वानएक्स बेटको प्रचार बापत ४० लाखसम्म लिन्थे कलाकार र युट्युबरले

वानएक्स बेटको प्रचार गरेबापत पक्राउ परेका कलाकारहरूले ४० लाखसम्म लिएको प्रहरीको दाबी छ।

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ जना कलाकारलाई पक्राउ गरेको हो। जसले प्रतिबन्धित वानएक्स बेटिङ गर्न प्रचार गरेको र त्यसबापत रकम लिएको खुलेको कार्यालय प्रमुख एसएसपी मनोजकुमार केसीले बताए।

उनीहरुले प्रचार गरेको सामाग्रीको भ्युजका आधारमा न्युनतम ८ लाखदेखि ४० लाख रुपैयाँसम्म लिने गरेको खुलेको छ। उनीहरुलाई स्थानीय एजेन्टदेखि सिधै वान एक्सबाट समेत रकम आएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

कलाकारको लोकप्रियता र युट्युवको भ्युज हेरेर उनीहरुले प्रचार गर्ने गरेको पाइएको छ।

प्रहरीले बेटिङको प्रचार गरेको आरोपमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्य कलाकार ‘बल्छी ध्रुबे’ मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय ‘म्याकुरी’ पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने ‘राजुमास्टर’ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर एलिश राईलाई पक्राउ गरेको छ।

त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर, मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा ‘जिडी’, मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे ‘ढेडु बुढो’ र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली पनि पक्राउ परेका छन्।

उनीहरूलाई आइतबारसम्म हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।

बुधबारमात्रै कार्यालयले पाँच जना एजेन्टहरूलाई पक्राउ गरेको थियो। एजेन्ट बनेर वानएक्स बेटिङ गराएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पाँच जनाले मात्रै ७४ करोड बढीको कारोबार गरेको अनुसन्धानबाट खुलेको हो।

उनीहरुविरुद्ध जुवा खेल्न र खेलाउन नहुने कसुर, राष्ट्र बैंक ऐन, सम्पत्ति शुद्धीकरण लगायतका कसुरमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =