सरकारी बेवास्ताको परिणाम

सार्वजनिक सम्पत्तिको दोहनदेखि खाद्यान्न संकटसम्म

काठमाडौँ उपत्यकालगायत मुलुकभर भएका सरकारी जग्गा, गुठीका जग्गा, मठमन्दिरका जग्गा, पार्टीपौवा, ताल, पोखरी, ढुंगेधारा, कुवा, खोलानाला, टुकुचाजस्ता सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा दर्ता भइसकेको छ । यी सार्वजनिक सम्पत्ति जग्गा दलाली तथा भू-माफिया, लेखनदास र कानून व्यवसायीहरूको मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेका हुन् ।

मालपोत कार्यालय वरपर जति पनि लेखनदास तथा कानून व्यवसायीले कार्यालय खोलेका छन् । ती सबैको काम यहीँ सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नु हो । पचास वर्षअघि मुलुकभर भएका जग्गामध्ये ७० प्रतिशत सरकारी जग्गा थियो भने ३० प्रतिशत मात्र व्यक्तिको नाममा थियो । तर, अहिले यसको उल्टो छ । पहिला ७० प्रतिशत रहेको सरकारी जग्गा अहिले दश प्रतिशत समेत रहेको छैन । यसरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउनुमा जनप्रतिनिधि, सरकारी कर्मचारी र राजनीतिक दलको पनि ठुलो हात रहेको छ ।

जग्गा दलाली, कानून व्यवसायी, भू-माफिया आदिको तिलोत्तमा अहिले पनि सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भइराखेका छन् । उनीहरूले कता कता सरकारी, गुठी, मठमन्दिरलगायतका जग्गा छन्, त्यहाँ खोजतलास गरी सो जग्गा व्यक्तिको नाममा व्यक्ति गरिरहेका छन् । तर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा भूमि व्यवस्थापन विभागले अहिले पनि मुलुकभर कति सरकारी, गुठी, मठमन्दिर, पार्टी पौवालगायतका सार्वजनिक सम्पत्ति तथा जग्गा छन् ? भनेर तथ्यांक संकलन गरेको छैन ।आफ्नो

वडा तथा नगरभित्र कति सरकारी सम्पत्ति थियो वा छ ? भनेर खोजतलास गर्न पनि वडाध्यक्ष तथा मेयरले चासो देखाएका छैनन् । यसले एकातिर सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा गइराखेको छ त अर्कातिर सो जग्गा सार्वजनिक सम्पत्ति हो भनेर थाहा नपाई किन्नेहरू त्रासमा परेका छन् । जग्गा दलाली, भू-माफिया, कानुन व्यवसायी, लेखनदास आदिको तिलोत्तमा पहिला त्यो जग्गा आफ्नो नाममा दर्ता गरियो । तर, पछि आफूहरू फस्ने डरले उनीहरूले त्यो जग्गा अरू व्यक्तिलाई महँगोमा बेचिदिए । जसको मार अहिले त्यो जग्गा किन्ने व्यक्तिहरूले बेहोर्नुपरेको छ ।

एकातिर आफ्नो रकम पनि डुब्ने, अर्कातिर सरकारी सम्पत्ति आफ्नो नाममा भएको भनेपछि छरछिमेकबाट घृणित हुने डर उनीहरूमा छ । त्यसैले, अहिले उनीहरूले दिनानुदिन वडा कार्यालय तथा नगरपालिका, गाउँपालिका धाउँछन् । जग्गा दलाली तथा भू-माफियाहरू सार्वजनिक सम्पत्तिको खोजतलास गरी सार्वजनिक सम्पत्ति भएकै नजिकै कुनै व्यक्तिसँग निजको जग्गा खरिद गर्छन् । यता एक रोपनीदेखि तीन रोपनी जग्गा व्यक्तिको खरिद गरेमा पाँच रोपनीदेखि दश रोपनी सार्वजनिक सम्पत्ति राजनीतिक पहुँचमा आफ्नो नाममा दर्ता गराउँछन् ।

अहिले मुलुकभर घना बस्ती छ । यदि सरकारले यी क्षेत्रको अध्ययन गरेमा यहाँ आधाभन्दा बढी सार्वजनिक सम्पत्तिमा घर तथा भवन निर्माण भएको भेटिन्छन् । नेपालको सरकारी तथा गुठीका जग्गा दर्ता गर्नेमा सुरुमै भाटभटेनी साहुको नाममा आउँछ । त्यसपछि उद्योग वाणिज्य व्यवसायी महासंघका अध्यक्ष चन्द्र ढकाल, शेखर गोल्छा र अर्बपति विनोद चौधरीको पनि नाम आउँछ । भक्तपुरका सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नुमा नेकपा एमालेका नेता महेश बस्नेतको ठुलो हात रहेको बताइन्छ । यति मात्र नभई उनको जग्गामा समेत धेरै लगानी रहेको छ । यसरी राजनीतिक दलका नेता, जनप्रतिनिधि, सरकारी कर्मचारी, कानून व्यवसायी, लेखनदास, जग्गा दलाली, व्यवसायी आदिको तिलोत्तमा सरकारी सम्पत्तिको दुरुपयोग भइरहेको छ ।

अहिले पनि यिनीहरूको आँखा सरकारी सम्पत्तिमै छ । यिनीहरूले व्यक्तिको नाममा दर्ता गर्न बाँकी रहेको जेनतेन सरकारी सम्पत्तिमाथि पनि सुकुम्वासीका नाममा हुकुम्वासीहरुले कब्जा जन्माएका छन् । ठाउँअनुसार आनाको लाखदेखि पाँच करोड मूल्य पर्ने सरकारी सम्पत्ति व्यक्तिको नाममा लगिएको छ । सदनमा अहिले पनि सांसद छन् । तर, मुलुकभर सरकारी तथा सार्वजनिक सम्पत्ति कति थियो ?, कति सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा गयो ? र, त्यो कसरी फिर्ता ल्याउने ? भनेर कुनै सांसद बोल्दैनन् । स्थानीय तहमा वडाध्यक्षदेखि मेयरसम्म छन् । तर, आफ्ना वडा तथा नगरभित्र कति सरकारी सम्पत्ति थियो वा छ ? भनेर उनीहरू खोजतलास गर्दैनन् ।

अब भूमि मन्त्री रन्जिता श्रेष्ठ र प्रधानमन्त्री प्रचण्डले एउटा निर्णय गर्नुपर्ने आवश्यकता देखिएको छ । त्यो हो, २०२१ सालपछि व्यक्तिको नाममा दर्ता भएको जग्गाको छानबिन । किन कि त्यस समयावधिदेखि नै सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने कसरत चलिरहेको छ । वनजंगल फडानी गरेर त्यो जग्गा समेत व्यक्तिको नाममा लगिएको पाइन्छ । त्यसैले, अब सरकारले २०२१ सालपछि व्यक्तिको नाममा दर्ता भएको जग्गाको छानबिन नगरे भोलि मुलुकमा एक रोपनी पनि सार्वजनिक सम्पत्ति तथा सरकारी जग्गा रहने छैन । कति त्यति बेला सरकार कहाँ सरकारी भवन निर्माण गर्छ ?

सरकारी जग्गा अभावका कारण भवन निर्माण हुन नसक्दा अहिले पनि कतिपय सरकारी कार्यालय भाडाको घरमा बसिरहेका छन् । यस्तो हुँदा समेत सरकारी जग्गाको खोजतलास गरिँदैन । मुलुकभरका ७७ ओटा जिल्लामध्ये ७१ वटा जिल्लामा गुठीका जग्गा रहेको सुनिन्छ । पशुपति गुठीसहित दुई हजार बढी गुठी दर्ता छन् । तर, त्यो गुठीका जग्गा अहिले व्यक्तिको नाममा दर्ता भइसकेका छन् । काठमाडौँ उपत्यकाभित्र ६ सय ३४ ओटा ढुंगेधारा थियो । तर, त्यो मासेर घर निर्माण भइसकेको छ । हाम्रो मुलुकका अधिकांश मठमन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् । तर, ती मन्दिर अगाडि ठुल्ठुल्ला घर तथा भवन निर्माण भएका छन् ।

यसले मन्दिरभन्दा घर ठुलो देखिनुका साथै मन्दिर निकै प्रदूषित हुँदै गएको छ । आफ्नो वडा तथा नगरभित्र कति सरकारी जग्गा थिए वा छन् ? भनेर न जनप्रतिनिधिले खोजतलास गरे न सरकारले । त्यसैले, अब सरकारी जग्गाको खोजतलास गर्ने कार्य सञ्चारमाध्यमको हो । अब आआफ्नो क्षेत्रबाट सञ्चारकर्मीले सरकारी जग्गाको खोजतलास गरी तथ्यसत्य बाहिर ल्याउनुपर्छ । किन कि सञ्चारमाध्यम राज्यको चौथो अङ्ग हो । नाकी राजनीतिक पार्टीको कार्यकर्ता । अहिले ७० वर्ष पुगेका वृद्धाहरू कुन जग्गा सरकारी र कुन जग्गा व्यक्तिको भनेर स्पष्ट रूपमा भनिदिन्छन् ।

उनीहरूको माध्यमबाट मुलुकभरका सरकारी जग्गाको खोजतलास गर्न सकिन्छ । तर, यो कार्य गर्ने चाहिँ कसले ? यहाँ त कोही राजनीतिक दलको पछि लागेका छन् त कोही पैसामा बिकेका छन् । त्यसैले, राजनीतिक दल र पैसाको प्रलोभनमा नपरी सर्वसाधारण जनतादेखि हरेकले आआफ्नो ठाउँबाट सरकारी सम्पत्तिको संरक्षणका लागि सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारी तथा सार्वजनिक सम्पत्ति त व्यक्तिको नाममा दर्ता गरियो नै तर भू-माफिया, जग्गा दलाली आदिको मिलेमतोमा खेतीयोग्य जमिन समेत व्यक्तिको नाममा दर्ता गरी घर तथा बाटो बनाएर सिद्धियो । कुनै पनि वस्तु उत्पादन गर्नका लागि जमिनको आवश्यकता पर्दछ ।

तर, जमिन नै रहेन भने कहाँ के उब्जनी गर्ने ? सरकारीले खेतीयोग्य जमिनमा घर र बाटो बनाउन दिनु हुँदैन भनेर कहिल्यै सोचेन । सरकारले हिजो पनि करको लोभमा खेतीयोग्य जमिनमा घर तथा बाटो बनाउन दियो त आज पनि त्यहीँ नै गरिरहेको छ । यसले एकातिर मुलुकमा खाद्यान्न संकट निम्तिएको छ त अर्कातिर मुलुकको सबै पैसा बाहिर गइरहेको छ । जग्गा दलालीहरूले आनाको हजार रुपैयाँमा बिक्री नहुने जग्गा खण्डीकरण गरेर आनाकै लाखदेखि करोडसम्ममा बेचिदिए । तर, तीन वर्षअघि आनाकै करोडमा किनेको जग्गा अहिले मूल्य घटेर लाखमा झरेको छ । यति मात्र नभई घरजग्गामा लगानी गर्ने बैंक तथा वित्तीय संस्था समेत डुबेर भाग्नुपर्ने अवस्थामा पुगेका छन् ।

बचतकर्ताहरूको खरबौँ रकम बालुवामा पानी हालेझैँ भएको छ । यस्तो हुँदा समेत भूमि मन्त्रालय र कृषि मन्त्रालयलाई केही चासो छैन । खेतीयोग्य जमिन जोगाउन न भूमि मन्त्री रन्जिता श्रेष्ठ चासो देखाउँछन् न कृषि मन्त्री वेदुराम भुसाल । त्यसैले, अब सरकारले भूमि मन्त्रालय र कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ । किन कि मुलुकमा भूमि नै छैन भने किन भूमि मन्त्रालय र कृषि मन्त्रालय चाहियो ? पछिल्लो समय बजारमा पूरै मन्दी छ । घरजग्गा, गाडी र सेयरको किनबेच ठप्प छ ।

अहिले बजारमा सुनिन्छ कि पाँच करोड मूल्य पर्ने घर लाखमा झर्‍यो । यता ३२ सयको सेयर सय रुपैयाँमा आयो त ५० लाखको गाडी लाखमा । छ दशकअघिको अवस्थामा अहिले मुलुकको अर्थतन्त्र छ । त्यसबेला सरकारी खर्च निकै कम थियो । तर, अहिले यसको ठिक विपरीत छ । जनताले तिरेको करले अहिले सरकारी खर्च समेत धान्दैन । अनि विकास कसरी गर्ने ? । एकातिर मुलुकमा खेतीयोग्य जमिन छैन, अर्कातिर विदेशी ऋण दिनानुदिन बढेको छ । अनि कसरी भविष्यमा भोकमरी लाग्दैन भनेर भन्न सकिन्छ । २०४६ सालअघि नेपालीको टाउकोमा एक रुपैयाँ समेत विदेशी ऋण थिएन ।

तर, अहिले एक नेपालीको टाउकोमा ९० हजार विदेशी ऋण छ । त्यस्तै, ०४६ सालअघि हामी आफ्नै खेतबारीमा उब्जनी भएका खाद्यान्न उपभोग गर्दथ्यौँ । तर, अहिले लाउनेदेखि खानेसम्म हामी विदेशबाट आयात गरिएका उपभोग गर्छौँ । ०४६ सालपछि जति पनि मन्त्री, प्रधानमन्त्री भए तीनकै कारण आज मुलुक यस्तो अवस्थामा पुग्यो । उनीहरूले समयमै उचित कदम नचाल्दा मुलुकले आर्थिक संकट र खाद्यान्न संकट बेहोर्नुपर्ने अवस्था निम्तिएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *