टिप्पणी

कसले किन्ने घरजग्गा, गाडी र सेयर ?

केही दिनअघि सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्‍यो । कित्ताकाट फुकुवा गर्नेबित्तिकै जग्गाको कारोबार बढ्ने विश्वास सरकारको थियो । दुई वर्षअघि मालपोत कार्यालयमा जग्गाको किनबेचका कारण खुट्टा टेक्ने ठाउँ हुँदैन थियो ।

तर, अहिले यसको ठिक विपरीत भएको छ । कुनै बेला खुट्टा टेक्ने ठाउँ नपाउने मालपोत कार्यालय अहिले सुनसान देखिन्छ । यसरी मालपोत कार्यालय सुनसान हुनुको कारण पनि हामी सबैलाई थाहै छ । पछिल्लो समय बजारमा घरजग्गाको कारोबार ठप्प छ । घरजग्गा बेच्न चाहने त धेरै छन् तर किन्ने शून्यझैँ छ । मानिससँग पैसा नभएकाले पनि घरजग्गाको कारोबारमा मन्दी आएको सजिलै अनुमान लगाउन सकिन्छ । सुनिन्छ, तीन वर्षअघि आनाको ८० लाखमा किनेको जग्गा अहिले त्योभन्दा कममा पनि बिक्री हुँदैन ।

घरजग्गाको कारोबारमा पूरै मन्दी आउँदा पनि सरकारको यसतर्फ ध्यान गएको देखिँदैन । यी क्षेत्रमा लगानी गरेका अधिकांश मानिसहरू लगानी डुबेपछि मर्नु न बाँच्नु अवस्थामा पुगेका छन् । बैङ्क तथा वित्तीय संस्थालाई पनि यसको असर परेको देखिन्छ । हुन त यिनीहरूले हामी अहिले बचतकर्ताको रकम सुरक्षित रहेको दाबी गर्दै आइरहेका छन् । तर, सम्पूर्ण लगानी घरजग्गा, गाडी र सेयरमै भएका कारण यी सङ्घसंस्था कतिखेर भाग्छन् भनेर भन्न सकिँदैन ।

नेपालका नाम चलेका १९ वटा बैङ्क डुब्ने अवस्थामा पुगेको भनेर अहिले बजारमा व्यापक चर्चा छ । कोही व्यक्तिलाई सहकारी सङ्घसंस्था किन भागेको भनेर प्रश्न सोध्न नपाई घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा भागेको जवाफ आइहाल्छ । ३५ हजार बढी सहकारीमा करोडौँ बचतकर्ताले खरबौँ रकम जम्मा गरेका थिए । तर, त्यो रकम आज बालुवामा पानी हाल्या बराबरको भएको छ । र, बैङ्कमा बचत गरेका बचतकर्ताको पनि यहीँ हालत हुने सङ्केत अहिले देखिएको छ । पछिल्लो समय बैङ्कमा पैसा राख्नेभन्दा बढी निकाल्नेको लाम छ । तर, लाख रुपैयाँको चेक लिएर गएमा पाँच हजार रुपैयाँ लिएर जानुस् भनिन्छ । अहिले बैङ्कका बचतकर्तालाई पनि सहकारीका बचतकर्ताझैँ न रातमा निन्द्रा न दिनमा भोक लाग्छ ।

बैङ्कमा आफ्नो घरजग्गा, गाडी र सेयर धितो राखेर ऋण लिएका ऋणीहरूले अहिले साँवा ब्याज तिर्न नसक्ने भन्दै धितो नै लिलाम गर्न आग्रह गरिरहेका छन् । तर, ऋणीबाट लिलाम गरेको घरजग्गा, गाडी र सेयर बैङ्कले बिक्री गर्न सकिरहेको छैन । त्यसैले, अहिले बैङ्कको लगानी डुब्ने अवस्थामा पुगेको छ । हुन त यिनीहरूले पनि हिजो ब्याजको लोभमा घरजग्गा, गाडी र सेयरलाई ठूलो कर्जा प्रवाह गरेका थिए । तर, अहिले ब्याजको त कुरै छोडौँ, साँवा नै नउठ्ने भएको छ ।

बैङ्कबाट ऋण लिएर व्यापार व्यवसाय सञ्चालन गर्नेहरू दुई वर्षदेखि ऋणको साँवा ब्याज तिरेका छैनन् । साथै, अहिले पनि ऋण तिर्न नपरोस् भनेर राजनीतिक दलका नेता कहाँ चाकरी गरिरहेका छन् । अहिले बैङ्कले सेयर होल्डरहरूलाई बोनस दिन सकेको छ । कर्मचारीलाई तलब दिएको छैन त घरधनीलाई भाडा । यसरी तलब नपाएपछि बैङ्कका कर्मचारी भटाभट जागिर छोडिरहेका छन् । उता सेयर होल्डरहरूले पनि सेयर बेच्न सूचना जारी गरिसकेका छन् ।

जुनसुकै बैङ्कका सेयर होल्डरहरू अहिले सेयर बेच्न खोजिरहेका छन् । तर, किन्ने मान्छे नभेट्दा उनीहरू तनावमा छन् । सर्वसाधारण र सरकारले बैङ्क यस्तो अवस्थामा पुग्छ भनेर सपनामासमेत कल्पना गरेका थिएनन् । केही वर्षअघिदेखि मुलुकमा बर्खामा च्याउ उम्रिएझैँ बैङ्क तथा वित्तीय संस्था पनि धमाधम दर्ता हुन थाले । मानौँ, कुनै प्रतियोगिता भएझैँ यी सङ्घसंस्थाले बढी ब्याजको प्रलोभन देखाएर आफ्नो सङ्घसंस्थामा बचतकर्तालाई बचत गर्न लगाए ।

तर, बचतकर्तालाई बढी ब्याज दिनुपर्ने भएपछि यिनीहरूले जोखिमपूर्ण क्षेत्र (घरजग्गा, गाडी र सेयरलगायत) मा आफ्ना सम्पूर्ण कर्जा लगानी गरे । सुरुसुरुमा त नाफा पनि भयो । भ्रष्टाचार पनि गरियो । तर, जब यी क्षेत्रमा मन्दी छायो, तब यिनीहरू रातारात भाग्न अवस्थामा पुगे । हाम्रो मुलुकमा धेरै कलकारखाना र उद्योग छैन । भएका पनि सबै भारतीय वा अन्य विदेशी नागरिकले चलाएका छन् । बैङ्क तथा वित्तीय संस्थाले कहिल्यै कृषि क्षेत्रमा लगानी गरेन । उनीहरू छिटो नाफा कमाउने लोभमा घरजग्गा, गाडी र सेयरतिर लागे ।

यसले गर्दा अहिले मुलुकका कृषकहरू विदेश पलायन हुन पर्‍यो त घरजग्गा, गाडी र सेयरमा गरेको लगानी गर्दा बैङ्क तथा वित्तीय संस्था भाग्नुपर्ने भयो । सँगै देशको अर्थतन्त्र समेत नाजुक अवस्थामा पुग्यो । अहिले पनि बैङ्क तथा वित्तीय संस्थाहरू आफूहरू ठिकठाक रहेको देखाइरहेका छन् । तर, सरकारले पाँच हजार मूल्य निर्धारण गरेको एक आना खेतीयोग्य जमिन जग्गा दलालीले खण्डीकरण गरेर आनाकै लाखदेखि करोड मूल्यमा बेचे ।

भारतले पाँच सय किलोमा बिक्री नहुने फलामको सवारीसाधन बनाएर नेपाललाई लाखौँ रुपैयाँमा बेच्यो त बैङ्कले सय रुपैयाँमा निष्कासन गरेको सेयर दलालीद्वारा ३२ सय रुपैयाँमा बेचियो । अहिले यी वस्तु पहिला कै मूल्यमा आउने भएको छ । अनि कसरी बैङ्क तथा वित्तीय संस्था ठिकठाक हुन सक्छन् । बचतकर्ताले आफ्नो सम्पूर्ण रकम निकाल्ने डरले बैङ्कले अहिले पनि ढाँटिरहेको छ । तर, कतिन्जेल ढाँटिरहने ? अहिले बैङ्कप्रति जनताको विश्वास खस्किँदै गएको छ ।

अब झन् यस्तै भइरहने हो भने जनताले बैङ्क तथा वित्तीय संस्थामाथि कहिल्यै विश्वास गर्ने छैनन् । तीन वर्षअघि दुई करोड मूल्य पर्ने घडेरी धितो राखेर बैङ्कले एक करोड कर्जा प्रवाह गर्‍यो । त्यसमा १० लाख घुस, २ प्रतिशत सेवा शुल्क र १६ देखि ४८ प्रतिशतसम्म ब्याज लियो । अहिले बैङ्कबाट एक करोड लिएको ऋण डेढ करोड पुगेको छ । तर, धितो लाख मूल्यमा झरेको छ । भनिन्छ, घरजग्गाको मूल्य सात दशकअघिकोमा पुग्यो । मानिसहरूले भाडाको लोभमा बैङ्कबाट ऋण लिएर घडेरी किने । तर, बैङ्कको ऋण तिर्न नसक्दा घर त गयो नै सँगै कालोसूचीमा पनि परियो । पहिला पहिला बैङ्कहरू एकको घरजग्गा, गाडी र सेयर लिलाम गर्नेबित्तिकै अर्कालाई बेचिहाल्थ्यो । अहिले यी क्षेत्रमा लगानी गर्न चाहने कोही छैन ।

जसले गर्दा बैङ्कको सम्पूर्ण लगानी डुब्ने अवस्थामा पुगेको हो । ५६ लाखबढी सेयर लगानीकर्ताको अहिले रुवाबासी छ । लगानी डुबेपछि उनीहरू करोडपतिबाट सडकपति भएका छन् । घरजग्गा र गाडीमा लगानी गर्नेहरू पनि यहीँ हालत छ । अहिले प्रायजसो अधिकांश व्यवसायी डुबेका छन् । नडुबेको भन्ने यहाँ कोही भेटिँदैन । पछिल्लो समय बजारमा मूल्य बढेको भनेकै खाद्यान्नको हो । नभए अन्य सबै क्षेत्रमा मन्दी छ । केही वर्ष अघिसम्म घरजग्गा, गाडी र सेयर व्यापारीलाई हेर्ने दृष्टिकोण नै निकै फरक थियो । उनीहरूले ऋण चाहियो भन्नेबित्तिकै बैङ्कदेखि व्यक्ति समेत तयार हुन्थे । तर, अहिले डुबेको थाहा पाएपछि कोही पनि उनीहरूलाई ऋण तिर्न तयार छैनन् ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क र सहकारी विभागले पहिल्यै घरजग्गा, गाडी र सेयरमा लगानी नगर्नु भनी यी क्षेत्रमा प्रतिबन्ध लगाएको भए आज यो अवस्था शायद आउँदैन थियो । सरकारले बजार र मुलुकको अर्थतन्त्र चलाउनु पर्ने हो । यहाँ त बजारदेखि मुलुकसम्मकै अर्थतन्त्र घरजग्गा, गाडी र सेयर दलालीले चलाउँदै आएका थिए । यसरी अर्थतन्त्र चलाउने दलालीहरूकै भागाभाग चलेपछि बजारमा घरजग्गा, गाडी र सेयरको किनबेच ठप्प भयो ।

दलालीहरू डुबेर भागेपछि होटल, रेस्टुरेष्ट तथा खाजा घरले पनि ठूलो नोक्सान व्यहोर्नुपरेको छ । किनकि दिनहुँ जसो हजारौँ रुपैयाँको खाजा नास्ता गर्ने दलालीहरू भागेपछि यिनीहरूलाई पनि नोक्सान हुनु स्वाभाविक नै हो । मुलुकका ९९ प्रतिशत व्यक्तिहरूको घरजग्गा, गाडी र सेयर बैङ्क तथा वित्तीय संस्थाको नाममा छ । यी व्यक्तिहरू बैङ्कको तिर्न नसक्ने अवस्थामा पुगेका छन् । किन कि घरजग्गा बेच्यौँ त किन्ने कोही राखौँ त बैङ्कको ऋण तिर्ने पैसा छैन । त्यसैले, यिनीहरू अहिले घरजग्गा, गाडी र सेयर निल्नु कि ओकल्नु भएको छ । बुढोपाकाले भन्थे, ‘घाँटी हेरेर मात्र खानेकुरा निल्नु वा हाल्नु ।’ अहिले घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेहरू सरकारका कारण आफूहरू डुबेको बताउँछन् ।

तर, मुलुकमा भएको नीति नियम पालना नगरी मनोमानी रूपले जथाभाबी गर्नु भनेर हिजो सरकारले उनीहरूलाई भनेको थियो र आज सरकारमाथि सबै दोष लगाउन ? पछिल्लो समय व्यापार व्यवसायमा पूरै मन्दी छ । दिनभरमा कहिल्यै त बहनी समेत नहुने व्यापारीहरू बताउँछन् । यसैगरी, मुलुकभरका करिब ६० प्रतिशत बढी सटर, कोठा, फल्याट खाली छन् । अहिले मानिससँग दुई छाक खाना खाने पैसा छैन । अनि घरजग्गा, गाडी र सेयर कसले किन्छ ? भन्नुस् अब बैङ्क तथा वित्तीय संस्था डुब्छन् कि डुब्दैनन् ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *