नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलाे दिन दुई सरकारी वकिलले गरे बहस

नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो दिन दुई जना सरकारी वकिलले बहस गरेका छन्। सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता महेशप्रसाद खत्री र जनकप्रसाद घिमिरेले बहस गरेका हुन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि थुनछेक बहस सुरू भएको हो। इजलाशले बहस गर्न सरकारी वकिलका लागि तीन दिन छुट्याएको छ।
सोमबार र मंगलबार पनि सरकारी वकिलले नै बहस गर्ने छन्। त्यसपछि अर्को मंगलबार सम्म प्रतिवादी तर्फका वकिलहरूले बहस गर्नेछन्। ३० जनालाई प्रतिवादी बनाइएकोमा १८ जना पक्राउ परेका छन्।
नेकपा (एमाले) सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जनलाई पक्राउ परेका छन्।
उनीहरू सबै जनाको गत शुक्रबार बयान सकिएको थियो। बयान सकेसँगै आजबाट थुनछेक बहस सुरू भएको हो।
प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरेको छ।








