गगन-देउवा सवाल जवाफ

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व छताछुल्ल हुन पुगेको छ । ‘उत्साह, एकता र रूपान्तरण’को नारासहित १४औँ महाधिवेशन सम्पन्न भएको १७ महिनामै विवाद देखिन थालेको हो ।

दोस्रो कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्न सफल सभापति शेरबहादुर देउवा र लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित भएका गगनकुमार थापाबीचको आन्तरिक संघर्ष र मनमुटाब सार्वजनिक रूपमै प्रकट हुन थालेको छ । स्वभावैले धेरै बोल्न नचाहने पार्टी सभापति देउवा र भाषणमार्फत युवाको रक्तसञ्चारमा तरंग ल्याउने क्षमता भएका महामन्त्री थापाबीचको अन्तरद्वन्द्व दिनप्रतिदिन छताछुल्ल भइरहेको हो ।

पछिल्लोपटक नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्ने आवाज उठ्दै गर्दा मौन देखिएको नेतृत्वमाथि संस्थापनइतर समूहको चर्को असन्तुष्टि छ भने, महामन्त्री थापा लगायतको अर्को समूह सभापति देउवाको कार्यशैलीको विरोधमा संगठित भइरहेको छ । शुक्रबार पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठानको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले सभापति देउवाविरुद्ध लड्ने घोषणा नै गरे ।

महामन्त्री थापाले पार्टी सभापति देउवासहित नेतृत्वमा रहेका केही व्यक्तिले मुलुक र पार्टी हितविपरीत गरेको गल्ती आफूहरूले सहेर बस्न नसक्ने चेतावनी दिए । पार्टी सभापतिले महत्त्वपूर्ण निर्णय गर्दा पनि महामन्त्रीहरूसँग छलफल नगरेको र केन्द्रीय समितिको बैठक पनि महिनौँसम्म नबोलाएकोमा असन्तुष्टि जनाउँदै महामन्त्री थापाले भनेका थिए, ‘नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्त्वपूर्ण, दीर्घकालीन महत्त्वको र जनचासोको विषयमा निर्णय गर्‍यो । एउटा निर्णय आममाफीको बारेमा, अर्को निर्णय नागरिकताको विषयमा । यी सबै निर्णय नेपाली कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो । अहिलेसम्म पार्टीभित्र धेरै सहन गरियो अब सहन गर्न सकिँदैन ।’

त्यसको जवाफ सभापति देउवाले शनिबार दिए । उनले नेतृत्वलाई गाली गरे संगठन बलियो नबन्ने भन्दै सबै नेता र कार्यकर्तालाई एकजुट भएर काम गर्न निर्देशन नै दिएका छन् । महामन्त्री थापाप्रति लक्षित गर्दै उनले भने, ‘काम गर्नुहोस् न पार्टी ठूलो बनाउनुहोस्, बलियो बनाउनुहोस् । विरोध गरेर पार्टी बन्नेवाला छैन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ । पार्टी बनाउने जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । आपसी लडाइँले पार्टी दुर्घटनामा जान सक्छ । यसतर्फ पनि सचेत रहनुहोस् ।’

सभापति शेरबहादुर देउवाले अब पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने उद्घोषसमेत गरे । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले सभापतिको रूपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको स्पष्ट पार्दै भने, ‘पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो,पार्टी सभापति हुने होइन । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ ।’

कांग्रेसमा महाधिवेशन सम्पन्न भएको डेढ वर्ष पुग्दा पार्टीभित्र विवाद र असन्तुष्टिका स्वरहरू बाक्लिन थालेका छन् । राष्ट्रिय राजनीतिमा कतिपय विषयमै संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसभित्रबाट फरक मत र धारणा प्रकट भइरहेका छन् । पार्टीभित्र शुद्धीकरणका लागि भन्दै पदाधिकारीदेखि केन्द्रीय समितिमा रहेका नेताहरूले छुट्टाछुट्टै अभियान सञ्चालन गर्न थालेका छन् । पटक-पटक भाका सार्दै डेढ वर्षअघि सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व पाए पनि पार्टीभित्र आन्तरिक विवाद र गुटगत राजनीति अन्त्य गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =