पिएसजी छोड्न नेइमारले राखे यस्तो शर्त, कहाँ जान चाहन्छन् ?

काठमाडौँ । ब्राजिलका सुपरस्टार खेलाडी नेइमारले पिएसजी छोड्ने विषय यस सिजनमा पनि पेचिलो बन्ने देखिएको छ । उनले एकमात्र विकल्पसहितको शर्त राखेपछि  विषय पेचिलो बन्ने देखिएको हो ।

नेइमारले म्यानचेस्टर युनाइटेडका लागि मात्र पिएसजी छोड्ने सर्त अगाडी सारेका छन् । पिएसजीले यस सिजनमा लियोनेल मेसीको समेत सम्झौता नवीकरण नगर्ने भएपछि नेइमारले पनि क्लब छोड्ने अनुमान गरिएको छ । तर नेइमार भने म्यानचेस्टर युनाइटेड बाहेक अन्य क्लबका लागि पिएसजी नछोड्ने क्लबलाई स्पष्ट गरेका हुन् ।

३१ वर्षीय नेइमारको पिएसजीमा सुखद बसाई भने हुन सकेको छैन । लगातार भइरहेको इन्जुरिका कारण उनी लामो समय मैदान बाहिर नै रहेका छन् । पिएसजीका समर्थकले समेत नेइमारलाई पटक पटक क्लब छोड्न दबाब दिइरहेका छन् । नेइमारको पिएसजीमा अझै चार वर्षको सम्झौता रहेको छ । उनको सहमति बिना पिएसजीले अन्य क्लबमा बेच्न सक्दैन ।

म्यानचेस्टर युनाइटेडले नेइमारमाथि चासो देखाएको बताइएको भएपनि अहिलेसम्म यस बारेमा स्पष्ट जानकारी आएको छैन । तर नेइमारका लागि म्यानचेस्टर युनाइटेडले कति लगानी गर्छ भन्ने विषयमा अन्योलनै रहेको छ । नेइमारको प्रति साता पारिश्रमिक नै करिब एक मिलियन पाउण्ड रहेकाले युनाइटेड सो रकम तिर्न भने तयार नहुने खेल विश्लेषकहरूले बताएका छन् ।

नेइमार युनाइटेड जानका लागि आफ्नो पारिश्रमिकमा ठूलो कटौतीको लागि तयार हुनुपर्ने बताइएको छ । अहिले नेइमार पछिल्लो मार्चदेखि मैदान बाहिर रहेका छन् । नेइमारले पिएसजीका लागि अहिलेसम्म १७३ खेलमा ११८ गोल गरेपनि क्लबलाई च्याम्पियन्स लिग भने जिताउन असफल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *