मकालु ब्लग

डाक्टर रामजी रामसँग जम्काभेट

काठमाडाैँ । किंङ्स कलेजमा क्रिएटिभ राइटिङ कक्षा सकेर म भुइँतलाको क्याफे कोड्समा छिर्दा नरोत्तम अर्याल सर दुईजनासँग बसिरहेका थिए । एकजना विवेकशील साझाका संस्थापकमध्येका गोविन्दनारायण । अनि अर्का रामजी राम । 

मैले पहिलो दुईजनालाई पहिला पनि भेटेको थिएँ । रामजी रामलाई भेटेको थिइनँ । नभेटे पनि उनको कथासँग परिचित भने थिएँ । कसैसँग परिचित हुनलाई भेट्नैपर्छ भन्ने पनि छैन ।

‘म तपाईँलाई चिन्छु,’ मैले भनेँ  । 

उनले मलाई नचिने पनि मिठो सौहार्दता देखाए । कसैले मिठो सौहार्दता देखाएपछि त अर्कै तरिकाले चिनिन्छ ।  

सेतोपाटीमा उनी डक्टर बन्न नपाएको स्टोरी पहिलोपल्ट पढेको थिएँ । शीर्षक थियो ‘पैसा नबुझाएको भन्दै रामजी रामले दिन पाएनन् एमबिबिएस चौथो वर्षको परीक्षा’ । त्यो समाचारले आगो लगायो । त्यसपछिका उनका हरेक सफलताहरू राष्ट्रिय विषय भए । उनी हाम्रो समयको सुन्दर सामाजिक कथामध्येका एक महत्त्वपूर्ण पात्र हुन् । 

मधेशको विपन्न चमार समुदायबाट प्रतिनिधित्व गर्ने उनले भोगेको समस्याहरूले धेरैवटा कुरा एकैपल्ट बोलिरहेको थियो । नेपालको स्वास्थ्य क्षेत्रको शिक्षाको अवस्था, दलित परिवारको कसैलाई हेर्ने नेपाली व्यवस्थाको दृष्टिकोण पनि । 

अनि सरकारले आफैँले बनाएको कार्यविधिअनुसार नभएर पटक पटक अदातले धकेल्दिनुपर्ने कमजोर व्यवस्था । एउटा साधारण मान्छेले सरकारले दिन्छु भनेका कुरा पाउन पनि पटक पटक लड्नुपर्ने कस्तो बिचरा व्यवस्था ।

हाम्रो समाजमा एउटा मान्छेलाई उसले चाहेको कुरा बन्ने बाटोमा अवरोध नै अवरोध छ । कति अवरोध देखिन्छन्, कति देखिँदैनन् । कति अवरोध लेखिन्छन्, कति लेखिँदैनन् । 

त्यो समाचारपछि उनलाई सहयोग गर्नेहरू बढे । तीनकै सहयोगको बलमा उनले एमबिबिएस परीक्षा दिए । पास भए । उनलाई सहयोग गर्नेको लामले सरकारको व्यवस्थालाई चुनौती दियो । तैँले नगरे हामी उभिन्छौँ भन्यो । हामी हाम्रो देशको कथालाई प्रेम गर्छौँ भन्याे । 

हामी प्रेमको पक्षमा छौँ भन्यो । 

भलै हामीले चाहेकाे समाज त्यसरी कथा नआईकन नै कसैले एमबिबिएस् पढ्न पाउनुपर्ने अवस्था हो । तर त्यो अवस्था नआउन्जेलसम्म नागरिक रूपमा हामी यसरी नै एकजुट भइरहन्छौँ भन्यो । 

त्यो प्रसङ्ग सबै पछ्याएको भरमा मैले उनलाई चिनेको थिएँ । मैले त्यो कथा थाहा पाएको थाहा पाएरै सायद उनले मसँग सौहार्दता थपेका थिए । हामीलाई नजिक हुन धेरै समय लागेन । 

त्यसपछि हामीले धेरै विषयमा कुरा गर्‍यौँ । नरोत्तम सर हामीसँग बसुन्जेल सामाजिक सेवाको बारेमा कुरा भए । रामजीले पश्चिम नेपालको कुनै जिल्लामा जाँदाको प्रसङ्ग सुनाए । त्यहाँ कुपोषणले मरिरहेका बालबालिकाे अवस्था सम्झिँदै भने, ‘हामी छ महिनासम्म बच्चालाई आमाको दुधमात्र खुवाउनुपर्छ भन्छौँ, त्यहाँ २ महिनाको बच्चाले निस्तो भात खाइरहेको थियो ।’ उनले त्यहाँ रासन लिएर जाँदाको प्रसङ्ग पनि सुनाए । मान्छेहरूले त्यसलाई कसरी खोसे सुनाए । खोस्ने बेला भने रे ‘हामी तपाईँलाई मारेर भए पनि यो राशन लान्छौँ ।’

उनीहरूलाई त्यस्तो भन्ने अवस्था पनि हामीले नै बनाएका हौँ । 

उनले त्यहाँको मान्छेको जे छैन त्यसमा काम गर्न मन लागेको सुनाएपछि नरोत्तम सरको पालो आयो । उनले आफू पनि उस्तै पृष्ठभूमिबाट आएको भएर त्यस्ता कथाहरूले छुने अनि केही गर्न नसक्दाको बोझ रहिरहने बताए । अनि भने ‘म अहिले किंङ्स कलेज चलाउँछु । मैले भगवानलाई भनिसकेँ म जे गर्न सक्छु यसबाट नै गर्छु । बाँकी गर्न नसकेकोमा माफी दिनुहोला ।’

एकछिन बस्दा हामीले धेरै विषयमा गफ गर्‍यौँ । नरोत्तम सरलाई लागेको रुघाले बाटोको धुलोमा पुर्‍यायो । 

‘कुनै पनि सहरमा भएको बाटो बनाउने काम धुलोविहीन छैन ।’ 

‘धुलोले हामीलाई थाहा नै नपाई जकडिरहेको छ ।’

‘हामी गाडीको एसी होस् वा घर अफिसको एसी, सबैतिरबाट धुलो नै धुलो खाइरहेका छौँ ।’

‘न धुलोको स्रोत निर्मूल गर्ने विषयमा काम भएको छ, न त कसैले यसलाई समस्या नै देखेको छ ।’

केही समय पहिला सामाजिक अभियन्ता हुने क्रममा विराटनगरमा चिनेका साथी सरोज कार्कीले लेखेको एउटा स्ट्याटस सम्झिएँ । उनले लेखेथे ‘यदि मैले कुनैदिन यो देश छोडेँ भने सफा हावा खान पाइने ठाउँ खोज्नलाई छोड्छु ।’

हामी बोल्दै गर्दा एकजना सज्जन आए र रामजीलाई भेटे । भने ‘म तपाईँलाई चिन्छु । डाक्टर हुनुभएकोमा बधाई । अब अरूको सेवा गर्नुहोला ।’

उनले पनि सेतोपाटीमा पढेकै कारणले रामजीलाई चिनेका रहेछन् । एकजना पत्रकारले आफ्नो धर्म निभाएर कथा भनिदिँदा यति धेरै कुराहरू हुने रहेछ । 

रामजीसँग फोटो खिचेर नरोत्तम सर निस्किए । 

हामी टेबलको वरपर बसेर गफ गर्न थाल्यौँ । 

‘खासमा हरेक मान्छे डाक्टर हो,’ कोभिडको बेलामा काम गरेको प्रसङ्ग सम्झिँदै रामजीले भने, ‘अस्पताल आएपछि त हामीले उपचार गर्ने हो । खासमा बिरामी त समाजले गराउँछ । यदि हामीले समाजको मान्छेलाई स्वस्थ राख्ने हो भने त सबैजनाले डाक्टरको भूमिका निभाउनुपर्छ । एकजना मात्र डाक्टर भएर हुँदैन ।’

उनले स्वास्थ्यको कुरा निकालेर भनेको भए पनि यो कुरा हाम्रो समाजको कति धेरै तहसँग मेल खाने । हामी अक्सर एकजना हिरो खोजिरहेका हुन्छौँ । एकजनाले सबैथोक गरिदिन्छ भनिरहेका हुन्छौँ । तर कुनै पनि समस्या बन्नलाई एकजनाले मात्र बनेको हुँदैन । त्यसैले त्यसको समाधान पनि एकजनाले मात्र गर्दैन । 

केही समय पहिला रिभ्यु लेखेको स्पटलाइट फिल्मको संवाद संझिँएँ, ‘यदि कुनै बालक हुर्काउन गाउँ नै चाहिन्छ भने कुनै बालकमाथि दुर्व्यवहार हुन पनि गाउँकै हात हुन्छ ।’

मैले आफूले लेखिरहेको ५००० शब्दको नयाँ फिचरको बारेमा सुनाएँ । एउटा मान्छेलाई बनाउने कुरा के हो उसले गर्ने व्यवहार त्यसैले निर्धारण गर्ने हो भनेँ । 

‘उनको कथा मान्छेले किन मनपराएका छन् ?’

‘किनकि उनको जस्तो कथा चाहने मान्छेहरू छन् । राम्रो भएको मनपराउने मान्छेहरू छन् । हामीले राम्रो देख्न नपाएको त नराम्रो गर्नेहरू छ्यापछ्याप्ती भएर हो ।’

‘कथा पढ्ने मान्छेहरू छन् । कविता सुन्ने मान्छेहरू छन् । उनीहरू चाहन्छन् कसैले उनीहरूले सुन्न चाहेको कुरा भनिदियोस् । उनीहरूले कोही होस् भनेको जस्तो मान्छे बनिदियोस् ।’

‘समाज राम्रो बन्न यी कुरा पनि राम्रो हुनुपर्छ ।’

हामीले सामाजिक सेवाको बारेमा पनि गफ गर्‍यौँ । 

‘खाएर उब्रिएको बाँड्नु सामाजिक सेवा हैन । सामाजिक सेवा हुन त आफूले कुनै त्याग गरेको हुनुपर्छ । आफ्नो गाँस काटेको हुनुपर्छ ।’

रामजीले भर्खरै मेडिकल कान्सिललको लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन् । उनी अब डाक्टर भएका छन् । उनको समुदायबाट पहिलो डाक्टर । तर त्यो मात्र पर्याप्त छैन । उनी मात्र भएर पर्याप्त छैन । उनले मात्र पढ्न पाएर पर्याप्त छैन । उनी चाहन्छन् सरकारको शिक्षा व्यवस्था यस्तो होस् कि कसैले पनि उनको जस्तो सङ्घर्ष गर्नु नपरोस् । 

हामी छुट्दा उनले मिठो सौहार्दता फेरि देखाए ।  

मैले त्यो सौहार्दता उनले अब उपचार गर्ने बिरामीसम्म पुगिरहेको देखेँ । 

मनमनै भनेँ ‘भव्य काम गर्नुहोला प्रिय डाक्टर ।’

@SurajWritesNP

 

प्रतिक्रिया

One thought on “डाक्टर रामजी रामसँग जम्काभेट

  1. मन पर्यो।डा. रामजी रामलाई शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *