गएरातिको बाढी–पहिरोबाट भएको क्षतिबारे जानकारी दिन सांसद भट्टराईकाे माग

काठमाडौँ ।नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सङ्खुवासभा, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाहरूमा बर्सातसँगै गएराति आएको बाढी र पहिरोबाट भएको क्षतिबारे सांसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
सङ्खुवासभा, ताप्लेजुङलगायतका जिल्लाहरूमा बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै सचिव भट्टराईले सो घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सांसदलाई जानकारी गराउनुपर्ने बताएका हुन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सो घटनाका पीडितलाई राहत र उद्धार कार्यमा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए । सचिव भट्टराईले सो घटनाका कारण क्षतिग्रस्त पुल, सडक सुचारु हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए ।
उनले भने ‘म सभामुख महोदयमार्फत नेपाल सरकारको यस विषयमा गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु । विशेष गरी यो स्थितिको सम्पूर्ण जानकारी यो सम्मानित सदनमा सरकारको तर्फबाट सांसदलाई जानकारी होस भनेर म माग गर्न चाहन्छु । यो विपदसँग सम्बन्धित भएको हुनाले गृहमन्त्रीजीले यसको सम्पूर्ण अवस्थाको जानकारी यो सदनमा गराउनु पर्छ भन्ने म सभामुख महोदयमार्फत गृहमन्त्रीजीको म ध्यानाकर्षण गर्न चाहन्छु । त्यसैगरी पुल, सडकहरू क्षति पुगेका छन् । त्यसको तत्कालको अवस्था के छ ? भौतिक पूर्वाधार मन्त्रीजीले यस विषयमा सदनमा जानकारी दिन सभामुख महोदयमार्फत माग गर्न चाहन्छु । र, तत्कालै बेलिब्रिजहरुको व्यवस्था गरिकन, झोलुङ्गे पुलहरूको व्यवस्था गरिकन आवागमनलाई सहज बनाउनका लागि पनि म सभामुख महोदयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । भत्किएका सडकहरूलाई तत्काल सुचारु गर्नुपर्ने अवस्था छ । त्यसको पनि म ध्यानाकर्षण गराउन चाहन्छु । र पीडितहरूलाई आवास र खाद्यान्नको सङ्कट छ । त्यसैले आवश्यक र खाद्यान्नको तत्काल व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । विपद्को क्षेत्रमा काम गर्ने रेडक्रससहितका अन्तर्राष्ट्रिय सङ्घ, संस्थाहरूलाई पीडितहरूलाई राहत उपलब्ध गराउनका लागि आग्रह गर्न चाहन्छु ।’
सचिव भट्टराईको पीडितहरूको राहत र उद्धार कार्यक्रममा जुट्न रेडक्रसलगायतका अन्तर्राष्ट्रिय सङ्घ, संस्थाहरूलाई आग्रह गरे ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *