मेरो राजनीतिक भविष्य सिध्याउन मुद्दा लगाइयो, सफाइ पाऊँ : टोपबहादुर (बयानसहित)

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका निलम्बित सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझीसँग आज बयान लिइएको छ । बयानका क्रममा जिल्ला अदालत काठमाडौँको इजलासमा आज रायमाझीसँग बयान लिइएको हो । रायमाझीले यसअघिको भन्दा केही फरक बयान दिएका छन् । रायमाझीले यसअघि प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयलाई दिएको भन्दा फरक बयान दिएका छन् ।

१८ जनाकै बयान सक्ने तयारी भएको छ। बयानको अन्तिम दिन जिल्ला अदालत काठमाडौंका छुट्टाछुट्टै फाँटमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनले बयान दिइरहेका छन्।

यसअघि १५ जनाको बयानसकिएको छ। बयान सकिएसँगै सबै प्रतिवादीविरुद्ध थुनछेक आदेश आउने छ। यही प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बिहीबार बयान दिएका थिए। उनलाई इजलासले २६ वटा प्रश्न गरेको थियो।

जसमा रायमाझीले यसअघि जिल्ला सरकारी वकिल कार्यालय र प्रहरी समक्ष दिएको बयानभन्दा केही फरक बयान दिएका छन्।

बयानमा रायमाझीले भनेका छन्– ‘जाहेरवाला जति पनि व्यक्तिहरु कसैसँग मेरो चिनाजान छैन। उनीहरुसँग चिनजान नभएको हुनाले लेनदेन पनि हुने प्रश्न नै भएन । म उर्जामन्त्री भएको समय भन्दाअगाडि संसद् सदस्य रहेको अवस्थामा भुटानी शरणार्थीहरुको समस्या समाधानको लागि विभागीय मन्त्रालयले कार्यदल बनाएको भन्ने कुरा पत्रपत्रिकाबाट थाहा पाएको थिएँ। तर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने विषयमा भने मलाई केही जानकारी छैन ।’

उनले उक्त प्रकरणका आरोपित भनिएका केशव दुलाल र सानु भण्डारीबाट कुनै रकम नलिएको बताएका छन् । उनले आफ्नो राजनीतिक छवि धमिल्याउन आफूलाई यो घटनामा मुछिएको बताएका छन् ।

यस्तो छ इजलासमा रायमाझीले दिएको बयान : 

सवाल : तपाईंलाई तपाईं उपर लागेको अभियोग सुनाइन्छ, सो अभियोग उपर बयान दिन कर लाग्ने छैन, तपाईंले दिएको बयान तपाईंको विरुद्धमा प्रमाण लाग्न सक्छ, तपाईं बयान दिन तयार हुनुहुन्छ ?

जफाव : म बयान दिन तयार छु ।

सवाल : प्रतिवादीहरु मध्ये क–कस्लाई चिन्नुहुन्छ र निजहरुसँग लेनदेन रिसइबी झगडा छ, छैन ? 

जफाव : प्रतिवादी केशव प्रसाद दुलालसँग करिब १५/१६ वर्ष अगाडी सुजता कोइरालाको निवासमा जाँदा निजको स्वकीय सचिव भन्ने सुनेको हो । त्यस समयमा निजसँग भेटघाट भई चिनजान भएको हो । त्यसपश्चात लामो समयसम्म भेट भएको थिएन । पछिल्लो पटक धार्मिक स्थल गोसाईकुण्डमा जाँदा भेटघाट भएको थियो । त्यसपछी निजसँग भेटघाट भएको छैन। निजसँग लेनदेन रिसइबी केही रहेको छैन। प्रतिवादी सानु भण्डारीसँग सामान्य चिनजान रहेको छ । निज मेरो छोरा सन्दिप रायमाझीको विजनेस पार्टनर भएको कारणले चिनजान भएको हो । निजसँग लेनदेन कारोबार र रिसइबी केही रहेको छैन । प्रतिवादी डा. इन्द्रजित राईसँग पार्टीगत हिसाबले सामान्य चिनजान रहेको छ । निजसँग लेनदेन र रिसइबी केही रहेको छैन । बालकृष्ण खाँणसँग चिनजान रहेको छ । निज मन्त्री, कांग्रेसको नेता र सांसद भएको नाताले चिनजान भएको हो। निजसँग लेनदेन तथा रिसइवी केही रहेको छैन। प्रतिवादी टेकनाथ रिजालसँग करिब ६/७ वर्ष पहिले सार्वजनिक कार्यक्रममा भेटघाट भएको र कुराकानी भएको भएको थियो । त्यसपछी निजसँग भेटघाट भएको छैन । अन्य बाँकी प्रतिवादीहरुलाई चिन्दिन र निजहरुसँग भेटघाट भएको छैन।

सवाल : जाहेरवाला गजेन्द्र बुढाथोकी समेत विभिन्न जाहेरवालाहरुले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने भनी रकम लिई अमेरिका नपठाई रकम फिर्ता समेत नगरी ठगी गरेको भन्ने । जाहेरी दरखास्तहरु छन, सो सम्बन्धमा तपाईंलाई के थाहा छ ? को को भई के कसरी जाहेरी दरखास्तमा उल्लेख गरे अनुसारको कसूर गर्नुभएको हो खुलाइदिनुहोस् ?

जवाफ : जाहेरवाला जतिपनि व्यक्तिहरु कसैसँग मेरो चिनजान रहेको छैन। निजहरुसँग चिनजान नभएको हुनाले लेनदेनको विषयमा पनि थाहा हुन प्रश्न नै भएन। म उर्जा मन्त्री भएको समय भन्दा अगाडी संसद सदस्य रहेको अवस्थामा भुटानी शरणार्थीहरुको समस्या समाधानको लागि विभागिय मन्त्रालयले कार्यदल बनाएको भन्ने कुरा पत्रपत्रिकाबाट थाहा पाएको थिए तर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने विषयमा भने मलाइ केही जानकारी छैन।

सवाल : नेपाली नागनिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने योजना क–कसले बनाउनु भएको हो ? तपाईंले को मार्फत यसबारेमा जानकारी पाउनुभएको हो ? खुलाईदिनुहोस्।

जवाफ : यस विषयमा मलाई कुनै जानकारी छैन ।

सवाल : तपाईंलाई सह–प्रतिवादी केशव प्रसाद दुलालले अनुसन्धानको क्रममा खुलाई लेखाई दिएको बयान व्यहोरामा तपाईंंलाई पटक पटक नगद र बैक खातामा रकम पठाएको भनी सानु भण्डारीले भनेको हुनाले म र सानु भण्डारी तपाईंंको सातदोबाटोको घरमा गई बुझ्दा हामीले रकम पाई सकेका छौ भनी जानकारी भएको भनी उल्लेख गरेको कुरा के कसो हो ? तपाईंंले के कती रकम लिनुभएको हो ? खुलाईदिनुहोस ।

जवाफ : निज केशव प्रसाद दुलाललाई एक/दुई पटक राजनीतिक कार्यक्रममा भेटघाट भएको हो । निज त्यतिवेला सुजता कोइरालाको स्वकीय सचिव हुँ भन्थे । अरु निजसँग व्यक्तिगत चिनजान रहेको छैन । निजले गर्ने कामको बारेमा मलाई जानकारी छैन। निजले के कस्तो बयान गरे मैले भन्न सक्ने अवस्था भएन। मेरो राजनीतिक छवी धुल्मिल्याउन कसैको उक्सावटमा आएर निजले यस्तो बयान दिएको हुनसक्छ । सानु भण्डारी मार्फत मैले रकम लिएको भन्ने कुरा सरासर झूठा हो। मलाई झूठा रूपमा फसाउन खोजिएको छ। यो आरोपमा कुनै सत्यता छैन।

सवाल : तपाईंलाई सह प्रतिवादी केशव प्रसाद दुलालले अनुसन्धानको क्रममा खुलाई लेखाई दिएको बयान व्यहोरामा तपाईंको स्वकिय सचिव लिला जि.सी.ले केशव प्रसाद दुलाललाई मन्त्री क्वाटर पुल्चोकमा बोलाई सामाजिक समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका १ करोड नगदै बुझिलिएका हुन भन्ने व्यहोरा उल्लेख गरेको कुरा के कसो हो ? खुलाईदिनुहोस ।

जवाफ : यस विषयमा मलाई जानकारी छैन ।

सवाल : तपाईंलाई सह प्रतिवादी केशव प्रसाद दुलालले अनुसन्धानको क्रममा खुलाई लेखाई दिएको बयान व्यहोरामा तत्कालिन गृहमन्त्री राम बहादुर थापा बादल र तपाईंंसँग मिटिङ गराई सकेपछि तपाईंहरुको काम हुने भयो भनी डा. अजय क्रान्ती शाक्य र राजेश्वर स्थापितले जनही १ करोड बुझिलिएका भन्ने उल्लेख गरेको कुरा के कसो हो ? तत्कालिन गृहमन्त्री राम बहादुर थापा बादल र तपाईंबीच के विषयमा कुराकानी भएको थियो ? खुलाईदिनुहोस् ।

जवाफ : डा. अजय क्रान्ती शाक्य र राजेश्वर स्थापितलाई चिन्दिन । रामबहादुर थापा बादलको मन्त्री क्वाटरमा मिटिङ बसैको सत्य होइन । सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयमा निर्णय गराउने सम्बन्धमा र रकम दिनुपर्छ भने विषयमा मलाई जानकारी छैन।

सवाल : तपाईंलाई सह प्रतिवादी सानु भण्डारीले अनुसन्धानको कममा खुलाई लेखाई दिएको बयान व्यहोरामा २०७६/३/२८ गते तपाईंको ललितपुर सातदोबाटोमा रहेको सेल्सवेरी सुपर मार्केट पछाडी रहेको घरमा गई १ करोड ६० लाख नगदै दिएको र ४० लाख तपाईंको छोरालाई दिएको भन्ने उल्लेख गरेको कुरा के कसो हो ? के कति रकम रकम निजसँग तपाईंंले लिनुभएको हो ? खुलाईदिनुहोस। 

जवाफ : निजले बयानमा उल्लेख गरेको ललितपुर सातदोबाटोमा रहेको सेल्सवेरी सुपर मार्केट पछाडी मेरो घर त्यहाँ रहेको छ। निज सानु भण्डारीसँग सामान्य चिनजान मात्र रहेको छ । निजसँग कुनै घनिष्ठ सम्बन्ध रहेको छैन। निजले मलाई १ करोड ६० लाख दिएको भन्ने कुरा बिल्कुल गलत हो। त्यसमा कुनै सत्यता छैन। मेरो छोरा सन्दिप रायमाझी निज सानु भण्डारीसँग व्यवसायिक पार्टनर रहेकोले मेरो छोरालाई ४० लाख दिएको भन्ने सन्दर्भमा मेरो छोराले नै स्पष्ट पार्ने कुरा हो। म छोरासँग सँगै बस्ने भएपनि, स्वतन्त्र रुपमा व्यवसायिक कारोबार गर्ने भएकोले निजले छोरालाई रकम दिएको भन्ने विषय मलाई जानकारीमा छैन ।

सवाल : तपाईंँलाई सह प्रतिवादी सानु भण्डारीले अनुसन्धानको कममा खुलाई लेखाई दिएको बयान व्यहोरामा तपाईंले निज र निजको परिवारलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी भनेको हुँदा रकम तपाईंको छोरालाई दिएको भन्ने उल्लेख गरेको कुरा के कसो हो ? के कति रकम रकम निजसँग तपाईंले लिनुभएको हो, खुलाईदिनुहोस ।

जवाफ : सानु भण्डारीले डायरीमा लेखेको विषय के कसो हो मलाई जानकारी छैन । निज भण्डारी मेरो छोरासमेतको साझेदारी भएको कम्पनीमा शेयर लगानी रहेको भन्ने सुनेको छु । कम्पनीको साझेदार लियोन ट्रेडर्स भएकोले चिनेको हो । निजबाट मैले कहिल्यै पैसा लिएको छैन । लिनु पर्ने आवश्यकता पनि परेन । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा कहि कतै संलग्न रहेको छैन । तसर्थ निजबाट रकम लिएको कुरा झुठा हो । व्यक्तिगत रुपमा सानु भण्डारीले के कुन प्रयोजनको लागि यस्तो लेखेका हुन मलाई जानकारी भएन म यसमा बेकसूर छु ।

सवाल : अभियोग साथ पेश भएको सानु भण्डारीको नामको डायरी तपाईंलाई देखाई सुनाईन्छ, उक्त डायरीमा भुटानी शरणार्थी रकमबाट खर्च भएको विवरण समेत लेखिएको शिर्षक व्यहोरा सम्बन्धमा टोप मामा भन्ने व्यक्ति तपाईं टोप बहादुर रायमाझी हो भनी उल्लेख गरेको र टोपमामालाई ५ लाख र ३ लाख रकम दिएको भन्ने व्यहोरा के कसो हो ?

जवाफ : निज सानु भण्डारी भन्ने व्यक्ति नाताले मेरो भान्जा होइनन् र म निजको मामा पनि होइन । विभिन्न समयमा अलग अलग रकम दिएको भन्ने कुरा सरासर झुठा हो । यसमा कुनै सत्यता छैन । उनले के प्रयोजनका लागि डायरीमा लेखेर दिएको भन्ने उल्लेख गरेका हुन यो ज्यादै नै निन्दनिय विषय रहेको छ । निजबाट मैले कुनै रकम लिएको पनि छैन ? दिएको पनि छैन। कुनै प्रमाण पनि छैन । अहिलेसम्म निजसँग कुनै प्रकारको लेनदेन भएको छैन ।

सवाल : तपाईंलाई सह प्रतिवादी सानु भण्डारीले अनुसन्धानको क्रममा निजको मोबाइलमा रहेको टोप मामा … भएको स्किन सर्ट देखिएको र अडियोमा टोप मामा भनी कुरा गरेका व्यक्ति तपाईं नै हो भनी उल्लेख गरेको देखिन्छ, सो सम्बन्धमा तपाईंलाई के जानकारी छ ?

जवाफ : उक्त मोबाइल नम्बर मेरो रहेको छ । तर निजले आफ्नो मोबाइलमा के लेख्छन त्यो मसँग सम्बन्धित विषय भएन । निजले भेट हुँदा मलाई माननीयज्यू भनेर सम्बोधन गरेको मलाई जानकारी छ ।

सवाल : तपाईंलाई सह प्रतिवादी विक्रम भन्ने गोविन्द कुमार चौधरीले अनुसन्धानको कममा खुलाई लेखाई दिएको बयान व्यहोरामा निजले टेकनाथ रिजाललाई तपाईंको घरमा पुर्याइदिएको भन्ने उल्लेख गरेको कुरा के कसो हो?

जवाफ : करिब ६/७ वर्ष अगाडी टेकनाथ रिजालसँग सार्वजनिक कार्यक्रममा १ पटक भेट भएको थियो। त्यसबाहेक निजसँग फोनसम्पर्क पनि भएको छैन, निजलाई सम्पर्क गर्न भनी मलाई कसैले भनेको पनि छैन, भेटघाट पनि भएको छैन, निजलाई मेरो घरमा कसैले ल्याएको पनि छैन। निजले मेरो घरमा ल्याएको भन्ने कुरा सरासर झूटा रहेको छ ।

सवाल : तपाईंलाई सह प्रतिवादी टेकनाथ रिजालले अनुसन्धानको क्रममा खुलाई लेखाई दिएको बयान व्यहोरामा ‘केही नेपाली नागरिकलाई भुटानी शरणार्थीहरुकै नाममा अमेरिका लैजाने हाम्रो योजना रहेको छ, तपाईंले सहयोगीको भूमिका खेलिदिनुपर्यो’ भनेको र यसमा तपाईंको संलग्नता रहेको भन्ने समेतको व्यहोरा के कसो हो ? 

जवाफ : टेकनाथ रिजाल भुटानी शरणार्थीलाई भुटानमा नै पुनस्थापना गर्नको लागि लडेको मानव अधिकार कर्मी हुन भन्ने सुनेको छु। उहाँ अन्तराष्ट्रिय जगतमा पनि मानव अधिकारवादी लेखकको रुपमा परिचित हुनुहुन्छ । यस्ता व्यक्तिहरुसँग म राजनितिकर्मी भएको कारणले औपचारिक कार्यक्रममा सहभागी हुनु स्वभाविक कुरा हो र निजसँग १ पटक सार्वजनिक कार्यक्रममा भेटघाट भएको हो।

निजसँग गहिरो र राम्रो चिनजान भेटघाट भएको छैन। निजसँग राम्रो चिनजान र भेटघाट नै नभएको अवस्थामा मेरो संलग्नता रहेको भनी हचुवामा कसरी भन्नुभयो मैले भन्न सक्दिन। प्रस्तुत मुद्दाको सन्दर्भमा मेरो कुनै पनि प्रतिवादी तथा निजसँग यस विषयमा एसएमएस, च्याट र कलडिटेल समेत रहेको छैन। शुद्ध रूपमा, म राजनितिक गरेको मान्छेलाई मानव अधिकारकर्मी जस्तो व्यक्तिले कसैको बहकावमा आएर मेरो राजनितिक छवीलाई आँच पुर्याउन तथा निजले

अपराध लुकाउन यस्तो बयान दिएको हुनसक्छ। मेरो बारेमा निजले दिएको बयान व्यहोरामा कुनै सत्यता छैन।

यदि म समेतको संलग्नता भएको भए मेरो नाम समेत उल्लेख गरी ४६ वर्ष पहिले नै उजुरी गर्नुपर्नेमा कहि कतै मेरो नाम उल्लेख गरी उजुरी दिनुभएको छैन। यसैबाट निजको बयान, झूठा हो भन्ने कुरा स्पष्ट हुन्छ।

सवाल : तपाईंलाई पेश भएको मिसिल संलग्न अनुसन्धानमा उल्लेख गर्नु भएको बयान व्यहोरा पढिबाची सुनाइन्छ, सो व्यहोरा के कसो हो ? 

जवाफ : सो व्यहोरा पढिवाची सुनाउदा सुनिपाए। सही व्यहोरा यो छ की प्रतिवादी सानु भण्डारी मेरो छोराको बिजनेज पार्टनर भएका कारण चिनजान भएको हो। प्रतिवादी टेकनारायण पाण्डे मेरो जिल्लावासी भएको र नेपाल सरकारको सचिव भएकी जानकार छु, तर निजसँग सहकार्य रहेको छैन । बालकृष्ण खाँडलाई काग्रेसको नेता, मन्त्री र सांसद भएको नाताले चिन्दछु । सानु भण्डारी मेरो नाताले भान्जा होइनन, निजको स नाताले मामा होइन। प्रतिवादी केशव प्रसाद दुलाले मलाई गोसाइकुण्ड घुम्न जाउँ भनेको होइन। प्रतिवादी सानु भण्डारीले धार्मिक स्थल गोसाईकुण्डमा जान आग्रह गर्नुभयो र शुरुमा मैले इन्कार गरे, त्यसपछी निजले समग्र रूपमा जान आउन र घुम्न ४५ मिनेट लाग्छ भनेकोले म गएको हो म जाँदा त्यस टिममा प्रतिवादी केशव प्रसाद दुलालसमेतका २/३ जना व्यक्तिहरु रहेका थिए।

सानु भण्डारीले केशव प्रसाद दुलाललाई चिन्नु भएन भनी सोधेको र पुरानो सम्झनाको लागि फोटो खिचौ भनी केशव प्रसाद दुसालले पुनर्ताजकी गरौं भनी फोटो खिच्न आग्रह गरे, त्यसपछी हामी र त्यहाँ टिमका अन्य व्यक्तिहरुले फोटो खिचेका थियौ। सानु भण्डारीले केशव प्रसाद दुलाल बाहेकबाहेक अन्यलाई चिनजान गराएनन। ईन्द्रजित राई सामान्य चिनजान भएका व्यक्ति हुन। म गृह मन्त्रालय जाँदा गृह मन्त्री भेट्ने सिलसिलामा निज मन्त्रीको कार्यकक्षमा हुँदा सामान्य शिष्टाचार हुने गरेको थियो। अर्घाखाची जिल्लामा बाढी पहिरोबाट भएको क्षतिको सम्बन्धमा राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन भनी डेलिकेशन सहित म गृह मन्त्रालय गएको थिए इन्द्रजित राई सानु भन्डारी र केशव प्रसाद दुलालु विच लेनदेन विषयमा विवाद तथा झगडा भएको सम्बन्धमा मलाई कुनै जानकारी नै छैन। निज सानु भण्डारी र केशव प्रसाद दुलालसँग गृह मन्त्रालयको बाहिर मेरो भेट भएको छैन र कुनै कुराकानी भएको छैन। बालकरण पन्थी कार्यदलको संयोजक भएको जानकारी सम्म छ निजसँग कुनै सहकार्य र प्रत्यक्ष चिनजान छैन। २०६० वैशाख २० गते म र सभामुख अर्घाखाचीको बल्कोट मा.वि. को हिरक महोत्सवमा सगै गएका थियौं । उक्त दिन २ बजे म र मेरो छोरालाई पकाउ पुर्जी जारी गरेको जानकारी

