उपसभामुख र नगरपालिका उपप्रमुखमाथि पहिचानवादीको आक्रमण

विराटनगर । पहिचानवादीले उदयपुरमा उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईमाथि आक्रमण गरेका छन् । उदयपुरको गाईघाटमा रहेको सर्पदंश उपचार केन्द्रमा पोर्टेबल भेन्टिलेटर सुरु गर्नेबारे त्यहाँको कार्यक्रम सकेर गाईघाट बजारतर्फ जाने क्रममा आक्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको अनुगमनपछि प्रदेश स्वास्थ्य मन्त्री तीलकुमार मेन्याङ्बो, उपसभामुख सृजना दनुवार, प्रदेश स्वास्थ्य सचिव डा सुधा देवकोटासहितको टोली भुल्नेस्थित १८ नम्बर बाहिनीमा रहेको सर्पदंश उपचार केन्द्रमा पुगेको थियो ।

बिहीबार बिहान त्यहाँ पुगेको टोलीले सर्पदंशका बिरामी बढ्न थालेपछि उपचार केन्द्रमा प्रदेश सरकारले पोर्टेबल भेन्टिलेटर उपलब्ध गराउने र त्यो सुचारु गराउने कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रम सकेर मन्त्री मेन्याङ्बो र सचिव देवकोटा बोल्टारको बाटो हुँदै विराटनगर फर्किए भने उपसभामुख दनुवारसहित त्रियुगा नगरपालिकाकी उपप्रमुख राई गाईघाटतर्फ लागे । फर्किने क्रममा काठ लोड गरेको ट्याक्टरले सडक अवरुद्ध गरेर गाडी रोकिएको अवस्थामा पहिचानवादीले आक्रमण गरेका थिए । उनीहरूले त्रियुगा नगरपालिकाका उपप्रमुख राईको गाडीमा पूर्ण रूपमा क्षति पुर्याएका छन् भने उपसभामुख दनुवारको गाडीको पछिल्लो भाग कुच्चिएको छ । पहिचानवादी कोशी प्रदेश खारेज गर, उपसभामुखबाट राजीनामा दे भन्दै उपसभामुख दनुवारमाथि आइलागेका थिए ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पहिचानवादीको नाममा केही मोटरसाइकलमा आएका व्यक्तिहरूले आक्रमण गरेको पुष्टि गरे । घटनामा उपप्रमुखको गाडीमा बढी क्षति भएको भन्ने जानकारीमा आएको प्रजिअ गौतमले जानकारी दिए । मन्त्रीहरू नै आउने भएपछि पहिचानवादीले अघिल्लो दिन नै अवरोध गर्छौँ भन्ने खालको कुरा हामीलाई जानकारीमा आएको थियो,’ प्रजिअ गौतमले भने, ‘स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर मन्त्रीहरू फर्किँदासम्म पनि समस्या थिएन, पछि उपसभामुख ज्यु घरमा खाना खान जाने क्रममा आक्रमण भएको भन्ने जानकारीमा आएको छ ।’

प्रजिअ गौतमले मोटरसाइकलमा आएको ८–१० जनाको समूहले छापामार शैलीमा आक्रमण गरेको बताएका छन् । उनले घटनामा संलग्नहरूको खोजी भइरहेको जानकारी दिँदै पक्राउ गरी कानुन अनुसारको कारबाही हुने बताएका छन् ।

पहिचानवादीको नाममा नेकपा एमाले दल उपनेता राना माथि दोस्रो पटक आक्रमण विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानालाई इलाममा केही युवाहरूले अभद्र व्यवहार गरेका छन् ।

इलामबाट विराटनगर तर्फ आउने क्रममा बाटोमा मुढा तेर्स्याएर उनी चढेको गाडी रोकेर रानालाई लक्षित गरी मोबिल प्रहार गरेका हुन् । इलामको इलाम नगरपालिका वडा नम्बर ११ सोयाक भन्ज्याङमा भेला भएर बसेका ४–५ जनाको समूहले बाटोमा मुढा तेर्स्याएर उनलाई लक्षित गरी अभद्र व्यवहार गरेका हुन् । उनी सहित ३ जना सवार गाडी बिर्तामोडतर्फ आउने क्रममा रहेको थियो । उनीहरूले बाटो छेकेपछि आफू त्यहाँबाट फर्किएर इलाम बजार आएको रानाले जानकारी दिए ।

कोशी प्रदेशलाई पहिचानको आधारमा नामकरण हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका विभिन्न सङ्गठनहरूले कोसी प्रदेशको पक्षमा मतदान गर्ने सांसदलाई लक्षित गरी आन्दोलन गरिरहेका छन् । रानालाई यसअघि पनि एउटा समूहले आक्रमण गरेको थियो । उनी चढेको सरकारी गाडीमा ढुङ्गामुडा प्रहार भएको थियो । पहिचानवादीले उनलाई यो दोस्रो पटक आक्रमण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *