गोलभेँडालगायत कृषि उपजकाे उचित मूल्य निर्धारण गर्नुपर्छ : महेश बर्तौला

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेँडालगायतका कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कालीमाटी बजारमा गोलभेँडाको उचित मूल्य नपाउँदाखेरि किसानहरूले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको दृष्टान्त पेस गर्दै ती सबै कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
सचेतक बर्तौलाले किसानहरूलाई आफ्ना अनाजहरूको क्षतिपूर्ति हुने गरी आवश्यक अनुदानको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।
सचेतक बर्तौैलाले मूल्य नपाएर किसानहरूले आफ्नो उत्पादन सडकमा फ्याँक्नुपर्ने अवस्था आउन नदिने गरी सरकारले सो समस्याको दिगो समाधान गर्नुपर्ने समेत बताए ।
यस्ताे छ उनकाे धारणा
‘हाम्रो देश नेपाल कृषि प्रदान देश हो । हामी बैठकमा सहभागी भइरहेको बेलामा यति नै खेर सयौँ किसानहरू काठमाडौँको कालीमाटीमा उपस्थित भएर उहाँहरूले आफूले उत्पादन गरेको हजारौँ केजी टमाटरलगायत कृषि उत्पादनहरू कालीमाटी चोकमा सडकमा फ्याँकेर उहाँहरू आन्दोलन गरिरहनु भएको छ । उहाँहरूले निकै धेरै मात्रामा नेपाली किसानहरूले तरकारी उत्पादन गरिरहनु भएको छ । गोलभेँडा उत्पादन गरिरहनु भएको छ । तर आफूले उत्पादन गरेको तरकारी आफूले उत्पादन गरेको मूल्य उहाँहरूले पाउन सक्नु भएको छैन । उहाँहरूको प्रतिकेजी उत्पादन लागत नै करिब २०/२५ रुपैयाँ पर्छ । तर उहाँहरूले मूल्य पाउँदाखेरी आज ४/५ रुपैयाँ पाउन पनि गाह्रो छ । किसानहरूको ढुवानीको लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने जरुरी देखिन्छ । त्यति मात्रै होइन । किसानहरूको उत्पादन लागत बराबर बजार नपाउँदा, बजारको सुनिश्चितता नहुँदा सरकारले बजारको सुनिश्चितताको दायित्व लिनुपर्छ । मूल्य प्राप्तता नगर्दाखेरि कम्तीमा पनि समर्थन मूल्य बराबर क्षतिपूर्तिको सुनिश्चितता सरकारले गर्नु पर्छ । तबमात्र नेपाली किसानहरूलाई कृषि उत्पादन गर भनेर प्रोत्साहित गरिरहँदाखेरी राज्यले अप्ठ्यारो पर्दा, समस्यामा पर्दा राज्य तिम्रो अभिभावक बन्छ, बन्नेछ भन्ने सुनिश्चितता त्यो राज्यले देखाउनु पर्छ । त्यसकारण जसरी किसानहरूले उत्पादन गरेको आज बन्दहरू, गोभीहरू बारीमा बजार नपाएर, मूल्य नपाएर सुकेर बसेको छ । दूध किसानहरूले मूल्य नपाएर सडकमा पोख्नु परेको छ । गोलभेँडा आज मूल्य नपाएर सडकमा यसरी फ्याँक्नु परेको छ । म नेपाल सरकारलाई कृषि मन्त्रीज्यूलाई सम्माननीय सभामुख महोदयमार्फत म आग्रह गर्न चाहन्छु–ध्यानाकर्षण गराउन चाहन्छु कि किसानहरूका यी तमाम समस्याहरूलाई दिगो रूपमा समाधान गर्नका लागि क्षतिपूर्तिको व्यवस्था गरियोस् । आवश्यक अनुदानहरूको व्यवस्था गरियोस् ।  म यो माग गर्न चाहन्छु, ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *