प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीमा अध्ययन गर्दै संसदीय सुनुवाइ समिति (तस्बिरहरू)

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीमाथि छलफल सुरु भएको छ । सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा कार्कीविरुद्ध परेको उजुरीमाथि छलफल भइरहेको हो ।
वैशाख २५ को संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । जेठ १७ देखि १० दिनको समय दिएर कार्कीविरुद्ध उजुरी आह्वान भएको थियो । कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् ।
आजको बैठकले कार्कीलाई समितिमा कहिले बोलाउने भन्ने टुङ्गो लगाउने पनि समितिका सदस्यले बताएका छन् । संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गर्ने छन् ।
हिजोमात्रै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई न्याय परिषद्ले अनिवार्य अवकाशको मिति सम्झाएको थियो । न्याय परिषद् सचिवालयले आइतबार एक पत्र पठाउँदै ६५ वर्षे उमेरहदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउन लागेको जानकारी गराएको हो ।









