मृत घोषणा गरेकी महिलाले अन्तिम संस्कारमा सास फेरेपछि…

काठमाडौँ । ल्याटिन अमेरिकी देश एक्वडोरमा एक वृद्ध महिलाले आफ्नो अन्तिम संस्कारका बेला सास फेर्दै गरेको देखेर मानिसहरू अक्क न बक्क भएका विवरण आएको छ ।

सम्भावित हृदयाघातका कारण ७६ वर्षे बेला मोन्टोयाको मृत्यु भएको अस्पतालले गत साता घोषणा गरेको थियो । चिहानमा गाड्नु अघि आफन्तहरूले लुगा फेर्ने तयारी गरिरहँदा उनले सास फेरिरहेको देखेका हुन् । मोन्टोयाको अहिले अस्पतालको अति सघन कक्षमा उपचार भइरहेको छ ।

एक्वडोरको स्वास्थ्य मन्त्रालयले घटनाबारे अनुसन्धान गर्नका लागि एउटा छानबिन समिति गठन गरेको छ । मन्त्रालयले एउटा विज्ञप्तिमा जनाएअनुसार ती वृद्धालाई ‘कार्डिओरेस्पिरेटरी अरेस्ट’ भएको थियो । त्यस्तो भएपश्चात्‌ कृत्रिम सास दिँदा उनले कुनै प्रतिक्रिया जनाइनन् । त्यति बेला काममा रहेका चिकित्सकहरूले ती वृद्धाको मृत्यु भएको घोषणा गरे ।

सुधारका लागि प्रार्थना
वृद्धाका छोरा गिल्बर रोडोल्फो बेलबेरान मोन्टोयालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उनकी आमालाई ‘बिहान ९ बजेतिर अस्पताल भर्ना गरिएकोमा अपराह्नतिर मृत्यु भएको चिकित्सकहरूले घोषणा गरे ।’

त्यसपछि उनलाई शव बाकसमा हालियो । उनले सास फेरिरहेको आफन्तहरूले नदेखेको बेलासम्म त्यसभित्रै रहेकी थिइन् । खुला शव बाकसभित्र वृद्धाले गहिरो सास लिइरहँदा वरिपरि मानिसहरूको भिड रहेको सामाजिक सञ्जालमा राखिएको एउटा भिडिओमा देखिन्छ । त्यसपछि एम्बुलेन्समार्फत् अस्पताल पुर्‍याउनुअघि पारामेडिकहरू आएर उनको हेरेको देखिन्छ ।

चिकित्सकहरूले मृत घोषणा गरेकै अस्पतालको अतिसघन उपचार कक्षमा अहिले उनको उपचार भइरहेको छ । वृद्धाका छोरा बेलबेरानले समाचारसंस्था एएफपीसँग भनेका छन्, ‘के भयो भनेर बिस्तारै मैले बुझिरहेको छु । अहिले मेरो एउटा प्रार्थना भनेको मेरी आमाको स्वास्थमा सुधार होस् भन्ने छ। म उहाँलाई जिउँदो मसँग भएको चाहन्छु ।’ बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *