अनामनगरमा महानगरको डोजर (फोटो/भिडिओ)

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौँ महानगरले डोजर चलाएपछि स्थानीयहरूले विरोध गरेका छन् ।
सोमवार काठमाडौँको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरूबिच विवाद सिर्जना भएको हो ।
एकपक्ष स्थानीयहरू वर्षौँदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरू सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् ।
स्थानीयहरूबीच नै विवाद हुँदा केहीबेर स्थिति तनावग्रस्त भएको थियो ।
काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय बनाउनका लागि भत्काउन थालेको छ । अहिले महानगरपालिकाले स्थानीयको विरोधका बिच डोजर चलाइरहेको छ । स्थानीयहरूले भने काठमाडौँ महानगरपालिकाको विरोध गरिरहेका छन् ।
उनीहरूले महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरूको तर्क छ ।
स्थानीयहरूले वडा कार्यालय बाहेकका अन्य कुनैपनि संरचना बनाउन महानगरपालिकालाई आफूहरूको समर्थन रहने प्रतिबद्धता जनाएका छन् ।
महानगरपालिकाले भने स्थानीयहरूको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ ।









