिदिन जीर्ण बन्दै गएका छन् । सीमा स्तम्भलाई व्यवस्थित र पूर्ण बनाउनको निम्ति नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’
प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले पशुपतिमा रहेको सुनको जलहरीको विषय छानबिनका लागि संसदीय समिति बनाउन माग गरे ।
उनले भने ‘केही दिन अगाडी यही सदनमा एकजना माननीयज्यूले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी सम्बन्धमा कुरा उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो । मेरो बिचारमा यसबाट सांसदले त्यस विषयलाई ढाकछोप गर्न खोजेको सन्देश गएको छ । भ्रष्टाचार कहीँ पनि हुनु हुँदैन । धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिदा संसार सामु हाम्रो शिर निहुरिएको छ । यसले केही प्रश्नहरू उठाएका छन् । यस्ता विषयमा तत्कालीन सरकारले गरेजस्तै गरी अब निर्णय गर्न पाइने कि नपाइने ? उजुर परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ । महालेखाको प्रतिवेदनमा प्रस्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन ग¥यो ? यसको निर्णय प्रक्रिया र कार्यान्वयनको सन्दर्भमा थुप्रै विषयहरू जोडिएका छन् र ती व्यापक रूपमा टीकाटिप्पणीका विषय बनेका छन् । यो गम्भीर विषय छानबिनका निम्ति सदनले एउटा समिति बनाओस् । यसको पूर्ण र निष्पक्ष छानबिन हुने स्थिति निर्माण होस् ।’
उनले उजुरी परेको दुई वर्षपछि अख्तियारले छानबिन गरेको भन्दै अख्तियारको कार्यशैलीप्रति प्रश्न पनि उठाए ।








