कोशी प्रदेश सरकारबाट समर्थनसमेत फिर्ता लिएर बाहिरियो माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले सरकार समर्थनसमेत फिर्ता लिएर सरकारबाट बाहिरिएकाे छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुनै लाग्दा माओवादी सरकारबाट बाहिरिएकाे हाे । माओवादीले सरकारलाई दिएको समर्थन फिर्तासँगै हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार अल्पमतमा परेको छ ।

केन्द्रको निर्देशन अनुसार कोशी प्रदेश सरकारको सरकार समीकरण फेर्ने नेकपा माओवादी संसदीय दलको बैठकले निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले कोशी प्रदेश संसदीय दललाई तत्काल एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।

हिजो साँझ मात्र पनि नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले निर्णय गर्न सकेको थिएन । आज बिहान प्रदेशका पदाधिकारी सहित बसेको बैठकले सरकार छाड्ने र समर्थन फिर्ता लिने निर्णय गरेको हो । केन्द्रको निर्देशन अनुसार नेकपा माओवादी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

यसअघि नै जसपाले काेशी सरकार छाेडिसकेकाे थियाे । जसपाले समर्थन फिर्ता लिएकाे दिनदेखि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नु पर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकार तत्काल नछाड्ने बताएको छ । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले तत्काल सरकारलाई दिएको समर्थन छाड्ने वा फिर्ता लिने कुरा नरहेको बताए । ‘राप्रपा अस्थिरता निम्त्याउने पक्षमा छैन, उनले भने, सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ, २४ गते नीति तथा कार्यक्रम आउँछ, असार १ गते बजेट ल्याएपछि कसरी अघि बढ्ने भन्ने हुन्छ ।’ आजै मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा समेत बुझाएका छन् ।

९३ सदस्यीय रहेको कोशी प्रदेश सभाबाट सरकार बनाउन ४७ सांसदसहितको बहुमत चाहिन्छ । वर्तमान सरकारमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ सांसदको समर्थन थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *