नेकपा एमालेमा कसले कहाँ जिम्मेवारी पाए

नेकपा एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ। फरकफरक भूगोलमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी प्रदान गरिएको छ।
गत जेठ १९ गते गरेको पार्टी सचिवालयको निर्णयलाई अन्तरपार्टी निर्देशन मार्फत सर्कुलर गरिएको छ।
एमालेका सात उपाध्यक्षहरूले विभागहरूको कामको संयोजन र सचिवहरू प्रदेशको इन्चार्ज तोकिएका छन्।
बाँकी पदाधिकारीहरूले विभागीय प्रमुखको जिम्मेवारी पाउँदा स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन्।
एमालेले यसपटक सहइन्चार्ज हटाएर केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाको इन्चार्ज बनाइएको छ।
एमालेले ४३ वटा विभाग बनाएर त्यसको संयोजनको जिम्मा ७ जना उपाध्यक्षलाई दिएको छ ।
एमालेमा ३२ वटा विषयगत विभागहरू छन्। पार्टीका सात जना उपाध्यक्षलाई विषयमिल्दो हिसाबले विभागहरूको कामको संयोजनको जिम्मेवारी दिइएको छ।
योजना र नीतिसँग जोडिएका कामहरूको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन्। पूर्वाधार विकास र निर्माणसँग जोडिएका विभागहरूको कामको नेतृत्व सुरेन्द्र पाण्डेले गर्नेगरी जिम्मेवारी तोकिएको छ।
कृषि तथा उद्यमशीलतासँग जोडिएका विभागहरूको कामको संयोजन रामबहादुर थापा बादलले गर्नेछन्।
सामाजिक विकाससँग गाँसिएका विभागको कामको संयोजन अष्टलक्ष्मी शाक्यले गर्ने गरी जिम्मेवारी दिइएको छ।
मानव स्रोतसँग जोडिएका विभागहरूको संयोजन गर्ने जिम्मा युवराज ज्ञवालीले पाएका छन्। सुशासन र सेवा प्रवाहसँग जोडिएका विभागहरूको कामको नेतृत्व सुवास नेम्वाङले गर्नेछन्।
संगठन, प्रशिक्षण र प्रचारसँग जोडिएका विभागहरूको कामको संयोजन विष्णु पौडेलले गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको छ।
प्रदेश इन्चार्ज हेरफेर
नयाँ कार्यविभाजन अनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्ज छविलाल विश्वकर्मा तोकिएका छन्। कर्णाली प्रदेशको इन्चार्ज लेखराज भट्टलाई बनाइएको छ।
त्यस्तै लुम्बिनी प्रदेशको इन्चार्ज पद्मा अर्याल चयन भएकी छन्। गण्डकीको इन्चार्ज गोकर्ण विष्ट, मधेश प्रदेशको इन्चार्ज योगेश भट्टराई बनेका छन्।
कोशी प्रदेशको इन्चार्ज रघुवीर महासेठ बनेका छन्। बागमती प्रदेश भने केन्द्रीय कार्यालयले नै विशेष खालको संयोजन गर्ने पार्टीले जनाएको छ।
स्थायी कमिटी सदस्य, पोलिटब्युरोलाई जिल्लाको इन्चार्ज तोकिएको छ।
कसले कहाँ पाए जिम्मेवारी ?