भयो। मैले जानकारी पाएपछी कार्यक्रम स्थगित गरी म काठमाडौं हाजिर हुन आउने भनेर सभामुखसँगै फर्के । सभामुखको ८ बजेको टिकट थियो। मेरो टिकट थिएन। म टिकट काट्नको लागि आफ्नो मानिसहरुलाई सुझाव दिए। बेलुका ९ बजेको मात्र एउटा टिकट पाइयो। अर्को टिकट छोराको लागि लिन खोजी भयो। टिकट पाइएन। सभामुखको भन्दा १ घण्टा पछि मेरो टिकट थियो । सभामुख भैरहवा एरपोर्ट तिर लाग्नुभयो। म बुटवल हुँदै एअरपोर्ट जाने सोचें। त्यसपछी म बुटवल नपुग्दै बुटवल र पाल्पाको सिमाना सिद्धवावामा सन्दिप रायमाझी गिरफ्तार भएको जानकारी भयो अनि मेरो लागि पनि भैरहवा एअरपोर्टमा गिरफ्तार गर्ने तयार भएको जानकारी पाए । म आफै हाजिर हुने भनी टिकट काटेर बसेको मान्छे त्यस प्रकारको जानकारी पाएपछी भैरहवाबाट काठमाडौ जाने समय ढिला भयो। म विरामी पनि थिए। उपचार गरेर केही सुधार भएपछी आफै हाजीर हुनुपर्छ भन्ने मनसाय बनाए। उक्त दिन काठमाडौ जान नपाएपछी उपचारको कारण केही समय विलम्ब हुन गयो। तर म फेरी काठमाडौं हाजिर हुन भनी आइपुगे र सुरक्षाकर्मीसँग काठमाडौमा जम्काभेट भई मलाई सम्बन्धित प्रहरी कार्यालयमा पुर्याउने काम भयो ।

सवाल : तपाईंलाई जाहेरवाला प्रेमराज पन्थीले जाहरीमा उल्लेख गरेको सम्पूर्ण व्यहोरा पढिवाची सुनाइन्छ, सो व्यहोरा के कसो हो ? खुलाईदिनुहोस ।

जवाफ : निजले उल्लेख गरेको व्यहोरा सुनिपाए । निज प्रेमराज पन्थी भन्ने मान्छेलाई म चिन्दिन। मैले व्यक्तिगत रुपमा नचिनेको मान्छेलाई रेष्टुरेन्ट लगायतका स्थानमा भेट्ने भन्ने प्रश्न नै उठदैन । तसर्थ निजलाई अमेरिका पठाईदिने भन्ने जाहेरी व्यहोरा झूठा हो। निजले किन यस प्रकृतिको जाहेरी दिए स्पष्ट भन्न सकिदैन । मेरो राजनितिक छवी धमिलो बनाउने उद्देश्य स्वरुप कसैको उक्सावटमा निजले यस्तो जाहेरी दिएको हुनुपर्छ। नेपालीलाई भुटानी शरणार्थी बनाउन अमेरिका लैजाने भन्ने विषयमा म कहि कतै संलग्न छैन र जानकारी पनि छैन। म निर्दोष छु। जाहेरवाला मध्येका प्रेमराथ पन्थीले मलाई प्रकाउ गरिसकेपछी जेष्ठ १ गते मात्र झुठा व्यक्ति खडा गरी दिएको जाहेरीको विषयमा प्रहरीलाई थाहा होला। जाहेरीका विषयमा मलाई थाहा छैन।

सवाल : गृह मन्त्रालयले २०७६ जेठ ३० को मन्त्रीस्तरीय निर्णय अनुसार गठित बालकृष्ण पन्थी समेत रहेको समितिले तयार पारेको भुटानी शरणार्थीको अनुसुचिमा रहेको नाममा परिवर्तन गरि नेपाली नागरिकको नाम राखि नक्कली प्रतिवेदन तयार पारेको भनिएको प्रस्तुत मुद्दामा उठाइएको विषय सम्बन्धमा तपाईंलाई केही थाहा छ की ? उक्त कार्य को कस्ले के कसरी गरेका हुन ? 

जवाफ : बालकृष्ण पन्थी कार्यदल मेठन भएको जानकारी पत्रपत्रिकाबाट मात्र जानकारी भएको हो। उक्त कार्यदलले के कति भुटानी शरणार्थी रहेको भनी रिपोर्ट पेश गर्यो, सो बारेमा मलाई जानकारी छैन । बालकृष्ण पन्थीको कार्यदलले पेश गरेको प्रतिवेदनको अनुसुचिमा हेरफेर गरेको विषयमा मलाई जानकारी हुने विषय नै भएन।

सवाल : भुटानी मानव अधिकारको संगठन सदस्यता कार्ड को कस्ले निर्माण गरेको हो? सो बारेमा केही जानकारी पाउनु भएको थियो की ?

जवाफ : यस विषयमा मलाई कुनै जानकारी छैन ।

सवाल : तपाईंलाई मिसिल संलग्न मौकामा अनुसन्धानको क्रममा मन बहादुर खत्री समेतका सुरेन्द्र राज दाहाल, फणिन्द्रमणि पोखरेल, बालकृष्ण पन्थी, गणेश बहादुर के.सी. समेतको सम्पूर्ण मानिसहरुले गरेको घटना विवरण कागज पढिवाची सुनाईन्छ, उक्त व्यहोरा के कसो हो? जानकारी भए सम्मको व्यहोरा खुलाईदिनुहोस । 

जवाफ : निजहरुले अनुसन्धानमा खुलाइदिएको उक्त कागजहरु सुनाउदा सुनिपाए । यस विषयमा निजहरुले उल्लेख गरेका सवालहरुमा मलाई कुनै जानकारी छैन ।

सवाल : तपाईंलाई मिसिल संलग्न सानु भण्डारीको मोबाइल परिक्षण गर्दा अडियो रेकर्डमा प्रेम राई, बादल, टोप बहादुर रायमाझीलाई ५ करोड दिएको र मिलाएर १६२९ जनाको फायल पास गराउनुपर्छ, यो कुरा बाहिर आयो भने वर्वाद हुन्छ, दुलालको दुक्की तिर्की मान्छेहरु छन् यो प्रोजेक्ट जसरी पनि पास गर्नु पर्छ, यो सबै काम मैले गर्ने हो, म बाहेक कसैले सक्तैन भन्ने समेतका कुराकानी रहेको विवरण सुनाईन्छ, उक्त व्यहोरा के कसो हो ? खुलाईदिनुहोस ।

जवाफ : सो सम्बन्धमा मलाई केही जानकारी रहेको छैन।

सवाल : तपाईंको पारिवारिक आर्थिक अवस्था के कस्तो रहेको छ तपाईंको नाममा के कति जग्गा जमिन र बैंक खाताहरु रहेका छन ? डिटेलमा खुलाईदिनुहोस् । 

जवाफ : मेरो परिवारमा ८७ वर्षको आमा, भाई भाईका १ छोरा छोरी, उनिहरु गाउँमा बस्छन। म, मेरो श्रीमती, एक छोरा र एक छोरी रहेका छन। छोराको एक नाती र नातिनी रहेका छन। छोरीको १ छोरी मेरो नातिनी रहेकी हुन । हामी एकासगोलमा रहेका छौ। मेरो व्यक्तिगत बैंक खाता संसद सचिवालयले

खोलेको एभरेष्ट बैंकको खाता रहेको छ। सो खातामा मैले कुनै रकम जम्मा गरेको छैन। अन्य बैंकमा खाता रहेका छैनन । मेरो छोराले खोलेको कम्पनीको कारोबारको क्रममा मेगा बैंकमा करिब ३ करोडको ऋण भएको सुनेको छु । मेरो नाममा ८ रोपनी जग्गा अर्घाखाचीमा रहेको छ । अन्यत्र मेरो नाममा जग्गा छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *