कोशी प्रदेश सभाको बैठक अनिश्चित

विराटनगर । कोशी प्रदेश सभाको बैठक अनिश्चित बनेको छ। कोशी प्रदेश सरकारमा देखिएको सत्ता समीकरण हेरफेरले प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । २४ गते कोशी प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने तयारी भएको थियो ।

एकाएक सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सभा अनिश्चित भएको हो । मंगलवार बसेको प्रदेश सभाको बैठकमा नेकपा एमाले, माओवादी र कांग्रेसका सांसदहरू बिच जुहारी चलेको थियो । नेकपा माओवादी केन्द्र संसदीय दलको तर्फबाट विशेष समय लिएर गणेश उप्रेतीले बोले लगत्तै प्रदेश सभामा संघीय संसदमा उठेका बिषयहरु र अदालतमा पुगेको विषय उठाइएको भन्दै एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले नियमापत्ति गरेका थिए ।

नागरिकता विधेयक लगायतको विषयमा बोलिएका कुराहरूमा नेपाली कांग्रेसका केदार कार्की र राप्रपाकी निमसरी राजवंशीले नियमापत्ति गरेका छन् ।

लगत्तै प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीले महालेखाको प्रतिवेदन प्रदेश सभामा पेस गरेका थिए ।

प्रतिवेदन प्रदेश सभामा पेस भएपछि अर्को बैठक अनिश्चितकालको लागि स्थगित भएको सभामुख बाबुराम गौतमले प्रदेश सभालाई जानकारी गराएका थिए। प्रदेश सभाको बैठक अनिश्चित भएसँगै बजेट, नीति तथा कार्यक्रम नै अन्यौलता पर्ने देखिएको छ। ढिलोमा प्रदेशले असार १ गतेसम्म बजेट ल्याई सक्नु पर्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *