प्रचण्ड गर्मीमा मिटरब्याज पीडितहरूको पैदल यात्रा

जनकपुरधाम । न्यायका लागि मिटरब्याज पीडितहरू प्रचण्ड गर्मीमा सिरहाको बलानदेखि कमलासम्म पैदल यात्रामा निस्केका छन् । मिटरब्याज विरुद्धको संघर्ष समितिले जनजागरण अभियान अन्तर्गत सुरु गरेको पैदल यात्रामा करिब ३ सय बढी पीडित सहभागी छन् । जसमध्ये अधिकांश महिला छन् ।

उनीहरू बुधवार सिरहाको भगवानपुर गाउँपालिकामा पर्ने बलान नदीको पुलबाट पैदलयात्रा सुरु गरेका थिए । बुधवार राति सोनवर्षामा विश्राम गरेका उनीहरू बिहीबार औरहीमा रात बिताए । आज बिहान सिरहा सदरमुकामका लागि निस्केका छन् । अहिले मधेशका जिल्लाहरूको तापक्रम ४३ डिग्रीसम्म पुगेको छ ।

यतिधेरै गर्मीको समेत प्रवाह नगरी उनीहरू पैदल यात्रा गर्न बाध्य छन् । उनीहरू मिटरब्याजीलाई जेल हाल, पीडितलाई न्याय देऊ, कपाली कागजको आधारमा अदालतको आदेशबाट पक्राउ परेका पीडितहरूलाई रिहा गर, भ्रष्टाचारीलाई कारबाही गर, मिटरब्याजीहरुको सम्पत्ति छानबिन गर जस्ता नारा लगाउँदै कठोर यात्रामा छन् ।

मिटरब्याज पीडितहरू काठमाडौँ गएर आन्दोलन गर्दा सरकार जाँचबुझ आयोग समेत गठन गरिसकेको छ । जनकपुरधाममा आयोगको केन्द्रीय कार्यालय स्थापना भएको छ । आयोगले पीडितहरूलाई न्याय दिन आवश्यक काम समेत थालिसकेको छ ।

आयोगले उजुरी दर्ताका लागि सबै जिल्ला प्रशासन कार्यालयमा व्यवस्था मिलाएको छ । अहिलेसम्म सिरहामा मात्रै करिब एक हजार बढी उजुरी दर्ता भइसकेको छ । उजुरी दर्ता गराउनेमा अधिकांश दलित विपन्न समुदायका व्यक्ति छन् ।

मिटरब्याज विरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवान भन्छन् :-
‘अहिले हामी साहु महाजनको आतंक र अत्याचार विरुद्धको आन्दोलनमा छौँ । यो आन्दोलनका जनसमर्थनको आवश्यकता छ । जनसमर्थन र न्यायका लागि आज पैदल यात्रामा छौँ । साहु महाजनले कसैलाई छाडेका छैन । हरेक गाउँमा पीडित छन् । सबै पीडित छौँ । आज हामी यहाँ उपस्थित पीडितहरूका लागि मात्र होइन, देशभरका पीडितको न्यायका लागि संघर्ष गरिरहेका छौँ । सबैले न्याय पाउनुपर्छ ।

साहु महाजनले तीन गुणाको कपाली तमसुक बनाएर कर्जा दिन्छन् र लुट्छन् । कतिले जग्गा नै पास गराउँछन् । ऋण चुक्ता गर्दा पनि सुदखोरहरु कपाली कागज र जग्गा फिर्ता गर्दैनन् । ३६ प्रतिशत ब्याज लिन कुन कानूनले भनेको छ ? कानूको धज्जी उडाउने सबै सुदखोरको सम्पत्ति छानबिन हुनुपर्छ ।

अत्याचारी सुदखोरहरुलाई राजनीतिक दलले संरक्षण गर्‍यो भने त्यस्ता राजनीतिक दललाई हामीले बहिष्कार गर्नुपर्छ । सुदखोरलाई पनि सामाजिक बहिष्कार हुनुपर्छ भन्ने अभियानमा छौँ । यो अभियान निरन्तर चलिरहन्छ । पीडितहरू अविलम्ब न्याय पाउनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *