जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु हुँदैन : कांग्रेस

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखी काम गर्ने प्रस्ताव गरेको थियो । सोही विषयलाई लिएर निर्वाचन आयोगले सरकारको उक्त प्रस्तावप्रति आपत्ति जनाउँदै शुक्रबार सर्वदलीय बैठक बोलाएको थियो । बैठकमा नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने धारणा राखेको पार्टीका सहमहामन्त्री जीवन परियारले बताए ।
उनले बजेटमा जिल्ला निर्वाचन कार्यालय मर्ज गर्नु नहुने पार्टीको आधिकारिक धारणा रहेको बताए । छरिएर रहेका निर्वाचन कानुनलाई एकीकृत गर्नेगरी आयोगले विधेयक तयार पारेको र त्यस विषयमा पनि काँग्रेस छिटो भन्दा छिटो संसदमा पेस गर्नुपर्ने पक्षमा रहेको बताए ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्ने कार्य पालिका कार्यालयमार्फत गर्ने तयारी गरेको धारणा राखेपनि त्यस विषयमा भने पार्टीले असहमति जनाउँदै जिल्ला निर्वाचन कार्यालयलाई नै अग्रसर गर्नुपर्ने कुरा राखेको बताए ।
सहमहामन्त्री परियारले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्नेकुरामा कांग्रेस तयार रहेको बताए । उनले राजनीतिक दलको लेखा र लेखा परीक्षण गर्ने कुरामा पनि कांग्रेसको सहमति रहेको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *