प्रतिवादीको पक्षमा १३ वकिलकाे बहस : निर्दोष फसाइयो, मुद्दा चलाउनु पर्नेलाई बचाइयो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो दिन प्रतिवादीको पक्षमा १३ जना वकिलहरूले थुनछेक बहस गरेका छन्।

बुधबार यस प्रकरणमा मुख्य अभियुक्त मानिएका केशव दुलाल, सानु भण्डारीका वकिलहरूले बहस गरेका हुन्। यस्तै टंक गुरुङका वकिलले पनि बुधबार बहस गरे।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरुमा दुलालका ६ जना वकिलले बहस गरेका थिए।

उनको पक्षमा विकास भट्टराई, विकाश थापा, विश्वास आचार्य, योगेन्द्र अधिकारी, नर बहादुर योगी र राजन भट्टराईले बहस गरेका थिए।

भण्डारीको पक्षमा वकिलहरू विनोद शर्मा, चुडामणि पोखरेल, वरिष्ठ अधिवक्ता शिवप्रसाद रिजाल, शालिकराम सापकोटा, शरणप्रसाद कोइराला र खडानन्द कँडेलले बहस गरे।

आजै टंककुमार गुरूङका वकिलले पनि बहस गरेका छन्। वरिष्ठ अधिवक्ता प्रा डा नरसिंहकुमार खत्री, विनोद शर्मा लगायतले उनको पक्षमा बहस गरेका हुन्।

तीनै जनाका कानून व्यवसायीले यो प्रकरणमा संलग्नता अस्वीकार गरे । बिना प्रमाण र नगदै बुझाएको भनिएको पैसाका आधारमा प्रतिवादी बनाइएको उनीहरुको दाबी थियो । दुलाल आफैं पीडित भएको उनका कानून व्यवसायी विकास थापाले जिकिर गरे ।

अधिवक्ता विश्वास आचार्यले दुलाललाई जाहेरवालाले नगदै पैसा बुझाएको भनेर हचुवाका भरमा ठगी गरेको भनिएको दावी गरे ।

‘नगदै पैसा बुझाएको कुरा कसरी प्रमाणित गर्ने ? पुष्टि गर्ने अर्को कागज नभएसम्म नगदै पैसा बुझाएको घटनामा अदालतले आजसम्म कसुरदार ठहर गरेको छैन । अनि दुलाललाई नगदै पैसा बुझाएको भन्नेबाहेक जाहेरवाला र सरकारी वकिल पक्षले उनीविरुद्ध कुनै प्रमाण पेश गर्न सकेका छैनन्’, आचार्यको जिकिर थियो ।

भण्डारीको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता शिवप्रसाद रिजालले १० लाख रुपैयाँ भन्दा बढी रकम बोकेर हिँड्न नपाइने र ५० हजार रुपैयाँभन्दा बढी रकमको कारोबार चेकबाट हुने कानूनी व्यवस्था रहेकाले जाहेरवालाले लाखौँ रुपैयाँ नगदै बुझाए भन्नु काल्पनिक मात्र भएको दाबी गरे ।

दुलालका कानून व्यवसायी राजन भट्टराईले २ रुपैयाँको साग किन्न पनि ग्राहकले ओल्टाइपल्टाई गर्ने भएकाले कसैले लाखौँ रुपैयाँ प्रमाण नराखी कसरी दिन सक्छ भन्दै प्रश्न गरेका थिए ।

अधिवक्ता चुणामणी पोखरेलले टंक गुरुङ उनले सञ्चालन गर्ने रेस्टुरेन्टमा मिठो खाना पाक्ने गरेकै कारण प्रतिवादी बनेको बताए । ‘कुनै होटलमा जो पनि पुगेर खान सक्छ । फलानो मान्छे त्यहाँ गएर खाएको थियो भन्ने आधारमा भात पकाएर जीविका गरिरहेको मान्छेलाई कसरी प्रतिवादी बनाउन मिल्छ ? गुरुङ आफैं पनि आर्थिक संकटमा छन् । तर आफ्नो रेस्टुरेन्टमा आएर खाना खाएकासँग परिचय थियो भन्ने आधारमा उनी प्रतिवादी बनेका छन् । यसरी प्रतिवादी बनाउने हो भने त यहाँ सबै होटल सञ्चालकहरुलाई प्रतिवादी बनाउने अवस्था आउँछ’, अधिवक्ता चुणामणि पोखरेलले भने ।

मंगलबार मात्रै यस प्रकरणमा सरकारी वकिल तथा जाहेरवाला पक्षका वकिलहरूले बहस सकेका थिए। बुधबारदेखि आउँदो मंगलबारसम्म प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन्।

त्यसपछि बुधबार सरकारी वकिलले जवाफी बहस गरेपछि प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा पठाएर मुद्दा चलाउने वा थुनाबाहिर राखेर भन्नने आदेश आउने छ।
यो मुद्दाका ३० प्रतिवादी मध्ये १८ प्रतिवादी इजलासमा उपस्थित छन्। उनीहरुका वकिलले बहस गर्नेछन्। १२ जना भने फरार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *