परीक्षा दिएर फर्किँदै गरेका शिक्षक दम्पती थानकोटमा अस्ताए

काठमाडौँ । काठमाडौँमा भएको शिक्षक सेवा आयोगको परीक्षा दिएर घर फर्किन लागेका एक दम्पतीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा धादिङका शिक्षक दम्पतीको मृत्यु भएको हो ।

चन्द्रागिरि नगरपालिका-४ थानकोटमा गत शनिबार दिउँसो अन्दाजी ३ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । ना ५ ख ५३२२ नम्बरको ट्रकले प्र ३-०२-००१ प ८८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धादिङ गल्छी गाउँपालिका-४ बैरेनीका ४० वर्षीय गोविन्दप्रसाद अधिकारी र उनकी ३७ वर्षीया श्रीमती जानुका अर्याल घाइते भएका थिए ।

अधिकारीको सोही दिन ट्रमा सेन्टरमा मृत्यु भएको थियो । उनकी श्रीमती अर्यालको भने सोमबार बिहान बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक चालकलाई पक्राउ गरिसकेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका दुवै जना शिक्षक हुन् । उनीहरू गल्छी-५ मा रहेको जलकन्या आधारभूत विद्यालयमा कार्यरत थिए । गोविन्दप्रसाद उक्त विद्यालयका प्रधानाध्यापक थिए । जानुका बाल विकास सहजकर्ताको रूपमा कार्यरत थिइन् । उनीहरू दुवै जनाले शिक्षा सेवा आयोगको परीक्षा दिन काठमाडौं आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *