उडिशा रेल दुर्घटना : २ सय ६१ जनाको मृत्यु, नौ सयभन्दा बढी घाइते

उडिशा राज्यको बालासोरमा द्रुत गतिमा हुइँकिएका तीन वटा रेल एक आपसमा ठोक्किएर शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई सय ६१ पुगेको छ भने नौ सय जनाभन्दा बढी यात्री घाइते भएका छन् ।
दक्षिण पूर्वी रेलवेका अनुसार घाइते यात्रुहरूलाई राज्यको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोका अस्पताल भर्ना गरिएको छ । दुर्घटना स्थलमा उद्धार कार्य पूरा भएको र पुनः स्थापनाका काम जारी छन् ।

शुक्रबार बिहान सात बजे बालासोर जिल्लाको बहानागा बजार स्टेशनमा बेङ्गलुरु–हावडा सुपरफास्ट एक्सप्रेस, कोरोमण्डल एक्सप्रेस र मालवाहक रेल ठोक्किएका थिए । दुर्घटनामा यात्रुवाहक दुई वटा रेलका १७ वटा डिब्बा पटरीबाट बाहिर धेरै पर पुगेका छन्, गम्भीर रूपमा क्षतिग्रस्त भएका डिब्बाबाट त्यहाँ फसेका सबैलाई उद्धार गरिएको छ ।

केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव आफैँ पुनः स्थापनाको निरीक्षणमा हुनुहुन्छ । रेलवे बोर्डका अध्यक्ष, स्वास्थ्य सेवा विभागका महानिर्देशक घाइते यात्रुहरूको उपचारको निगरानी गरिरहेका छ भने अन्य सबै वरिष्ठ सरकारी अधिकारीहरू अस्पतालहरूमा घाइते यात्रुहको हेरचाह एवम् समन्वय गरिरहेका छन् ।

दुर्घटना स्थलमा औषधिसहित प्यारामेडिकल स्टाफसहित सयभन्दा बढी चिकित्सक टोलीलाई परिचालन गरिएको छ । घाइतेहरूलाई सोरो, बालासोर, भद्रक र कटकका अस्पतालहरूमा लैजान दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको छ ।

उडिशा सरकारले दुर्घटनाका कारण अलपत्र परेका उडिशा र पश्चिम बङ्गालका यात्रुहरूलाई उनीहरूको गन्तव्यसम्म निःशुल्क यातायात सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । त्यसका निम्ति दुघएटनास्थल नजिक ३० वटा बस तयारी अवस्थामा राखिएको छ । घाइतेहरूलाई प्रदेशका सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *