मधेश : बजेटकाे सिद्धान्त र प्राथमिकता प्रस्तुत, कपिपेस्ट रहेको भन्दै सांसदको आपत्ति

जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री सञ्जय यादवले प्रस्तुत गरेको विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता पुरानो हुबहु कपिपेस्ट रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले आपत्ति जनाएका छन् ‌। एमालेका सांसद दीपेन्द्र ठाकुरले जुन खालको विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता आएको छ, त्यसले प्रदेश समुन्नत नहुने बताए ।

उनले भने, ‘प्रदेशलाई सकारात्मक दिशातर्फ डोर्‍याउने कुनै विषय समेटिएको छैन । मेरो आँखा नै कमजोर छ वा विज्ञबाट परामर्श लिनमा नै कमजोरी भएको जस्तो मलाई लागेको छ । खन्ती लिएर ठुला बिल्डिङ बनाउने सोच राख्नु ठुलो गल्ती हो ।त्यसका लागि एक्स्काभेटर र डोजर नै चाहिन्छ । तपाईँसँग के छ नीति र कार्यक्रम ? निमुखा जनतालाई झन बर्बाद पार्ने जस्तो कार्यक्रममा कुनै आशा र भरोसा म देख्दिन ।’

सांसद ठाकुरले प्रदेशलाई समुन्नत बनाउनु छ भने १०/२० दिनसम्म व्यापक छलफल र विज्ञहरूको सुझाव लिएर बजेट ल्याउन सुझाव दिए । उनले रोजगारी सृजना गर्न र उत्पादन मूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा पनि जोड दिए । उनले चम्चागिरी गरेर दलका नेता र मन्त्री बन्नेहरू केही गर्न नसकेको गुनासो गरे । उनले भने- मन्त्रीहरू आफ्ना घर वा बढीमा आफ्नो क्षेत्रको विकास मात्र गरेको देखियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *