पोखरेली घरभेटीलाई ५० प्रतिशत घरभाडा घटाउन सार्वजनिक आह्वान

पोखरा । पोखराका घरबेटीलाई अहिले लिँदै आएको घरभाडा मध्ये ५० प्रतिशत घटाउन आह्वान गरिएको छ । घरभाडा सरोकार समितिले घरधनीहरूसँग घरभाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको हो ।

आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण अर्थतन्त्र संकटमा परेको र यस्तो समयमा भाडा तिर्ने पैसा नभएकोले भाडा घटाउन आग्रह गरिएको हो । ‘आर्थिक मन्दी छ । बैंकले ब्याज लिन छोडेको छैन । व्यापार चौपट भएको बेलामा कहाँबाट ल्याएर भाडा तिर्ने ?,’ समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले भने, ‘यस्तो बेलामा कोही पनि मर्नु हुँदैन । घरबेटीलाई पनि घाटा नहुने र भाडामा बस्नेले पनि दुख नपाउने गरी निकास खोज्नुपर्छ ।’

आर्थिक मन्दीकै कारण अहिले धमाधम सटरहरू खाली हुन थालेको भन्दै खाली सटर राख्नुभन्दा कम भाडामा दिँदा उपयुक्त हुने समितिले जनाएको छ । घरभाडा नघटे ५० प्रतिशत व्यवसायीले व्यवसाय छोडेर पलायन हुने अवस्था आएको न्यौपानेको भनाई छ ।

समितिले घरभाडा समयमै नतिरेको भएपनि अहिलेको परिस्थितिलाई बुझेर व्यवसायीलाई घर खाली गर्न बाध्य नपार्न आग्रह गरेको छ । यसअघि सिटी रेवानले पनि घरभाडा घटाउन आह्वान सहितको विज्ञप्ति निकालेको थियो । तर घरधनीहरू भने बैंकबाट ऋण लिएर घर बनाएकोले घटाउन सक्ने अवस्थामा नरहेको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *