मदन भण्डारीको जन्मजयन्तीमा सप्ताहव्यापी खेलकुदसँगै बौद्धिक बहस हुने

काठमाडौँ । दिवंगत नेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा देशभर खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल खेलकुद महासंघ (नेकोस)ले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा साप्ताहिक खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । महासंघ केन्द्रीय समितिको बैठकले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा सात दिनसम्म खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको हो । मदन भण्डारीको सम्झनामा हुन लागेको साप्ताहिक देशव्यापी खेलकुद प्रतियोगितामा विभिन्न खेलहरू खेलाइने आयोजक नेपाल खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । अहिले प्रचलनमा रहेको सानादेखि राष्ट्रिय स्तरको सबै खालका खेलकुद प्रतियोगिता हुने बस्नेतले बताए ।

भलिबल, फुटबल, ब्याडमिन्टन, दौड, डोरीतान, वक्तृत्वकला, बास्केटबल, कबड्डी लगायतका सबैखाले खेलकुद आयोजना गर्ने निर्णय भएको बस्नेतले बताए । प्रतिनिधिसभा, राष्ट्रियसभा, संविधानसभा सदस्यहरू, वर्तमान र पूर्वसदस्यहरूको बीचमा ब्याडमिन्टन खेल प्रतिस्पर्धा हुने समेत जनाइएको छ । आगामी असार १४ गते मदन भण्डारीको जन्मजयन्ती मनाइँदै छ । मदन भण्डारीको जन्म वि.सं. २००९ साल १४ असारमा ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जनताको बहुदलीय जनवादले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई संस्थागत गरी प्राथमिकतामा राखेको छ ।

तत्कालीन नेकपा ९एमाले० का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३ जेठ २०५० मा दासढुंगामा निधन भएको थियो । जिप दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । उक्त घटनालाई लिएर विभिन्न टीकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन । जन्म जयन्तीकै अवसरमा कोशी र बागमती प्रदेशमा बौद्धिक बहसको समेत आयोजना गर्ने तयारी महासंघको छ।

‘हामी मदन भण्डारीको जन्मजयन्तीलाई रचनात्मक बनाउँदै छौँ,’ उनले भने, ‘बौद्धिक बहससँगै मदनको योगदानको चर्चा हुनेछ । बौद्धिक बहसले पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा रहेको जनताको बहुदलीय जनवादलाई नेतादेखि कार्यकर्तासम्म बहस गर्दै प्रशिक्षणको माध्यामबाट अघि बढ्ने तयारी रहेको छ ।’

मदन भण्डारीको जन्मजयन्तीलाई भव्य बनाउँदै जनताको जनवादमाथिको विचार प्रवाहलाई कार्यकर्तासम्म बलियो बनाउने अवसरको रूपमा लिनु पर्ने उनले बताए । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रूपमा लागू गर्दै आएको छ ।

असार १२ र १३ गते कोशी प्रदेश १४, १५ बागमती प्रदेशमा विभिन्न ८ वटा विषयमा मदनलाई स्मरण गर्ने र नेताकार्यकर्ताहरू प्रशिक्षण गर्ने बस्नेतले जानकारी दिए । भण्डारीको जन्मजयन्तीको अवसरमा भण्डारीका सङ्कलित रचनाहरू, छानिएका रचनाहरू, सेलेक्टेड वर्क्स, तथा जीवनी र व्यक्तित्व जस्ता कृतिहरूको समेत चर्चा र वितरण गर्ने महासंघको तयारी छ ।

साप्ताहिक कार्यक्रममा सरसफाई, सामाजिक तथा स्वयंसेवी कार्यक्रम लगायत रचनात्मक कार्य गर्ने तयारी रहेको बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *