वर्गीय, क्षेत्रीय र लिङ्गीय उत्पीडन अन्त्य हुनेगरी बजेट आउनुपर्छ : देवेन्द्र पौडेल
२०८० असार १ गते

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले वर्गीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद पौडेलले बजेट सबै क्षेत्रमा समान रूपमा आउनुपर्ने बताएका हुन् ।
उनले आफूहरू वर्गीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना गर्नुपर्ने पक्षमा रहेको भन्दै त्यस्ता उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताए । मन्त्रीले दुई, चारवटा बजेट हाल्नु स्वाभाविक भएपनि देख्न र हेर्नै नसक्ने गरी एक क्षेत्रमा मात्रै बजेट हाल्नु नहुने उनले बताए ।
बजेटले कुनैपनि क्षेत्रका जनतालाई अन्याय गर्नु नहुने बताए । उनले पुरानो व्यवस्था नफर्किने भन्दै अहिलेको प्रणालीलाई आक्रमण नगर्न आग्रह गरे । वर्तमान राज्यप्रणालीमाथि आक्रमण गर्नु संविधान विपरीत हुने उनले बताए ।
उनले भने, ‘असफल भइसकेको, बगी सकेको खोला फर्किन्न भनेजस्तै । पड्किइसकेको गोली फर्किन्न भनेजस्तै त्यही प्रणाली फर्काउने र त्यतैपट्टी केन्द्रित भएर अहिलेको प्रणालीलाई हामीले आक्रमण गर्ने काम नगरौँ । संविधान विपरीत हुन्छ । यो बिन्दुबाट समाजवादी प्रणाली निर्माण गर्नको निम्ति अगाडी बढ्नु अबको आवश्यकता हो । यो जनताले ल्याएको व्यवस्था हो ।
त्यसकारण अगाडी बढ्नुको विकल्प छैन । अगाडी बढ्न त्यस प्रकारका रचनात्मक छलफल र बहसको खोजी गरेर अगाडि बढौँ । वर्गीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना भनेका छौँ । अनि एउटै क्षेत्रमा बजेट हाल्ने । मन्त्री भइसकेपछि दुई, चारवटा बजेट हाल्नुभएकोमा तपाईँलाई जनताले भन्छन् स्वागतयोग्य कुरा हो । तर देख्नै नसकिने गरी नगरिदिनु होला । त्यसो गरे क्षेत्रीय रूपमा उत्पीडनमा परेका भूगोल, उत्पीडनमा परेका ठाउँहरू अन्यायमा पर्छ । अन्याय नसहने भनेर यो संविधान बनाएको हो नि । फेरी यो प्रणालीमा आएर पनि कुनै क्षेत्रका जनतालाई अन्याय गर्यौँ भने त राम्रो हुँदैन नि ।’
उनले स्थानीय, प्रदेश र सङ्घ सरकारका बिचमा नीति, कार्यक्रम र बजेटको सन्दर्भमा तादाम्यता नमिलेको पनि बताए ।
२०८० असार १ गते
प्रतिक्रिया
सम्बन्धित








