नक्कली शरणार्थी प्रकरणका १८ प्रतिवादीको थुनछेक बहस सकियो, शुक्रबार आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणका १८ प्रतिवादीको थुनछेक बहस सकिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बहस सकिएसँगै अब शुक्रबार सरकारी वकिलको जवाफी बहस हुनेछ।
जिल्ला न्यायाधीश न्यौपानेले सरकारी वकिललाई २ बजेसम्म जवाफी बहस सकाउन भनेका छन्।
आज अन्तिम दिन चार प्रतिवादीहरू आङटावा शेर्पा, टेकनाथ रिजाल, लक्ष्मी र हरिभक्त महर्जनका वकिलले बहस गरेका थिए।
यस प्रकरणमा पक्राउ परेका १८ जनाकै बहस सकिएको हो।
सरकारी वकिलको जवाफी बहसपछि उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा छोड्ने भन्ने आदेश हुनेछ।
सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। १२ जना अझै फरार छन्।
प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरेको थियो।








